
भनिन्छ, लोकतन्त्रमा हार कसैको हुँदैन । चुनावी प्रतिस्पर्धाले जित वा हार होइन, जनमतको परीक्षण मात्र गर्ने हो । तर केही प्रतिस्पर्धा त्यस्ता हुन्छन्, जसको चर्चा एउटा निर्वाचन क्षेत्रमा सीमित रहँदैन । पञ्चायतकालमा नानीमैया दाहालको चुनावी जित होस् वा २०७९ को स्थानीय तह निर्वाचनमा काठमाडौं महानगरमा बालेन शाह, धरानमा हर्क साम्पाङ र धनगढीमा गोपी हमालको उदय, निकै चर्चामा रह्यो ।
त्यसो त हरेक निर्वाचनमा नयाँ पात्र र रोचक नतिजा आउने गरेकै छन् । २०४८ को आमचुनावमा बहालवाला प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईलाई पराजित गर्दै नेकपा (एमाले)का तत्कालीन महासचिव मदनकुमार भण्डारी निर्वाचित भएर राष्ट्रिय÷अन्तर्राष्ट्रिय रूपमै चर्चा कमाए । उनी प्रतिस्पर्धी दलका नेता थिए । तर नेपाली राजनीतिमा ‘हेभिवेट’ भनिने नेताहरूले बेलाबखत सामान्य उम्मेदवारबाट अप्रत्यासित चुनावी हार बेहोरेका छन् । कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा मात्र त्यस्ता पात्र हुन्, जो २०४६ सालको परिवर्तन यताका सात निर्वाचनमा अपराजित रहे । २१ फागुनमा हुने प्रतिनिधि सभा निर्वाचनमा भने उनी उम्मेदवार छैनन् । देउवाबाहेक अरू शीर्ष नेताले भने बेलाबखत चुनावी पराजयको स्वाद पाइसकेका छन् ।
२०६४ को संविधान सभा निर्वाचनमा तत्कालीन नेकपा माओवादीको पक्षमा चुनावी लहर थियो । त्यतिबेला पूर्वप्रधानमन्त्री केपी शर्मा ओली झापाबाट हारे भने एमालेका तत्कालीन महासचिव माधवकुमार नेपाल रौतहट र काठमाडौं, वामदेव गौतम बर्दिया–१ बाट पराजित हुन पुगे । २०७० मा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ काठमाडौं १० बाट पराजित भए भने २०७४ मा हालका राष्ट्रपति रामचन्द्र पौडेल तनहुँ–१ बाट पराजित भए । २०६४ मा चुनाव जितेकै कारण पार्टी नेतृत्वमा फर्किने अवसर पाएका पूर्वप्रधानमन्त्री झलनाथ खनालले गत चुनावमा आफ्नै पूर्वस्वकीय सचिवबाट हार बेहोर्नुपर्यो । शीर्ष नेतालाई जनताको शक्ति देखाएर हारको स्वाद चखाएका ती चर्चित पात्र अहिले के गर्दै छन् ?
0 o o
जब चुनाव आउँछ तब कुनै न कुनै रूपमा देशभर चर्चामा पुग्ने एक जिल्ला हो–झापा । जहाँबाट ओली बहुदलयता निरन्तर उम्मेदवार छन् । पछिल्ला चुनावमा ओलीसँगै सम्झिने नाम हो– विश्वदीप लिङ्देन । जसले २०६४ सालमा एकपटक मात्रै चुनाव जित । त्यसपछि फेरि कहिल्यै उम्मेदवार भएनन् । गुमनाम भएर पनि सम्झिरहनुको कारण हो– लिङ्देनले ओलीलाई दुर्लभ हार चखाइदिए ।
२०४६ सालमा बहुदल आएपछि २०४८ मा आमचुनाव भयो । जहाँबाट केपी शर्मा ओली विजयी भए । २०५१ मा ओली गृहमन्त्री भएसँगै झापाको चर्चा देशभर हुन थाल्यो । २०५१ र २०५६ को पनि चुनाव ओलीले नै जिते । संसद् पुनस्र्थापना भएपछि २०६३ मा ओली उपप्रधान तथा परराष्ट्रमन्त्री भए । जसले झापालाई अझ उचाइका साथ चर्चामा पुर्यायो । त्यही उचाइका बेला लिङ्देनले ओलीलाई चुनावमा हराइदिएका हुन् ।
१० वर्षे सशस्त्र युद्धबाट आएको माओवादीप्रतिको आश र त्रासको माहोलमा लिङ्देनले चुनाव जिते । जनमत परिवर्तन र परिवर्तनको लहरले विश्वदीपलाई चुनाव जित्न सहयोग गर्यो । त्यसपछि विश्वदीपको चर्चा चुलियो । धेरैले सोचे कि अब विश्वदीपले राजनीतिक क्षेत्रमा लामो समयसम्म छाप राख्नेछन् । संविधान सभामा पनि प्रभावशाली भूमिका निभाउनेछन् । तर विश्वदीपको राजनीतिक यात्रा केवल एउटा जितमा सीमित भयो ।
संसदमा उनले न निर्णायक भूमिका निभाउन सके न मन्त्री बने, न पार्टीमा महत्वपूर्ण जिम्मेवारी पाए । विश्वदीप पार्टीको केन्द्रीय शक्ति संरचनामा समेत उक्लन सकेनन् । परिणाममा विश्वदीपको चुनावी जितको क्षण चर्चाको विषय भयो । तर उनी दीर्घकालीन राजनीतिक उचाइमा पुग्न असफल भए । अर्थात् विश्वदीपले चुनावी जितलाई दीर्घकालीन प्रभावमा रूपान्तरण गर्न सकेनन् ।
ओली हराउने विश्वदीप आफैं राजनीतिबाट हराउन पुगेको उदाहरणले धेरैलाई महत्वपूर्ण पाठ सिकाएको छ– कि निर्वाचन जितेर मात्रै हुँदैन, राजनीतिमा स्थायी शक्ति प्राप्त गर्ने आधार निर्माण गर्नुपर्छ । अन्यथा शीर्ष नेतालाई हराउन सके पनि विश्वदीपझैं इतिहासमा हराइन्छ ।
ओलीले हारका विरुद्ध दीर्घकालीन रणनीति बनाए । दीर्घकालीन योजना बनाए, संगठनमा पकड बढाए र जनसम्पर्क बढाए जसले उनलाई सत्ताको शिखरमा पुर्यायो । ओलीले २०६४ को हारलाई दुर्लभ घटनामा पुर्याए । त्यसयताका तीनवटै संसदीय चुनाव २०७० साल, २०७४ र २०७९ मा जिते । चुनाव जितेका मात्र होइनन्, उनी राजनीतिको शीर्ष स्थानमा छन् । २०७२, २०७४ र २०८१ मा गरी चारपटक प्रधानमन्त्री भएर मुलुकको नेतृत्व सम्हाले । आगामी २१ फागुनको चुनावमा फेरि झापा ५ बाटै उम्मेदवार छन् ।
यता ओझेलमा परेका भए पनि प्रत्येक चुनावमा धेरैले विश्वदीप सम्झन्छन् । यसपटक पनि सम्झिरहेका छन् । भेट्नेहरूलाई उनी भन्छन्– राजनीतिमा असम्भव शब्दको अस्तित्व हुँदैन । उनका नजरमा झापा ५ बाट ओलीलाई हराउन स्थानीयको मनोविज्ञान बुझे पुग्छ ।