सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रले पहिलोपटक देशभर एकैपटक वडा सम्मेलन गरेको छ । शनिबार तोकिए पनि आइतबारसम्म देशभरका ६ हजार ७४३ वडामा सम्मेलन भएको छ । माओवादी केन्द्रका अनुसार ८० प्रतिशत बढी वडामा नयाँ नेतृत्व आएका छन् । माओवादी केन्द्रले ११ मंसिरमा सवै पालिका र २५ मंसिरमा सातै प्रदेशमा नेतृत्व चयन गर्दैछ । ११–१३ पुसमा राष्ट्रिय सम्मेलन तोकेको माओवादी केन्द्रले नेतृत्व चयन सर्वसहमत तय गर्ने तयारी गरेको छ । वडा सम्मेलन पनि सर्वसहमत बनेको बताएको छ । माओवादी केन्द्र जस्तै प्रमुख विपक्षी दल नेकपा एमालेले पनि सर्वसहमत नेतृत्व चयनको दावी गर्दै आएको छ ।
मंसिर १० गतेदेखि हुने १०औं महाधिवेशनको प्रतिनिधि पनि केही ठाउँ बाहेक सर्वसहमतिले चयन भएको एमालेले जनाएको छ । त्यसअघि ६ कात्तिकमा वडा र ९ कात्तिकमा पालिका अधिवेशन पनि सर्वसहमतिबाट भएको थियो । केन्द्रीय महाधिवेशनबाट समेत निर्विरोध नेतृत्व चयनको प्रयास भइरहेको नेताहरुले बताइरहेका छन् । जनताको बहुदलीय जनवादलाई मार्गदर्शक सिद्धान्त मान्ने एमालेलाई आन्तरिक लोकतन्त्रको राम्रो अभ्यास गर्ने दलका रुपमा चिनिदै आएको थियो । तर यसपटक भने निर्विरोध नेतृत्वको भाष्य निर्माण गरिदैछ । सत्तारुढ दल नेपाली काँग्रेसले पनि सकेसम्म तल्ला कार्यसमितिहरुमा भने सर्वसहमतिको प्रयत्न गरेको थियो । तुलनात्मक रुपमा काँग्रेसभित्र कम सर्वसहमति भयो । नेताहरुले सर्वसहमतिबाट नेतृत्व चयनलाई उच्च स्तरको लोकतन्त्र भएको दावी गर्दै आएका छन् ।
तर परिस्थिति भने दावी जस्तो देखिन्न । बरु उल्टो छ । नेताले कार्यकर्ता छुन्ने र कार्यकर्ताले फेरि तिनै नेतालाई अनुमोदन गराउने प्रवृत्ति देखिन्छ । आफैले बनाएको कार्यकर्तालाई सर्वसहमतको निर्देशन दिने, अनि पुरानै नेता सर्वसहमत अनुमोदित भएको दावी गरिदै आएको छ । यो प्रवृत्ति सवै दलहरुसँग कायम छ । माओवादी केन्द्रले पहिलोपटक तलबाट नेतृत्व चयन प्रक्रिया शुरु गरेपनि कार्यकर्ताले नेता बन्ने संभावना न्यून छ । अझ उम्मेद्वार नदिई सर्वसहमत गर्न निर्देशन दिनुले लोकतान्त्रिक मूल्य, मान्यता र भावनालाई परिभाषित गर्न सक्दैन । प्रक्रिया मात्रै पूरा हुने गर्छ । अतः लोकतन्त्र वा जनवादका लागि लड्ने दावी गर्दै आएका दलहरुले एकपटक यसतर्फ सोच्नु जरुरी छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies