
बझाङ : बझाङको सदरमुकाम चैनपुरमा शुक्रबार बिहान आगलागी हुँदा उद्योग, होटल र पसल गरी तीन वटा व्यवसाय जलेर पूर्णरूपमा ध्वस्त भएका छन् । प्रारम्भिक विवरणअनुसार, आगलागीबाट करिब १ करोड ८१ लाख रुपैयाँ बराबरको क्षति भएको छ ।
जिल्ला प्रहरी कार्यालय बझाङका अनुसार सबैभन्दा ठूलो क्षति किशोर खड्काको सुर्मा देवी सिरक डस्ना उद्योगमा पुगेको छ । उद्योगमा रहेका लत्ताकपडा, उपकरण र धनमाल करिब १ करोड ५६ लाख ६६ हजार रुपैयाँ मूल्य बराबर जलेका छन् ।
सिरक उद्योगमा सल्किएको आगो नजिकैका अन्य व्यवसायमा पनि फैलिएको थियो । यस क्रममा हरिनादेवी कठायतको विनोद होटलमा करिब १५ लाख, मेनुका खत्रीको विशाल किराना पसलमा ५ लाख र होटल तथा पसल वरिपरि रहेका अन्य व्यवसायीका सामानमा करिब ५ लाख रुपैयाँ बराबरको क्षति भएको डिएसपी खगेन्द्र धमलाले जानकारी दिएका छन् ।
प्रारम्भिक अनुसन्धान अनुसार उद्योगमा बालिएको आगो वा रूई बनाउने मेसिनमा विद्युत सर्ट भएर आगो लागेको हुन सक्ने संकेत देखिएका छन् । डिएसपी धमलाले भने, “ताप्न बालेको आगोबाट हो कि, विद्युत सर्टका कारण हो भन्ने अझै पुष्टि भएको छैन ।”
आगलागी बिहान करिब साढे ९ बजे सल्किएको थियो । दमकल, स्थानीय, सेना र प्रहरीको संयुक्त टोलीले तत्कालै आगो नियन्त्रणमा लिएको थियो ।
स्थानीय लोकेन्द्र खड्काले दमकल समयमा नपुग्नु नै ठुलो क्षतिको कारण भएको आरोप लगाएका छन् । उनले भने, “दमकल समयमा आएको भए आगो सजिलै नियन्त्रणमा हुन्थ्यो र यति धेरै क्षति पनि हुने थिएन ।”
सदरमुकाम चैनपुरमा यसअघि पनि आगलागीका घटनामा दमकल ढिलो पुग्दा बढी क्षति भएको स्थानीयको गुनासो रहँदै आएको छ । आगलागी नियन्त्रण र प्रारम्भिक उद्धारमा ढिलाइ हुन नदिन आवश्यक तयारी र आपत्कालीन व्यवस्थापनमा सुधार आवश्यक रहेको स्थानीयले बताएका छन् ।