२०८२ फागुन २७ गते बुधवार / Mar 11 , 2026 , Wednesday
२०८२ फागुन २७ गते बुधवार
Ads

आपराधिक गतिविधि बढेपछि गौरमा सुरक्षा चिन्ता

shivam cement
सत्येन्द्र प्रताप सिंह
२०८२ माघ ११ गते १७:४५
Shares
आपराधिक गतिविधि बढेपछि गौरमा सुरक्षा चिन्ता

रौतहट : रौतहट जिल्लाको सदरमुकाम गौर नगरपालिका पछिल्लो समय आपराधिक गतिविधि र असुरक्षाको केन्द्र बन्दै गएको छ । शुक्रबार साँझ गौर नगरपालिका–४ स्थित कबिर चोकमा भएको विभत्स चक्कु प्रहारको घटनाले नगरवासीलाई फेरि एकपटक त्रसित बनाएको छ ।

शान्त मानिने गौर बजारमा पछिल्लो समय ग्याङ फाइट, लागूऔषध कारोबार र आपराधिक समूहको प्रभाव बढ्दै गएको स्थानीयको गुनासो छ । यही क्रममा शुक्रबार साँझ दुई पक्षबीच भएको विवादले उग्र रूप लिँदा एक समूहले अन्धाधुन्ध चक्कु प्रहार गरेको प्रहरीले जनाएको छ ।

घटनामा तीन जना युवा गम्भीर घाइते भएका छन् । प्रहरीका अनुसार गौर नगरपालिका सिर्सिया टोलका २२ वर्षीय आसिस सिंहको पेटमा गहिरो चक्कु प्रहार भएको छ । उनको अवस्था चिन्ताजनक रहेकाले प्रादेशिक अस्पताल गौरमा प्राथमिक उपचारपछि थप उपचारका लागि वीरगन्ज रिफर गरिएको छ ।

यस्तै, सोही ठाउँका रामकुमार ठाकुरको टाउकोमा गम्भीर चोट लागेको छ भने करण कुमार पटेलको काखीमुनि चक्कुले काटिएको छ । तीनै जनाको उपचार जारी रहेको प्रहरीले जनाएको छ ।

स्थानीय बासिन्दाका अनुसार गौरमा बढ्दो ग्याङ फाइटको मुख्य जड लागूऔषधको अवैध कारोबार हो । सीमावर्ती क्षेत्र भएकाले लागूऔषध सजिलै उपलब्ध हुने र युवामा कुलत बढ्दै जाँदा ससाना विवादसमेत हिंसात्मक झडपमा परिणत हुने गरेको उनीहरूको भनाइ छ ।

“अहिले गौरमा ग्याङ फाइट सामान्य जस्तै हुन थालेको छ। ड्रग माफियाहरूले युवालाई प्रयोग गरिरहेका छन् तर प्रशासन मौन छ,” एक स्थानीयले आक्रोश व्यक्त गरे । “अपराधी खुलेआम हिँडिरहेका छन्, सर्वसाधारण साँझपख घरबाहिर निस्कन पनि डराउनुपर्ने अवस्था छ,” उनले थपे ।

प्रशासनको कमजोर निगरानी र राजनीतिक संरक्षणकै कारण लागूऔषध माफियाहरूको मनोबल बढेको आरोपसमेत स्थानीयले लगाएका छन् । शुक्रबारको घटनामा संलग्न भनिएका अम्बर्षसहित केही व्यक्ति फरार रहेको र उनीहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

घटना लगत्तै जिल्ला प्रहरी कार्यालय रौतहटबाट प्रहरी निरीक्षकको कमाण्डमा टोली खटिए पनि दोषीहरू अहिलेसम्म पक्राउ परेका छैनन् । पुरानो रिसइबी वा सामान्य विवाद भनिए पनि यस्ता घटनाहरू श्रृंखलाबद्ध रूपमा भइरहनुले प्रहरीको सुरक्षा संयन्त्रमाथि गम्भीर प्रश्न उठेको स्थानीयको भनाइ छ ।

जिल्ला प्रहरी कार्यालय रौतहटले घटनाको गम्भीरतालाई ध्यानमा राख्दै सूक्ष्म अनुसन्धान भइरहेको र फरार अभियुक्तहरूलाई छिट्टै कानुनी दायरामा ल्याइने दाबी गरेको छ ।

सम्बन्धित खबर