
काठमाडौं : शिक्षण अस्पताल महाराजगन्जको आइसियु बेड नम्बर ७ मा छटपटाइरहेका छन्, पोखराका १८ वर्षीय ढकबहादुर नेपाली । उनकोे शरीरको घाँटीदेखि तल्लो भाग चल्दैन । न उनी राम्रोसँग बोल्न सक्छन् न त खान नै । उनको अनुहारमा बेलाबेला आक्रोशको भाव भने प्रकट हुन्छ । आफ्नोबारे सोधखोज गर्न आउनेसँग पनि उनी झर्किन थालेका छन् ।
दुई महिनादेखि उनको स्वास्थ्य अवस्था स्थिर छ । गत २४ भदौको जेनजी प्रदर्शनका क्रममा पोखरामा उनको घाँटीको दाहिनेतर्फ गोली लाग्यो । साथीहरूले तत्कालै उनलाई उपचारका लागि गण्डकी अस्पताल पु¥याए । तर अवस्था गम्भीर थियो । त्यसैले काठमाडौं ल्याइएका नेपालीको शिक्षण अस्पतालमा भइरहेको छ ।
जेनजी आन्दोलनपछिका ६८ दिनमा देशमा ठुलै उथलपुथल भयो । जननिर्वाचित सरकार ढल्यो । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार बन्यो अनि संसद् विघटन गरियो । यसबीचमा सरकार र दलहरू आमचुनावतर्फ लागेका छन् । जेनजी अगुवाहरू सिंहदरबार र बालुवाटारका बैठकमा व्यस्त छन् । तर नेपालीको भने कहिले निको हुने टुंगो छैन । छिट्टै सन्चो भएर घर फर्किने झिनो आशा लिएर उनी अस्पतालको बेडमा छटपटाइरहेका छन् ।
नेपालीको स्वास्थ्य अवस्था बुुझ्न काठमाडौंका प्रमुख जिल्ला अधिकारीदेखि जेनजी अगुवा, स्वास्थ्यमन्त्री र गृहमन्त्रीसमेत अस्पताल पुगिसकेका छन् । तर आफूहरूको भावना कसैले नबुुझेको घाइते परिवारको गुनासो छ ।
कक्षा ११ कक्षामा पढ्दै गरेका नेपालीलाई २४ भदौको प्रदर्शनका क्रममा प्रहरी चौकीअगाडि गोली लागेको हो । ‘यस्तो अवस्था हुुन्छ भन्ने थाहा भएको भए आन्दोलनमै जाने थिइन् मात्रै भन्छ । अरू कुरा बोल्दैनन्,’ आमा युदले भनिन् । सरकारले निःशुल्क स्वास्थ्य उपचार गराइरहेको छ । तर युदको चिन्ता छोराको शरीर पुरानै अवस्थामा नफर्किएला भन्ने छ । मेलापात र दैनिक ज्याला मजदुरी गरेर उनले दुई छोरी र छोरा हुर्काइन् । अहिले छोराको यो हालत देख्दा उनलाई रुन मन लाग्छ । तर उनको व्यथा बुझिदिने कोही छैन । ‘यस्तो अवस्था छ । कसलाई भन्ने, के माग राख्ने ? सरकार कहाँ छ, हामीलाई केही थाहा छैन,’ उनले मध्यान्हसँग भनिन्, ‘हामी केही नजान्ने मान्छे पर्यौं । अब न आन्दोलनमा न भन्याजस्तो परिवर्तन आउँछ न त मेरो छोराको शरीर उस्तै हुन्छ ।’
नेपालीजस्तै राजनीति र नेतादेखि दिक्क भएर जेनजी आन्दोलनमा होमिएका थिए, तिला गाउँपालिका–२ जुम्लाका सन्तोष बोहरा । हाल सुर्खेत बस्दै आएका २६ वर्षीय बोहराले आन्दोलनका क्रममा दुईवटै आँखा गुमाए । शिक्षण अस्पतालको न्युरो सर्जरी वार्डको बेड नम्बर ४१२ मा उनको उपचार भइरहेको छ । प्रदर्शन भड्किएर भएको झडपमा उनको दाहिने आँखामा गोली लाग्यो । घटनास्थलमै ढलेका उनको टाउकोमा पनि गहिरो चोट लागेको छ । उनी दुई महिनादेखि अचेत अवस्थामा छन् ।
सबै ठिकठाक हुँदो हो त बोहरा अहिले क्रोयसियामा हुन्थे । दशैंअघि नै त्यता जाने उनको तयारी थियो । तर नियतिको खेल दुवै आँखा गुमाएर अहिले अस्पतालको बेडमा छन् । न उनी जेनजी आन्दोलनपछिको अवस्था देख्न सक्छन् न त सुन्न नै । उनले श्रवणशक्ति पनि गुमाएका छन् । बोहरा परिवारको एउटै पुकार छ, ‘जसरी हुन्छ दृष्टि फर्काइदिनुपर्यो ।’
सरकार घाइतेको अवस्था बुझ्न आए पनि भावना बुझ्न नसकेको उनकी श्रीमती निर्मला खड्का बताउँछिन् । ‘मनै नपर्ने राजनीति हो । केके न होला भनेर जेनजी आन्दोलन भयो । अब त झन् खोइ कस्तो होला ?’ उनले भनिन् ।
स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार, जेनजी आन्दोलनका १० घाइते अहिले पनि अस्पतालमै छन् । तीमध्ये राष्ट्रिय ट्रमा सेन्टरमा चार जना, टिचिङ अस्पतालमा दुई जना, काठमाडौं मेडिकल कलेजमा दुई जना, बी एन्ड बी अस्पतालमा एक जना, नोबेल मेडिकल कलेज विराटनगरमा एक जनाको उपचार भइरहेको छ ।