दोहा, कतार : कोशी प्रदेश समन्वय परिषद्, कतार र मातहतका जिल्ला संस्थाहरूको आयोजनामा बृहत् रक्तदान कार्यक्रम सम्पन्न भएको छ । नेपाली रक्तदाता संघ, कतारको समन्वयमा सम्पन्न कार्यक्रममा ६४ जनाले रक्तदान गरेका छन् ।
शुक्रबार बिहान ८ बजेदेखि सुरु भएको कार्यक्रम मध्याह्नसम्म चलेको थियो । रगत अभावका कारण प्रवासमा कसैले ज्यान गुमाउन नपरोस् भन्ने हेतुले रक्तदान कार्यक्रम आयोजना गरिएको परिषद्का अध्यक्ष पदमकुमार घिमिरेले बताए । रक्तदाताहरूलाई समाजले प्रमाणपत्रले सम्मान गरेको थियो । रक्तदान जस्तो पुण्य कार्यमा उल्लेख्य उपस्थित जनाउने तथा दाताहरूलाई आयोजकले धन्यवाद ज्ञापन गरेको छ ।
कार्यक्रममा कतारमा स्थापित विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरूसहित सयौं नेपालीहरूको उपस्थिति रहेको थियो । तेह्रथुम सेवा समाज कतारका अध्यक्ष महेन्द्र उप्रेतीले रक्तदान गर्दै सुरु भएको कार्यक्रम परिषद्का सचिव किरण परियारले रक्तदान गरेसँगै समापन भएको थियो ।