२०८२ फागुन २७ गते बुधवार / Mar 11 , 2026 , Wednesday
२०८२ फागुन २७ गते बुधवार
Ads

स्रोत नखुलेको ५ लाखसहित एक जना पक्राउ

shivam cement
सत्येन्द्र प्रताप सिंह
२०८२ माघ २३ गते २१:०७
Shares
स्रोत नखुलेको ५ लाखसहित एक जना पक्राउ

रौतहट : जिल्ला प्रहरी कार्यालय रौतहटले स्रोत नखुलेको करिब पाँच लाख रुपैयाँसहित एक जनालाई पक्राउ गरेको छ । गौर नगरपालिका–३ स्थित सडकखण्डमा गरिएको नियमित सुरक्षा जाँचका क्रममा गौर नगरपालिका–१ निवासी ४४ वर्षीय राकेश प्रसादलाई ४ लाख ९९ हजार रुपैयाँसहित नियन्त्रणमा लिइएको हो । 

प्रहरीका अनुसार शुक्रबार बिहान जिल्ला प्रहरी कार्यालयबाट खटिएको विशेष चेकिङ टोलीले गौर भन्सार कार्यालयतर्फबाट बी.पी. चोक आउँदै गरेको बीआर ३० यू ७२४७ नम्बरको भारतीय मोटरसाइकल शंका लागेर रोकी जाँच गरेको थियो । जाँचका क्रममा मोटरसाइकलको लेगार्डमा प्लास्टिकको झोलाभित्र लुकाएर राखिएको नगद फेला परेको प्रहरीले जनाएको छ ।

बरामद गरिएको रकमको वैधानिक स्रोत खुलाउन आवश्यक कागजात माग गर्दा चालकले कुनै प्रमाण पेश गर्न नसकेको जिल्ला प्रहरीले जनाएको छ । अवैध हुन्डी वा अन्य गैरकानूनी क्रियाकलापमा प्रयोग हुन सक्ने आशंकामा नगद, मोटरसाइकल र चालकलाई नियन्त्रणमा लिइएको हो । 

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक विष्णु प्रदीप बस्यालका अनुसार पक्राउ परेका व्यक्ति, बरामद नगद र मोटरसाइकललाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि गौर भन्सार कार्यालयमा बुझाइएको छ ।

सीमावर्ती क्षेत्रमा पछिल्लो समय सुरक्षा निगरानी कडा बनाइएसँगै अवैध रकम र तस्करीका गतिविधि नियन्त्रणमा लिने क्रम तीव्र भएको प्रहरीले जनाएको छ ।

सम्बन्धित खबर