नवलपरासी : पश्चिम नवलपरासी प्रहरीले छुट्टाछुट्टै स्थानबाट लागूऔषधसहित तीन जनालाई पक्राउ गरेको छ ।
प्रहरीका अनुसार भदौ ८ गते आइतबार दिउँसो करिब ३ बजे सुनवल नगरपालिका–४ तुरियास्थित पूर्व–पश्चिम राजमार्गमा चेकजाँचका क्रममा रुपन्देही बुटवल–२ का २२ वर्षीय राजेन्द्र नेपाली र ३७ वर्षीय किसन नेपाली पक्राउ परेका हुन् । राजेन्द्रको शरीरमा लुकाइएका २ एमएलका २३ एम्पुल डाईजेपाम, २५ एम्पुल बुप्रिनुफिन र २५ एम्पुल फेनारगनसहित कुल ७३ एम्पुल लागूऔषध फेला परेको प्रहरीले जनाएको छ ।
त्यसैगरी, आज बिहान करिब ७ बजे रामग्राम नगरपालिका–१ सहुवाटिकरस्थित सडक खण्डबाट बुटवल–११ बुद्धनगरका ३३ वर्षीय सुनिल परियार पक्राउ परेका छन् । उनको बोकेको चामलको बोराभित्र कालो प्लास्टिकमा लुकाइएका डाईजेपाम, बुप्रिनुफिन र फेनारगन १३/१३ एम्पुल गरी ३९ एम्पुल लागूऔषध बरामद भएको प्रहरीले जानकारी दिएको छ ।
जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका सूचना अधिकारी डिएसपी वीर दत्त पन्तका अनुसार पक्राउ परेकाविरुद्ध लागूऔषधसम्बन्धी मुद्दा दर्ता गरी जिल्ला अदालतबाट म्याद थप गरेर अनुसन्धान अघि बढाइएको छ ।