
पुस ५ गते (शनिबार)को मध्यान्ह राष्ट्रिय दैनिक अनलाइन पढ्न पाएँ । प्रथम पेजमा वैदेशिक रोजगार विशेष स्तम्भ अन्तर्गत “स्वास्थ्य परीक्षणको शुल्क वृद्धि मन्त्रालयद्वारा खारेज” शीर्षकको समाचार पढेर म आश्चर्यचकित भएँ । सायद पहिलो पटक बेरोजगार भुईं मान्छेहरूको पक्षमा निर्णय आएछ । विचार गरेँ, यस्तो कसरी सम्भव भयो ? सधैं दलाल माफियाहरूको पक्षमा निर्णय गर्ने, नागरिकको हितलाई नजर अन्दाज गर्ने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय आज एकाएक श्रमिकको हितमा कसरी निर्णय गर्न पुग्यो ? पछि थाहा भयो कि यो नयाँ नेतृत्वको कारण सम्भव भएको रहेछ ।
अधिकांश वैदेशिक रोजगारमा जाने जेनजी पुस्ताका युवाहरूको हितमा निर्णय गरिइदिनुभएकोमा नयाँ नेतृत्व सहितको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई हार्दिक धन्यवाद व्यक्त नगरी रहन सकिन । यहाँ हरेक दिन अनेक बहानामा आम नागरिक लुटिएका छन् । एक जना वैदेशिक रोजगारमा जाने कामदारको तीन हजार रुपैयाँ जोगिनु भनेको ठूलो मात्र होइन महान् उपलब्धि हो । जेनजी सरकारका नवनियुक्त श्रम मन्त्री ज्यूलाई यसैगरी सर्वसाधारणका पक्षमा निर्णयहरू गर्दै जानुहुन, स्वास्थ्य परीक्षणको क्षेत्रमा व्याप्त सिन्डिकेट प्रथाहरू खारेज गरिदिनुहुन र समग्रमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई सिन्डिकेटका दलाल र माफियाहरूको चङ्गुलबाट मुक्त गराइदिनुहुन विनम्र अनुरोध गर्दछु ।
माननीय मन्त्री ज्यूको सफल कार्यकालको शुभकामना । वास्तवमा जनताले यस्तै नेतृत्व खोजिरहेछ । हामी जनता तपाईँजस्तै मन्त्रीको पक्षमा रहनेछौँ । धन्यवाद ।
शमशेर नेपाली
इमेल : [email protected]