
घटना १
–केही दिनयता नेपाली कांग्रेसका सभापति गगन थापाले ‘कांग्रेस गरिब र सुकुम्बासीको पार्टी होइन, कांग्रेस हुने खानेको पार्टी हो..’ भन्दै गरेको एउटा भिडियो सामाजिक सञ्जालमा भाइरल बन्यो । थापाले बोलेको सो पनि पुरानो भिडियोको अंशलाई तोडमरोड गरेर अर्थ बंग्याई भ्रम फैलाएको पाइएको छ । उनले चार वर्षअघि पार्टीका कार्यकर्ता भेलामा भनेका प्रसंगलाई यहाँ जोडिएको हो । त्यसबेला उनले भनेका थिए ‘मैले कुनै दिन नेतृत्व गर्न पाएँ भने, म नेपाली कांग्रेस पार्टीलाई गरिबको पार्टी, सुकुम्बासीको पार्टी भन्ने परिचय नेपाली कांग्रेस पार्टीको राख्दिनँ ।’ सोही कुरालाई रास्वपानिकट व्यक्ति तथा पेजहरूले तोडमोड गरेर भाइरल बनाएको फ्याक्टचेकबाट पत्ता लागेको छ ।
घटना– २
बुधबार झापाको कमल गाउँपालिकास्थित रास्वपा उम्मेदवार बालेन्द्र शाहको सम्पर्क कार्यालयमा ठुलो क्षति पुगेको भन्दै ‘आर्टिफिसियल इन्टेलिजेन्स’ प्रयोग गरी सामाजिक सञ्जालमा भ्रम फैलाइयो । झापा–५ स्थित शाहको सम्पर्क कार्यालय रहेको घरमा माघ २१ गते राति कसैले ढुंगा हानेको थियो । सो घटनामा घरधनी बस्ने कोठाको झ्यालको एउटा सिसा मात्र फुटेको प्रशासनले बताएको छ । तर सो घटनालाई लिएर एआई प्रविधिको दुरुपयोग गर्दै कार्यालय नै ध्वस्त भएको जस्तो देखिने तस्बिर बनाएर रास्वपा समर्थकहरूले सामाजिक सञ्जालमा भाइरल गरिएका छन् । यो विषयमा प्रशासनले कानुनी कारबाही अघि बढाएको जनाएको छ ।
घटना–३
त्यस्तै, ‘झापामा ओलीको कार्यक्रममा घण्टीको नारा’ लेखेर बुधबार सामाजिक सञ्जालमा भाइरल बन्यो । आसन्न प्रतिनिधि सभा चुनावका लागि मनोनयन दर्ता गर्न पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली झापा पुग्दा उनलाई स्वागत गर्न नेता तथा कार्यकर्ता चुच्चे नक्सासहित भद्रपुरको चन्द्रगढी विमानस्थल पुगेका थिए । नजिकै रास्वपाको कार्यक्रममा लागेको नालाको अडियो सम्पादन गरेर ओलीसमर्थकको भिडियो हालेर मतदातामा भ्रम फैलाइयो ।
घटना–४
माघ २१ मा केही पेज र व्यक्तिहरूले राष्ट्रिय स्वतन्त्र पार्टीका उपाध्यक्ष डा. स्वर्णिम वाग्लेको प्रोफाइल विकिपिडिया देखाइएको भन्दै दुईवटा तस्बिर फेसबुकमा राखियो । जसमा उम्मेदवारी दर्ताअघि उनको धर्म क्रिस्चियन र उम्मेदवारी दर्तापछि हिन्दु बनाइएको भन्दै भ्रम छरियो । यद्यपि उनी आफूलाई हिन्दु नै भएको दाबी गर्दै आफूले कहिल्यै घर्म परिवर्तन नगरेको बताउँछन् । नेता वाग्ले क्रिस्चियन भएको भाष्य निर्माण गर्न विकिपिडिया पेजलाई अनधिकृत रूपमा सम्पादन गरेर त्यसको स्क्रिनसटको साहारा लिइएको थियो । आफूविरुद्ध भ्रम फैलाइएको भन्दै वाग्लेले साइबर ब्युरोसमक्ष उजुरी दर्ता गराएका छन् ।
घटना–५
पछिल्ला केही दिनयता राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले दलितलाई मन्दिर छिर्न दिन नहुने भनेको दाबी गर्दै एउटा पोस्टर सामाजिक सञ्जालमा भाइरल बन्यो । लिङ्देन र गाईको चित्र प्रयोग गर्दै बनाइएको तस्बिरमा ‘अब दलितलाई मन्दिर छिर्न दिनु हुँदैन ः राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन’ लेखिएको थियो । अध्यक्ष राजेन्द्र लिङ्देनले दलित समुदायको सम्बन्धमा बोल्दै नबोलेको र कल्पनासम्म नगरेको विषयलाई सुनियोजित रूपमा प्रचार गरिएको भन्दै स्पष्टीकरण दिनुपरेको छ ।
घटना–६
त्यसैगरी कलाकार राजेश हमालले नेपाली कम्युनिस्ट पार्टी (नेकपा)को चुनाव चिह्न ताराको प्रचार गरेको जस्तो देखिने गरी फोटो राख्दै पुष्पकमल दाहाल ‘प्रचण्ड’को पक्षमा भोट मागेका पोस्ट सामाजिक सञ्जालमा फैलिएका छन् । हमालले लगाएको रातो तारा अंकित निलो रङको क्याप टोपी सम्पादन गरिएको तथ्य जाँचमार्फत पुष्टि भएको छ ।
सोसल मिडियामार्फत भाइरल बनाइएका यी घटना नागरिकलाई कसरी भ्रमित बनाइन्छ भन्ने दरिला उदाहरण हुन् । यस्ता मिथ्या सूचनाले सर्वसाधारणलाई भ्रमित पार्दै आएका छन् । जसले गर्दा सही उम्मेदवार छनोट नहुन सक्छन् । यद्यपि निर्वाचनको सम्मखुमा राजनीतिक दल, तीनका कार्यकर्ता, सहयोगी र समर्थकहरूले मतदातालाई आफ्नो पक्षमा पार्न यस्ता भ्रमपूर्ण सूचना फैलाउने पुरानै चलन हो । तर यसपटक भने कृत्रिम बौद्धिकता (एआई)को व्यापक प्रयोगले गलत सूचना पनि तत्यतथ्यजस्तै लाग्ने भएकाले कुन सही हो कुन मिथ्या सूचना हो ? मतदातालाई छुट्याउन गाह्रो भइरहेको छ । यस्त एआई निर्मित भ्रम फैलाउने काममा नयाँ राजनीतिक शक्तिसमर्थक सामाजिक सञ्जाल प्रयोगकर्ताहरू अगाडि देखिन्छन् ।
पुराना भनिएका राजनीतिक दलका नेताहरूले जनतालाई उही झुटो आश्वासनका भरमा आफ्नो पक्षमा मत बदल्ने प्रयास गरिरहँदा नयाँ भनिएका दल र उम्मेदवारहरूले प्रविधिकै दुरुपयोग गरेर नागरिकमा भ्रम फैलाइरहेका छन् । अघिल्लो निर्वाचनबाट संसद् छिरेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता कार्यकर्ता र समर्थक यस्तो क्रियाकलापमा सबै भन्दा बढी सक्रिय रहेको देखिन्छ । तर, नेकपा एमाले, कांग्रेस र नेपाली कम्युनिस्ट पार्टीका नेताहरूले विगतका जस्तै झुटा आश्वासन निरन्तरता दिने प्रयासमा छन् ।
झापा क्षेत्र नम्बर ५ बाट उम्मेदवारी दिएका नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आगामी निर्वाचनपछि आफ्नो नेतृत्वमा सरकार बनेपछि स्वदेशमै उत्पादन भएको ग्यास घरघरमा पुर्याउने आश्वासन फेरि दोहोर्याएका छन् । दैलेख जिल्लामा ग्यास उत्खननको सम्भाव्यता अध्ययन विषय जोडेर उनले बिहीबार घरघरमा ग्यास पुर्याउने भनेका हुन् । सोही कुरा उनले २०७२ सालमा प्रधानमन्त्री भएकैबेला भनेका थिए । ओलीको भनाइ थियो, ‘मैले अलिकति समय पाएँ भने सिलिन्डरको फेज नै समाप्त पारिदिन्छु । पाइपबाट घरघरका चुलोमा ग्याँस पुर्याइदिन्छु । त्यसपछि सिलिन्डर काँधमा बोकेर हिँड्नै पर्दैन ।’ जनतालाई बिजुली र खानेपानीसमेत दिन नसकेको सरकारले खाना पकाउने ग्यास नै घरमा पुर्याउला भनेर कसैले विश्वास थिएन । त्यसबेला ग्यासको अभावमा दाउरा बालेर खाना पकाइरहेका देशवासीलाई प्रधानमन्त्रीको भाषण उटपट्याङजस्तो लागेको थियो । दशकपछि पनि ओलीले फेरि सोही विषयलाई उठाएर मतदाता लाभ्याउने काम गरेको भन्दै उनको चौतर्फी आलोचना भइरहेको छ । नेताहरूले दिने आश्वासनका सन्दर्भमा कसैले कही भन्न सक्ने अवस्था नरहे पनि सामाजिक सञ्जालमार्फत फैलाउने दुष्प्रचारलाई राक्ने निर्वाचन आयोग, प्रहरी प्रशासनले संयन्त्र बनाएको छ ।
चुनावको समयमा सामाजिक सञ्जालमार्फत प्रवाह हुने मिथ्या सूचनाको निगरानी गरेर कारबाही अघि बढाउने निर्वाचन आयोगले जनाएको छ । ‘सामाजिक सञ्जालमा दुष्प्रचार, घृणास्पद अभिव्यक्ति, अपव्याख्या, डिप फेक (गहिरो भ्रम) झुटो साइट वा एकाउन्ट, निन्दा वा मानहानीलगायत विषयमाथि अनुगमन गरी गैरकानुनी कार्यलाई कानुनबमोजिम दण्डित गरिनेछ,’ आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले भने । यसका लागि नियामक निकायसँग सहकार्य गर्ने नीति लिइएको उनको भनाइ छ । आयोगमा सूचना सम्प्रेषण तथा समन्वय केन्द्र नै स्थापना गरेर तथ्य जाँचको काम गर्दै आएको छ ।
भ्रामक सन्देश न्यूनीकरणका लागि आयोग, प्रशासन र प्रहरीको साझेदारीमा जिल्ला तहमै संयन्त्र बनाइएको नेपाल प्रहरीका प्रवक्ता अबिनारायण काफ्लेले जानकारी दिए । गलत प्रचारप्रसारलाई न्यूनीकरण गर्न प्रहरीले युएनडिपिको सहयोगमा एआई सफ्टवेयरको उपयोग गर्दै आएको छ । ‘यसले सामाजिक सञ्जालमार्फत फैलिने भ्रामक सूचना पहिचान र नियन्त्रण गर्न सहयोग पुर्याउनेछ,’ प्रवक्ता काफ्लेले मध्यान्हसँग भने, ‘प्रहरीकै निगरानीमा आयोगमा राखिएको यो सफ्टवयेरलाई ‘ई–मोनिटर प्लस’ नाम दिइएको छ । यसले मिस इन्सफरमेसन, फेक इन्फरमेसन, डिपफेकलगायत पहिचान गर्नेछ ।’