रौतहट : रौतहटको यमुनामाई गाउँपालिका–२ का वडा अध्यक्ष सीताराम यादवले विभिन्न १३ बुँदे माग राख्दै सुरु गरेको आमरण अनशन छैटौं दिनमा प्रवेश गरेको छ । अनशनलाई स्थानीयवासीको समर्थन दिनप्रतिदिन बढ्दै गएको छ ।
यादवले गाउँपालिकामा बढ्दो भ्रष्टाचार र जनताका माग पूरा नगरेको आरोप लगाउँदै आमरण अनशन थालेका हुन् । अनशन लम्बिँदै जाँदा स्थानीयहरूले गाउँपालिकाको नियमित कामकाज समेत अवरुद्ध गरेका छन् ।
मंगलबारदेखि कार्यालयमा तालाबन्दी गरिएको राष्ट्रिय स्वतन्त्र पार्टीका नेता रञ्जित रामले जानकारी दिए । उनका अनुसार आन्दोलनरत पक्षका मागहरू पूर्णतः जायज भएकाले माग पूरा नभएसम्म आन्दोलन जारी रहनेछ ।
यसअघि पनि गाउँसभाको पूर्वसन्ध्यामा यादवसहित करिब २१ जना जनप्रतिनिधिहरूले कार्यपालिका भवन अगाडि धर्ना र प्रदर्शन गरेका थिए। आन्दोलनबीचमै भदौ ६ गते गाउँसभा असहज वातावरणमा सम्पन्न भएको थियो ।
आन्दोलनकारीहरूले गाउँपालिका अध्यक्ष शेख इर्साद र प्रमुख प्रशासकीय अधिकृत मिलेर अनियमितता गरेको आरोप लगाएका छन् । उनीहरूले माग गरेका १३ बुँदामा विगत तीन आर्थिक वर्षका सबै बैठक निर्णय र बजेट योजनाको प्रमाणित प्रतिलिपि सार्वजनिक गर्नुपर्ने, लेखा परीक्षण प्रतिवेदन उपलब्ध गराउनुपर्ने, अनलाइन टेण्डर प्रणाली लागू गर्नुपर्ने, गाउँपालिका स्तरमै अस्पताल स्थापना गर्नुपर्ने, सबै नागरिकलाई स्वास्थ्य बीमा गर्नुपर्ने र घरबत्ती विद्युत महसुल निःशुल्क गर्नुपर्नेजस्ता विषय समावेश छन् ।