२०८२ फागुन २७ गते बुधवार / Mar 11 , 2026 , Wednesday
२०८२ फागुन २७ गते बुधवार
Ads

ईशनाथमा निःशुल्क आँखा शिविर, ७ वर्षीया बालिकासहित १ सय ३८ जनामा देखियो मोतिबिन्दु

shivam cement
सत्येन्द्र प्रताप सिंह
२०८२ पुष २३ गते २०:२०
Shares
ईशनाथमा निःशुल्क आँखा शिविर, ७ वर्षीया बालिकासहित १ सय ३८ जनामा देखियो मोतिबिन्दु

रौतहट : रौतहटको ईशनाथ नगरपालिकामा आयोजित निःशुल्क आँखा उपचार तथा परामर्श शिविरमा ४ सय २४ जनाको आँखा परीक्षण गरिएको छ । 

शिविरमा आँखा परीक्षण गराएका सेवाग्राहीमध्ये ७ वर्षीया बालिकासहित १ सय ३८ जनामा मोतिबिन्दुको समस्या देखिएको छ । उनीहरुको निःशुल्क शल्यक्रिया गरिने भएको छ । रुइत फाउण्डेशनको आर्थिक सहयोग तथा नेपाल नेत्रज्योति संघ गौर आँखा अस्पताल पुरेनवाको आयोजनामा उक्त शिविर सञ्चालन गरिएको हो । ईशनाथ नगरपालिकाको समन्वयमा वडा नं. ४ महुलियास्थित जनता प्राथमिक विद्यालयमा आयोजित शिविरमा २ सय २० जना महिला र २ सय ४ जना पुरुषले सेवा लिएका आयोजक संस्थाका कार्यक्रम संयोजक सत्येन्द्र पाण्डेले जानकारी दिए । 

परीक्षणका क्रममा १ सय ३८ जनामा मोतिबिन्दुको गम्भीर समस्या देखिएको र उनीहरूलाई शल्यक्रियाका लागि छनोट गरिएको संयोजक पाण्डेले बताए । 

शिविरमा मोतिबिन्दु परीक्षण तथा परामर्शसँगै अन्य सेवा पनि प्रदान गरिएको थियो । शिविरमार्फत १ सय २६ जनालाई निःशुल्क चस्मा वितरण गरिएको थियो भने १ सय ६८ जनालाई आवश्यक औषधि निःशुल्क उपलब्ध गराइएको थियो । 

शिविरमा नेत्र अधिकृत शिवकुमार यादव, अफ्ताब आलम, अर्चना सिंहलगायत ९ जनाको अनुभवी प्राविधिक टोलीले सेवा प्रदान गरेका थिए । ग्रामीण क्षेत्रका आर्थिक रूपमा विपन्न समुदायलाई लक्षित गरी आयोजना गरिएको शिविरमा सेवा लिएसँगै  स्थानीय खुसी भएका छन् ।

संयोजक पाण्डेले ग्रामीण क्षेत्रमा आर्थिक अभावका कारण आँखा उपचारबाट वञ्चित रहँदै आएका विपन्न बिरामीहरूका लागि यस प्रकारका शिविरहरूले ठुलो राहत पुर्‍याएको महसुस गरिएको बताए । मोतिबिन्दु शल्यक्रियाका लागि छनोट भएका बिरामीहरूलाई आगामी प्रक्रियाका लागि गौर आँखा अस्पतालसँग समन्वय गरी उपचार गराइने आयोजक संस्थाले जनाएको छ ।

सम्बन्धित खबर