२०८२ असोज २ गते बिहिवार / Sep 18 , 2025 , Thursday
२०८२ असोज २ गते बिहिवार
Ads

आगजनी र तोडफोडमा संलग्नले छुट नपाउने

shivam cement
२०८२ असोज २ गते ०६:३०
आगजनी र तोडफोडमा संलग्नले छुट नपाउने

काठमाडौं : भदौ २३ र २४ गते देशभर भएको आगजनी र तोडफोडमा संलग्नले छुट नपाउने भएका छन् । सरकारले यससम्बन्धी अध्ययन नै सुरु गरेको छ भने राजनीतिक दलहरूले पनि आगजनी र तोडफोडमा संलग्न देखिएका नेता÷कार्यकर्तालाई कारबाही गर्ने बताएका छन् । 

आन्दोलनका नाममा सार्वजनिक तथा व्यक्तिगत सम्पत्तिमाथि आगजनी र तोडफोडमा संलग्न भई गैरकानुनी काम गर्नेमाथि कारबाही गर्न नेपाल प्रहरीले तस्बिर तथा भिडियो उपलब्ध गराउन सार्वजनिक रूपमै आह्वान गरेको छ । 

यसै सन्दर्भमा राजनीतिक दलहरूले पनि आफ्ना कार्यकर्ताको संलग्नता देखिए कारबाही गर्ने प्रतिबद्धतासहित तथ्यांक उपलब्ध गराउन अनुरोध गरेका छन् । 

नेपाली कांग्रेसले आन्दोलनमा सहभागी भई आगजनी र तोडफोडमा संलग्न आफ्ना नेता/कार्यकर्तालाई पार्टीले कारबाही गर्ने भएको छ । नेपाली कांग्रेसले आन्दोलनमा सहभागी भएर अवाञ्छित गतिविधिमा संलग्नमाथि कारबाहीका लागि सबै तहमा सर्कुलर गरेको छ । महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले बुधबार प्रदेश तथा जिल्ला कार्यसमितिहरूलाई सर्कुलर गरी जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोडमा संलग्न रहने कार्यकर्ताहरूको विवरण मागेका छन् ।  

यसअघि नेकपा माओवादी केन्द्र र रास्वपाले पनि आन्दोलनमा सहभागी भएर आगजनी तथा तोडफोड गर्ने कार्यकर्तालाई कारबाही गर्न त्यस्ता कार्यकर्ताको विवरण माग गरेका थिए ।  
नेकपा एमालेले भने यस विषयमा केही बोलेको छैन । जेनजी युवाहरूको आन्दोलनमा पार्टीका कार्यकर्ताको घुसपैठ भएको पाइएको छ ।  

जेनजी पुस्ताले भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध भएको प्रदर्शनका क्रममा प्रहरीको गाली लागेर २३ भदौमा बानेश्वरमा १७ जना र विराटनगरमा २ गरी १९ जनाको मृत्यु भएको थियो । राज्यका तर्फबाट संयमता नअपनाउँदा विद्यार्थी युवाहरूको हत्या भएपछि आक्रोशित आन्दोलनकारीले २४ भदौमा सिंहदरबारस्थित विभिन्न मन्त्रालय, सर्वोच्च अदालत, कांग्रेस, एमाले, मााअ‍ेवादी पार्टीका नेताका दर्जनौं घरमा आगजनी गरेका थिए । 

सरकारी र निजी सम्पत्तिमा आगजनी तथा तोडफोड गर्दै गरेका भिडिओ सामाजिक सञ्जालमा छन् । यस कार्यमा विभिन्न दलका नेता, कार्यकर्ता संलग्न रहेका फोटो÷भिडिओ आइरहेका छन् । त्यस्ता तस्बिर तथा भिडियो संकलन गरेर आफ्ना कार्यकर्ता पहिचान गरी आवश्यक कारबाही गर्ने दलका नेताहरूले बताएका छन् ।  

‘जेनजी आन्दोलनका क्रममा काठमाडौं र बाहिर आगजनी र तोडफोडमा कतै कांग्रेस कार्यकर्ता संलग्न त छैन, संलग्न भएको फोटोलगायत विवरण र नाम तत्काल केन्द्रीय कार्यालयमा पठाउन जिल्ला तहमा सर्कुलर गरेको नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले जानकारी दिए ।

‘जेनजी आन्दोलनका क्रममा माओवादी, रास्वपा, राप्रपालगायत विभिन्न दल र विभिन्न समूहमा आबद्ध रहेका संलग्न रहेको देखिएको कुरा बिस्तारै खुल्दै आएका छन्, कतै हाम्रो पार्टी (कांग्रेस) कार्यकर्ता पनि संलग्न पो थिए कि एक जना मात्रै संलग्न रहेको रहेछ भने पनि हामी तुरुन्त कारबाही गरिहाल्छौं,’ कांग्रेसले जारी गरेको सर्कुलरमा उल्लेख छ । 

त्यस्तै, माओवादी केन्द्रले ‘जेनजी पुस्ता’को आन्दोलनमा सहभागी भई तोडफोड तथा आगजनीमा संलग्न भएको पुष्टि भएमा आफ्ना नेता तथा कार्यकर्तालाई कारबाही गर्ने पार्टीका उपाध्यक्ष तथा प्रवक्ता अग्निप्रसाद सापकोटाले बताए । रास्वपाले पनि उक्त घटनामा आफ्ना कार्यकर्ता संलग्न भएको पुष्टि भएको कारबाही गर्ने निर्णय गरेर तथ्यांक संकलन गरिरहेको नेताहरूले बताएका छन् ।

ADV

सम्बन्धित खबर

Advertise