
भनिन्छ, लोकतन्त्रमा हार कसैको हुँदैन । चुनावी प्रतिस्पर्धाले जित वा हार होइन, जनमतको परीक्षण मात्र गर्ने हो । तर केही प्रतिस्पर्धा त्यस्ता हुन्छन्, जसको चर्चा एउटा निर्वाचन क्षेत्रमा सीमित रहँदैन । पञ्चायतकालमा नानीमैया दाहालको चुनावी जित होस् वा २०७९ को स्थानीय तह निर्वाचनमा काठमाडौं महानगरमा बालेन शाह, धरानमा हर्क साम्पाङ र धनगढीमा गोपी हमालको उदय, निकै चर्चामा रह्यो ।
त्यसो त हरेक निर्वाचनमा नयाँ पात्र र रोचक नतिजा आउने गरेकै छन् । २०४८ को आमचुनावमा बहालवाला प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईलाई पराजित गर्दै नेकपा (एमाले)का तत्कालीन महासचिव मदनकुमार भण्डारी निर्वाचित भएर राष्ट्रिय/अन्तर्राष्ट्रिय रूपमै चर्चा कमाए । उनी प्रतिस्पर्धी दलका नेता थिए । तर नेपाली राजनीतिमा ‘हेभिवेट’ भनिने नेताहरूले बेलाबखत सामान्य उम्मेदवारबाट अप्रत्यासित चुनावी हार बेहोरेका छन् । कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा मात्र त्यस्ता पात्र हुन्, जो २०४६ सालको परिवर्तन यताका सात निर्वाचनमा अपराजित रहे । २१ फागुनमा हुने प्रतिनिधि सभा निर्वाचनमा भने उनी उम्मेदवार छैनन् । देउवाबाहेक अरू शीर्ष नेताले भने बेलाबखत चुनावी पराजयको स्वाद पाइसकेका छन् ।
२०६४ को संविधान सभा निर्वाचनमा तत्कालीन नेकपा माओवादीको पक्षमा चुनावी लहर थियो । त्यतिबेला पूर्वप्रधानमन्त्री केपी शर्मा ओली झापाबाट हारे भने एमालेका तत्कालीन महासचिव माधवकुमार नेपाल रौतहट र काठमाडौं, वामदेव गौतम बर्दिया–१ बाट पराजित हुन पुगे । २०७० मा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ काठमाडौं १० बाट पराजित भए भने २०७४ मा हालका राष्ट्रपति रामचन्द्र पौडेल तनहुँ–१ बाट पराजित भए । २०६४ मा चुनाव जितेकै कारण पार्टी नेतृत्वमा फर्किने अवसर पाएका पूर्वप्रधानमन्त्री झलनाथ खनालले गत चुनावमा आफ्नै पूर्वस्वकीय सचिवबाट हार बेहोर्नुपर्यो । शीर्ष नेतालाई जनताको शक्ति देखाएर हारको स्वाद चखाएका ती चर्चित पात्र अहिले के गर्दै छन् ?
0 0 0 0
राष्ट्रपति रामचन्द्र पौडेल संसदीय राजनीतिका सफल नेता मानिन्छन् । २०४६ सालको परिवर्तनपछिका ६ चुनाव जित्दा २०७४ मा भने नमिठो पराजय बेहोर्नुप¥यो । उनलाई हराउने अरू कुनै चर्चित नेता थिएनन्, एमाले राजनीतिमा सक्रिय व्यवसायी किसान श्रेष्ठ थिए ।
राष्ट्रिय राजनीतिमा नदेखिएका र नसुनिएका श्रेष्ठ २०७४ मा तत्कालीन कांग्रेस उम्मेदवार पौडेललाई तनहुँ १ बाट पराजित गर्दै एकाएक चर्चामा आए । उनी एमाले र माओवादी केन्द्रको गठबन्धनबाट उम्मेदवार बनेका थिए । पौडेलले निरन्तर जित्दै आएको सो क्षेत्र कांग्रेसको गढ मानिन्थ्यो । तर श्रेष्ठले ३४ हजार ४ सय ८९ मत ल्याएर चुनाव जित्दा पौडेलले २७ हजार ६ सय ७५ मत मात्र पाए । पौडेललाई पराजित गरेका श्रेष्ठलाई सोही कार्यकालमा कांग्रेसकै शेरबहादुर देउवा नेतृत्वको सरकारमा श्रम तथा रोजगारमन्त्री बनाइयो ।
२०२४ पुस ७ गते म्याग्दे गाउँपालिका १ को दबुङमा बुवा स्व. केवलबहादुर श्रेष्ठ र आमा लेसकुमारी श्रेष्ठको सन्तानका रूपमा जन्मिएका श्रेष्ठ पञ्चायत कालमा नै विद्यार्थी राजनीतिमा होमिएका थिए । २०३८ सालमा अनेरास्ववियुको सदस्यता लिएका उनी २०५१ सालबाट पार्टी राजनीतिमा सक्रिय रहे । श्रेष्ठ तनहुँमा समेत नाम चलेका व्यापारी हुन् । दमौलीमा उनको किसान हार्डवेयर चर्चित छ । त्योबाहेक हाउजिङ, रियलस्टेट, ग्यास उद्योग र होटल क्षेत्रमा पनि उनको लगानी छ । उनको आफ्नै लगानीमा क्लासिक म्याट्रेस उद्योगसमेत छ । पछिले समय आपूm राजनीतिमा व्यस्त रहेकाले धर्मपत्नी अन्जु गोशेली श्रेष्ठले व्यापार व्यवसाय धानेको उनी बताउँछन् ।
बारा निर्वाचन क्षेत्र नम्बर–४ बाट कांग्रेस–माओवादी–नेकपा एससमेतको गठबन्धनका तर्फबाट २०७९ प्रतिनिधि सभामा निर्वाचित भएका श्रेष्ठ फेरि एमालेमा फर्किएर तेस्रोपटक चुनाव लड्दै छन् । नेकपा एकीकृत समाजवादीका पार्टी माओवादीसँग मिलेर नेपाली कम्युनिस्ट पार्टी बनाएपछि उनी एमालेतिर लागेका हुन् ।