रौतहट : सशस्त्र प्रहरी बलले रौतहटको ईशनाथ नगरपालिका-४, मठियास्थित एक भट्टी पसलबाट ठुलो परिमाणमा अवैध सुर्ती बरामद गरेको छ । आइतबार राति करिब १२ बजे सशस्त्र प्रहरी बल ११ नम्बर गणका गणपति सन्तोषकुमार बस्नेतको नेतृत्वमा गएको टोलीले अवैध सुर्ती बरामद गरेको हो ।
बरामद गरिएको सुर्ती रामसिंह चनौको भट्टी पसल नजिकै चुमन मियाको धान खेतमा लुकाएर राखिएको अवस्थामा फेला परेको सशस्त्र प्रहरी उपरीक्षक बस्नेतले बताए । यो पसल नेपाल-भारत सीमाको दसगजाबाट करिब २०० मिटरको दूरीमा रहेको छ ।
प्रहरीका अनुसार करिब ३ लाख ६२ हजार ७५० रुपैयाँ बराबरको ३० बोरामा ७४५ केजी सुर्ती तथा सुर्तीजन्य पदार्थ बरामद गरिएको छ । बरामद सामग्री गौर भन्सार कार्यालय रौतहटमा बुझाइएको छ ।