नेपाली सुगम संगीतका सफल र चर्चित गायक, संगीतकार हुन् राजेन्द्र बजगाईं । उनलाई यो सफलता गीत, संगीतप्रतिको अथक साधनाका कारण मिलेको हो । उनले सानैदेखि स्कुल र गाउँघरमा हुने विविध सांगीतिक कार्यक्रममा सहभागिता जनाउने गर्थे । संगीतको प्रशिक्षण लिएर यस क्षेत्रलाई पेशा बनाउँदै आएको पनि २०६४ सालदेखि नै हो । त्यसपश्चात निरन्तर संगीत सिर्जनामा सक्रिय बजगाईंका दर्जनौं सिर्जना स्रोता रुचीका रहेका छन् । कालिका अवार्ड २०७२, नेपाल म्युजिक तथा फेशन अवार्ड २०७७, क्वालिटी इन्टरटेनमेन्ट अवार्ड २०७८, पिम नेपाल फिल्म फेष्टिवल अवार्ड २०७८, बिराट म्युजिक अवार्ड २०७८, जिनियस म्युजिक अवार्ड २०७५, दोस्रो हिमालयन इन्टरनेशनल अवार्ड २०७८, दोस्रो नेपाली आर्ट कल्चर एण्ड म्युजिक अवार्ड २०७८ जस्तो ख्याती प्राप्त अवार्डहरु र अन्य सम्मान पाइसकेका लोकप्रिय युवा संगीतकार राजेन्द्र बजगाईंको कम्पोजमा यसै साता हिन्दी गीतको रेकर्डिङ भएको छ । फरक भाषामा काम गर्न पाउँदा आफुलाई खुशी लागेको बताउने बजगाईंले एकलब्य, काँचुली, म त मर्छु कि क्याहो लगायतका चलचित्रमा संगीत दिएका छन् । युवा पुस्ताका व्यस्त संगीतकार राजेन्द्र बजगाईंले मध्यान्ह दैनिकका लागि सानु श्रेष्ठसँग गरेको कुराकानीको सम्पादित अंश :
नयाँ र पुराना गायन कलाकारहरूका अनुसार पछिल्लो समय नेपाली सांगीतिक क्षेत्रको स्वरूपमा परिवर्तन देखिएको छ भन्छन् नि ?
परिवर्तन त भइरहेको छ, केही फरकशैली र फरक धारका गीतसंगीतहरु नेपाली लोक शैलीमार्फत आउँदै गरेको छ । नयाँ पुस्ताको नयाँ सोच र कामले गर्दा फरक पक्कै पाएको छ नेपाली गीत संगीतले ।
यो समय गीतसंगीतको व्यावसायिक स्थिति धरापमा परेको हो ?
सांगीतिक क्षेत्र धरापमा त पर्दैपर्दैन बरु केही सुधारिएको छ र सांगीतिक फरक युगसँग मिसिएको छ । व्यावसायिक हिसावमा हेर्ने हो भने नेपालको परिप्रेक्षमा त व्यावसायिक करण नै देखिँदैन किन कि हाम्रो संगीतिक क्षेत्र सानो छ । केही गीतसंगीतहरुले मात्र आफ्नो व्यावसायिक करणलाई केही मात्रामा मात्र सुधार गरेको देखिए जस्तो लाग्छ ।
गीतहरूको रोयल्टी पाउने भन्ने कुराहरू के भइराछ ?
त्यो त रोयल्टी एमआरसिएनले गर्ने कुरा हो । हाम्रो तर्फबाट हुने सहयोग र साथ त छँदैछ र राज्यबाट हुने सहकार्यले गर्ने कुरा हो । रोयल्टीको काम पनि हुँदैछ र छिट्टै त्यसको समाधानको बाटो आउने छ ।
युवा पुस्ताहरूले कस्तो खालको गीतहरु मन पराउँछन् ?
युवा पुस्ताले सबै खालको गीतसंगीत रुचाइरहेक छन् । युवा वर्गमा पनि फरक–फरक रुची र सिकाई भएको सबै खाले गीतसंगीतमा रुची देखिन्छ । अहिलेको युवा पुस्ताले पुरानोदेखि अहिलेको पछिल्लो गीतसंगीत मन पराइरहेका छन् । त्यसैले होला पुरानो गीतहरु प्नि युवा वर्गमा आजभोलि लोकप्रिय भइरहेको छ । त्यसैमाथि अहिलेको रियालिटी शोहरुमा पनि देख्न सकिन्छ । सबै किसिमको गीतहरुलाई युवा वर्गले मन पराइरहेको देख्न सकिन्छ ।
कोभिडले थला परेको संगीत क्षेत्र पुनः देश र विदेशमा गीतसंगीत सम्बन्धी कार्यक्रमहरू हुन थालेको छ कस्तो आशा गर्नु भएको छ ?
राम्रो कुरा हो कि नेपाली कलाकारहरु वास्तवमा आफ्नो जिविकोपार्जन गर्ने भनेको नै विभिन्न कार्यक्रमहरुबाट हो । यहाँ युट्युव र अन्य पोर्टलहरुबाट के कसरी पैसा आउँछ नै थाहा छैन । त्यसको लागि देश विदेशमा हुने कार्यक्रमहरु हुन जरुरी छ । तर आफ्नो मान्छेलाई कार्यक्रममा भित्र्याउनु भन्दा सही स्रष्टालाई कार्यक्रममा उपस्थित गराउन जरुरी छ ।
युट्युब भ्युअर्सबाट पनि कमाउन सकिन्छ भन्छन् प्रक्रिया कस्तो छ पैसा पाउने ?
के को कमाउने बिचरा हामी जस्तो कलाकारले बुष्ट गरेर भ्युअर्स देखाउनु परेको बेला । कसरी कमाई हुन्छ लगानीको दश प्रतिशत पनि उठाउन सक्दैन । कोही कोही होलान् सयमा एक प्रतिशत आफ्नो लगानी उठाउने तर नचाहिने युट्युवले चाहीँ अर्काको आत्मा सम्मान बेचेर कमाइ राखेको छ । सही स्रष्टाहरुले युट्युवबाट कमाएको छ जस्तो लाग्दैन मलाई ।
भर्खरै हिन्दी भाषाको गीत बनाउनु भयो प्रतिक्रिया कस्तो पाइरहनु भएको छ ?
एउटा गरिरहेको भन्दा फरक भाषामा कम्पोज गर्न पाउँदा त खुशी छु । जति जनाले सुन्नु भएको छ, सबैको राम्रो नै प्रतिक्रिया आइरहेको छ । हेरौं बजारमा ल्याएपछि बजारले कस्तो मुल्यांकन गर्छ । एउटा संगीतकारले सबै भाषामा संगीत सिर्जना गर्न सक्ने क्षमता हुनुपर्छ । र, म कुनै पनि भाषामा एरेञ्ज गर्न सक्छु ।
सबै खाले गीतको संगीत सिर्जना गर्नुहुन्छ, गजल तथा दोहोरीको बारेमा के राय छ ?
यी दुबै फरक फरक धारमा पर्दछन् र संगीतको बाटो एउटै भए पनि चालमा फरक आउने हो । लोक हाम्रो परम्परा हो भने गजल हाम्रो सिकाई हो जस्तो लाग्छ ।
शब्द रचना, संगीत सिर्जना र गाउनु पनि हुन्छ, एउटै विधा रोज्नु प¥यो भने कुन रोज्नु हुन्छ ?
म वास्तवमा संगीतकार भन्न रुचाउँछु । किन भने गीतको मेरुदण्ड नै संगीत हो । त्यसपछि अरु पर्ने विषय हो । म संगीतको विद्यार्थी भएकोले संगीतको बारेमा बुझ्दै गर्दा पनि म संगीतकार हुँ भन्न रुचाउँछु । मैले लेखेको, गाएको र एरेञ्ज गरेको गीतहरु स्रोताहरुले रुचाए पनि मेरो संगीतको पाटोलाई अलि बढी रुचाएको मान्दछु, त्यसैले पनि होला ।
संगीत सिर्जनामा पनि विवाद हुनुको कारण के ?
विवाद हुनुको मुख्य कारण त संगीत सम्बन्धी ध्यान अनि अध्ययनको कमीले हो । अर्को कुरा सांगीतिक क्षेत्रको बारेमा रुची कम राखी संगीत सिर्जना जसरी गर्दा पनि हुन्छ भन्ने सोचले पनि हो जस्तो लाग्छ ।
यतिबेला चर्चामा रहेको प्रकाश सपुतको गीत ‘पिर’को बारेमा तपाईंको भनाइ के छ ?
सिर्जनामा कति शक्ति हुन्छ भन्ने कुरा ‘पिर’ गीतबाट पनि बुझ्न सकिन्छ ।
नयाँपुराना धेरै गायक तथा गायिकाहरुसँग काम गरिसक्नु भएको छ, आफुलाई मन पर्ने र काम गर्न सजिलोको नाम लिनु पर्दा ?
सबै सजिलो लाग्छ । काम गर्दा मेरो संगीतलाई न्याय दिने गरेकोले सम्पूर्ण गायक, गायिकाहरु राम्रो हुनुहुन्छ, मन पर्छ ।
गीतसंगीत भनेको मनोरञ्जनकै लागि मात्र हो ?
मनोरञ्जनको लागि पनि हो । अनि यसबाट धेरै क्षेत्रको प्रतिनिधित्व गर्दछ । अनि धेरै क्षेत्रलाई मार्ग गर्ने गरेको देखेकै छौं । संगीत एउटा अदृश्य शक्ति हो । जीवन जिउन सिकाउने माध्यम पनि हो ।
तपाईंको सन्दर्भमा संगीत रुची हो कि बाध्यता ?
बाध्यता भन्ने चिज नै छैन नि सबै रुची नै हो । यतिमात्र हो कि कसैले पूर्ण समय यसलाई दिन्छ, कसैले दिँदैन । नदिए बाध्यता, दिए रुची ।
डिजिटल प्रविधि आएपछि संगीत सिर्जनामा क्रियशन देखिएन भन्छन् नि ?
झन् धेरै क्रियशन देखिएको जस्तो लाग्छ । किन कि प्रत्येक व्यक्तिहरुमा अध्ययन गर्ने समय छुट्टिएको छ, त्यसैले गर्दा प्रविधिलाई राम्रो गरे राम्रो हुन्छ ।
हिजोआज बजारमा आउने गीतहरू मेलोडियस नै छैनन्, शब्दहरूमा क्वालिटी छैन भन्नेहरुको लागि तपाईंको जवाफ ?
क्वालिटी संगीतमा हुँदैन संगीतको आ–आफ्नो फरक फरक सुर भएकोले र अर्को कुरा कसलाई के मनपर्छ भन्ने कुरा होला जस्तो लाग्छ । र समयको माग अनुसार सांगीतिक संरचनाहरु आफैं बन्दै गएको हो, गीतसंगीतलाई दोष लगाउनु भन्दा राम्रो क्रियशनमा ध्यान दिए अझ राम्रोे हुन्थ्यो होला ।
पछिल्लो पुस्ताले मौलिक लोक गीतसंगीतलाई भुल्दै गएको हो ?
झन् अजरअम्मर भएर अहिलेको गीतसंगीत आइरहेको छ । एउटा चक्र हो घुम्दै जित्दै आइरहेको छ । जुन रियालिटी शोहरु र संगीतको शिक्षाले पुरानो दिनहरुलाई अझ अमर बनाइरहेको छ । भुल्ने त कुरा छोडौं केही सिर्जना ओझेलमा होलान् तर भुलेको भने चाहीँ छैन जस्तो लाग्छ मलाई ।
संगीतिक बजार विस्तारका लागि के गर्नुपर्ला ?
हामीले उत्कृष्ट सिर्जना तयार पार्नु पर्छ । बजारको लागि राज्यले केही सहज बनाइदिए राम्रो । र संगीतकर्मीहरुमा पनि लगनशिलता हुन जरुरी छ ।
प्रतिभा र दक्षता भन्दापनि द्रव्यको भरमा टिक्नेहरुले संगीत क्षेत्र ग्रसित छ भन्छन् नि ?
ति क्षणिक हुन् केही समयको लागिमात्र । सही सर्जकहरु त राम्रा सिर्जनामा रहिरहेको देखिन्छ । हामीले संगीतलाई मिहेनत गर्नुपर्छ, त्यसछि सबै राम्रो हुन्छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies