
भनिन्छ, लोकतन्त्रमा हार कसैको हुँदैन । चुनावी प्रतिस्पर्धाले जित वा हार होइन, जनमतको परीक्षण मात्र गर्ने हो । तर केही प्रतिस्पर्धा त्यस्ता हुन्छन्, जसको चर्चा एउटा निर्वाचन क्षेत्रमा सीमित रहँदैन । पञ्चायतकालमा नानीमैया दाहालको चुनावी जित होस् वा २०७९ को स्थानीय तह निर्वाचनमा काठमाडौं महानगरमा बालेन शाह, धरानमा हर्क साम्पाङ र धनगढीमा गोपी हमालको उदय, निकै चर्चामा रह्यो ।
त्यसो त हरेक निर्वाचनमा नयाँ पात्र र रोचक नतिजा आउने गरेकै छन् । २०४८ को आमचुनावमा बहालवाला प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईलाई पराजित गर्दै नेकपा (एमाले)का तत्कालीन महासचिव मदनकुमार भण्डारी निर्वाचित भएर राष्ट्रिय/अन्तर्राष्ट्रिय रूपमै चर्चा कमाए । उनी प्रतिस्पर्धी दलका नेता थिए । तर नेपाली राजनीतिमा ‘हेभिवेट’ भनिने नेताहरूले बेलाबखत सामान्य उम्मेदवारबाट अप्रत्यासित चुनावी हार बेहोरेका छन् । कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा मात्र त्यस्ता पात्र हुन्, जो २०४६ सालको परिवर्तन यताका सात निर्वाचनमा अपराजित रहे । २१ फागुनमा हुने प्रतिनिधि सभा निर्वाचनमा भने उनी उम्मेदवार छैनन् । देउवाबाहेक अरू शीर्ष नेताले भने बेलाबखत चुनावी पराजयको स्वाद पाइसकेका छन् ।
२०६४ को संविधान सभा निर्वाचनमा तत्कालीन नेकपा माओवादीको पक्षमा चुनावी लहर थियो । त्यतिबेला पूर्वप्रधानमन्त्री केपी शर्मा ओली झापाबाट हारे भने एमालेका तत्कालीन महासचिव माधवकुमार नेपाल रौतहट र काठमाडौं, वामदेव गौतम बर्दिया–१ बाट पराजित हुन पुगे । २०७० मा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ काठमाडौं १० बाट पराजित भए भने २०७४ मा हालका राष्ट्रपति रामचन्द्र पौडेल तनहुँ–१ बाट पराजित भए । २०६४ मा चुनाव जितेकै कारण पार्टी नेतृत्वमा फर्किने अवसर पाएका पूर्वप्रधानमन्त्री झलनाथ खनालले गत चुनावमा आफ्नै पूर्वस्वकीय सचिवबाट हार बेहोर्नुपर्यो । शीर्ष नेतालाई जनताको शक्ति देखाएर हारको स्वाद चखाएका ती चर्चित पात्र अहिले के गर्दै छन् ?
0 0 0 0
पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्वसभापति स्वर्गीय सुशील कोइरालाले चुनाव लड्दै आएको क्षेत्र हो, बाँके–२ । २०४८ देखि २०७० सम्मका सबै निर्वाचन उनले यही क्षेत्रबाट उठे । कोइरालाले लडेका पाँच चुनावमध्ये तीनपटक जिते भने दुईपटक हार बेहोरे । २०६४ को चुनावी नतिजाको चर्चा भने नेपालगन्जमा अहिले पनि हुने गर्छ । जुन चुनावमा उनी कांग्रेसकै शुभेच्छुक पूर्वकर्मचारीबाट नमिठो हार बेहोरेका थिए ।
नेपालगन्जलाई मधेस आन्दोलनको उद्गम थलो मानिन्छ । सोही आन्दोलनबाट राजनीतिमा उदाएका पूर्वकर्मचारी हुन्, सर्वदेव ओझा । मधेसी जनअधिकार फोरमबाट उम्मेदवार बनेका उनले झन्डै ४२ प्रतिशत मत ल्याएर पहिलो संविधान सभा सदस्य निर्वाचित हुँदा कांग्रेस नेता कोइराला तेस्रो बन्न पुगे । मतान्तर झन्डै ९ हजार थियो । ओझा १४ हजार ९ सय मतसहित निर्वाचित हुँदा कोइरालाले ५ हजार ९ सय ६९ मत मात्र प्राप्त गरेका थिए ।
चुनाव जितेर ओझा महिला, बालबालिका तथा समाज कल्याणमन्त्रीसमेत बने । तर उनको राजनीति लामो समय टिकेन । पहिलो संविधान सभाकै बीच फोरम विभाजन भयो । उनी विजय गच्छेदारको फोरम (लोकतान्त्रिक)तर्फ लागे । त्यहाँ पनि धेरै दिन टिकेनन् । जयप्रकाश गुप्ताको तराई–मधेस राष्ट्रिय अभियानमा पुगे । २०७० को दोस्रो संविधान सभा निर्वाचनमा पनि उनी उम्मेदवार बने । कांग्रेसले तत्कालीन सभापति कोइरालालाई भावी प्रधानमन्त्रीका रूपमा अघि सारिसकेको थियो । तर बाँकेबाट चुनाव जित्नेमा उनी आफैं ढुक्क थिएनन् । त्यसैले चितवनबाट पनि चुनाव लडे । त्यो चुनाव कोइरालाले दुवै ठाउँबाट सजिलै जिते । बरु पूर्वमन्त्री ओझाको जनमत भने नराम्ररी खस्किएको थियो । कोइरालालाई ९ हजारको मतान्तरले जितेका ओझा ६ वर्षपछिको चुनावमा भने मात्र ७७ भोटमा खुम्चिए । त्यसपछि राजनीतिबाट रिङ आउट हुन पुगे ।
राजनीतिले आफ्नो व्यवसाय भताभुंग भएको ओझा बताउँछन् । त्यसैले चुनावपछि बिग्रिएको आर्थिक कारोबार सुधार्न लागे । भारतीय बिउविक्रेता कम्पनीको नेपाली एजेन्सी ‘मनीषा एग्री कन्सर्न’ ऋणले डुबेको र त्यसको विवाद निरुपणका लागि सर्वोच्च अदालत धाइरहेको उनी बताउँछन् । ‘नेपाली राजनीतिलाई मैले नजिकबाट देखें,’ उनी भन्छन्, ‘देशलाई माया गर्नेभन्दा लेन्डुप दोर्जेहरू धेरै छन् । अहिलेको चुनावमा पनि त्यस्ता पात्र आइरहेको मैले देखेको छु ।’
दुई दशक लामो सरकारी सेवापछि मधेस आन्दोलनसँगै नेता बनेका ओझाको राजनीतिक यात्रा रोचक छ । शाही शासनकालमा कांग्रेस समर्थक कर्मचारी भएकै कारण अनेक दबाब र मुद्दा मामिला सामना गर्नुपरेको उनी बताउँछन् । लोकतन्त्रपछि मधेस आन्दोलनमा सक्रिय भए र फोरमबाट चुनाव जितेर मन्त्री भए । फोरम विभाजनमा पनि उनको हात रहेको बताइन्छ । उनी आफंै पनि स्वीकार्छन्, ‘उपेन्द्र यादवले पार्टीलाई माओवादीको पछि लगाउन खोजे । त्यसको विरोध गरेर लोकतान्त्रिक बनाउन मेरो भूमिका छ ।’
कपिलवस्तुको परसोइया गाविसस्थित हथिहवाका ओझा २०३६ सालमा बर्दियामा शिक्षक थिए । भारतको कानपुरबाट २०३८ सालमा स्नातकोत्तर गरेपछि कृषि मन्त्रालयमा नायब सुब्बाबाट सरकारी सेवा सुरु गरेका उनी योजना आयोग, गृह मन्त्रालय हुँदै स्थानीय विकास अधिकारीसम्म भए ।
ओझा फुर्सदको समय कसरी बिताउँदै छन् त ? ‘मलाई फुर्सद छैन । पढाइ पूरा गरेको ४५ वर्षपछि भर्खरै एलएलबी सकें । अधिवक्ताको परीक्षा दिएर आएको छु,’ मध्यान्हसँग उनले भने, ‘अब वकालत गर्ने हो ।’