२०८२ फागुन २८ गते बिहिवार / Mar 12 , 2026 , Thursday
२०८२ फागुन २८ गते बिहिवार
Ads

चर्चाबाहिर कुलमान

shivam cement
जीवन शर्मा
२०८२ माघ २७ गते ०८:५६
Shares
चर्चाबाहिर कुलमान

काठमाडौं : साढे तीन वर्षअघिको चुनावमा तत्कालीन माओवादी केन्द्रले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, जनार्दन शर्मा र कुलमान घिसिङको तस्बिर राखेको पोस्टरमा नारा दिएको थियो– अध्यारोबाट उज्यालोको यात्रा । त्यतिबेला घिसिङ नेपाल विद्युत् प्राधिकरणका बहालवाला कार्यकारी निर्देशक थिए । चौतर्फी आलोचनापछि माओवादीले तस्बिर हटाए पनि घिसिङलाई काठमाडौंबाट उम्मेदवार बनाउने प्रस्ताव गरेको थियो । हुँदाखाँदाको जागिर छाडेर राजनीतिमा होमिन उनको सर्त थियो– रोजेको क्षेत्रबाट स्वतन्त्र उठ्ने, माओवादीले सघाउने । त्यतिबेला घिसिङ निकै लोकप्रिय मानिन्थे । उनलाई अघि सारेर मत जुटाउने उद्देश्य पूरा नहुने भएपछि माओवादीसँग कुरा मिलेन । 

उनै घिसिङ अहिले उज्यालो नेपाल पार्टी गठन गरेर चुनावी मैदानमा उत्रिएका छन् । तर अहिले उनको लोकप्रियता न २०७९ को जस्तो छ, न त नयाँ दल खोज्दाको ऊर्जा । आफूलाई झन्डै एक दशक अवसर दिएका पूर्वप्रधानमन्त्री प्रचण्डको आमन्त्रण आग्रह अस्वीकार गर्दै उनले हतारहतारमा दल खोले । सुधन गुरुङलगायत जेनजी आन्दोलनका अगुवाहरूको आग्रहमा हतारहतार रास्वपासँग पार्टी एकता गरे । अनि १२ दिनमै त्यो एकता भंग गर्दै आफूमाथि गम्भीर धोका भएको भन्दै चुनावी मैदानमा उत्रिएका छन् । जेनजी आन्दोलनपछि बनेको अन्तरिम सरकारका सम्भवतः सबैभन्दा चर्चित मन्त्री घिसिङको चर्चा अहिले सेलाउँदै गएको छ । 

२०७३ भदौ ३० मा प्राधिकरणको कार्यकारी निर्देशक भएपछि लोडसेडिङ घटाएर चर्चामा आएका उनले नौ वर्षसम्म वाहवाही पाए । भलै, लोडसेडिङ अन्त्यको नीति र कार्यक्रम तत्कालीन सरकारकै थियो । तर कुशल व्यवस्थापनको जस उनैले पाए । त्यसैले उनलाई लोकप्रियताको उचाइमा पु¥यायो । अन्ततः उनी नयाँ दल खोलेर काठमाडौं–३ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवार बने । 

सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारका ऊर्जा जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री थिए । स्वतन्त्र र विषय विज्ञ मन्त्रीका रूपमा सिंहदरबार छिरेका घिसिङले छिट्टै नै राजनीतिक महत्वाकांक्षा देखाए । उनले राजनीतिक दौड जति छिटो गतिमा सुरु गरे त्यति छिट्टै सुस्ताएको टिप्पणी गर्न थालिएको छ । आफू प्रत्यक्ष नदेखिएरै उनले उज्यालो पार्टी खोले । आफू अनौपचारिक संरक्षक रहेको पार्टीको उद्घाटनदेखि संगठन विस्तारमा हिँड्दासम्म उनले मन्त्री छाडेनन् । मन्त्री रहेकै बेला उनले रास्वपासँग पार्टी एकता गरे । प्रधानमन्त्री कार्कीले छाड्न नभनेसम्म उनी मन्त्री रहे । कतिसम्म भने मन्त्री छाड्नु अघिल्लो दिनसम्म उनी कुनै दलको सदस्य नरहेको भनिरहेका थिए ।  अन्ततः सरकार छाड्न बाध्य घिसिङ रास्वपामा समेत रहेनन् । पूर्वसचिव अनुपकुमार उपाध्यायलाई संस्थापक अध्यक्ष बनाएर आफू संरक्षक रहेको पार्टीलाई रास्वपामा विलय गराउने उनको निर्णय १२ दिनमै उल्टिएको थियो । 

पुस १४ गते राति रास्वपा र घिसिङ संरक्षक रहेको ऊज्यालो नेपाल पार्टीबीच एकता सहमति भएको थियो । घिसिङ र रास्वपाबीच भएको सातबुँदे सहमतिमा काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह ‘बालेन’ साक्षी थिए । कुलमानलाई पहिलो वरीयताको उपसभापति बनाउनेगरी रास्वपा र उज्यालो नेपाल पार्टीबीच सहमति भएको हो । सहमतिमा रास्वपाका तर्फबाट सभापति रवि लामिछाने र कुलमानका तर्फबाट उज्यालो नेपाल पार्टीका अध्यक्ष अनुपकुमार उपाध्यायले हस्ताक्षर गरेका थिए । दुई पक्षबीच भएको सहमतिको चौथो बुँदामा उल्लेख छ ‘अब कुलमानसहित तीन उपसभापति रहनेछन् । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सभापति रवि लामिछाने रहने र उपसभापतिमा कुलमान घिसिङ, डिपी अर्याल र स्वर्णिम वाग्ले रहनेछन् ।’

रास्वपासँगको पार्टी एकतासँगै ऊनेपाका १८ जना समानुपातिक सांसद बन्दसूचीमा पठाएका थिए । तीमध्ये अधिकांश उम्मेदवार रास्वपामै बसे । कुलमानका आफ्नै भान्जा राम लामा रास्वपा समानुपातिक बन्दसूचीमा जनजाति क्लस्टरको १ नम्बरमा छन् ।  त्यस्तै, १५ जना केन्द्रीय सदस्य रास्वपामा गएका छन् भने १० जना केन्द्रीय सदस्य निष्क्रिय रहेका छन् । ऊनेपालाई ब्रान्ड बनाउने योजनामा रहेका उनी अध्यक्ष बनेसँगै एक्लिँदै गएका छन् ।   

नेपालको राजनीतिमा देखिएको भूराजनीतिक चलखेल, आफन्तहरूको घेराबन्द तथा अन्तरद्वन्द्व र स्वयं घिसिङको अकर्मण्यताका कारण उज्यालो नेपाल पार्टीलाई नागरिकमाझ पहिचानयोग्य बनाउन नसकेको ऊनेपाका एक केन्द्रीय सदस्यले बताए । ‘कुलमानलाई सुरुमा जसले उनलाई भगवान बनाए, पछि उनीहरूले नै धोका दिए,’ उनले मध्यान्हसँग भने । ग्राउन्डको राजनीतिक वास्तविकता नबुझी पार्टीलाई कम्पनीजस्तो चलाउन खोजेपछि समस्या आएको उनको दाबी छ ।  

उनले पार्टीलाई संस्थागत बनाउन नसकेको आरोप खेप्दै आएका छन् ।  ऊनेपाले देशभर १ सय २० निर्वाचन क्षेत्रमा उम्मेदवार उठाएको छ । तर अधिकांशको अवस्था निकै खराब रहेको पार्टीकै नेताहरू स्विकार्छन् । रास्वपामा किन मिल्न गएको ? किन छुट्टिनुपर्‍यो ? भन्ने जवाफ घिसिङले अहिलेसम्म दिन सकेका छैनन् । तर पार्टी जनतामाझ परिचालित भइसकेकाले नतिजा राम्रै आउने सो पार्टीका प्रवक्ता डा. राजु थापाले बताए । कति सिट जितिन्छ भन्ने अहिले नै आँकलन गरिनसके पनि सबै उम्मेदवार जित्नकै लागि खडा गरिएको उल्लेख गर्दै उनी भन्छन्, ‘ऊनेपाले १ सय २० क्षेत्रमा उम्मेदवार बनाएको छ । घोषणापत्र सार्वजनिक भएपछि चुनावी अभियानलाई थप व्यापक बनाउने तयारीमा छौं । विज्ञहरूसँगको सुझाव संकलन भइसकेर लेखनको काम जारी छ ।’ भ्रष्टाचारविरोधी अभियानका एनजिओकर्मी केदार खड्का नेतृत्वको टिमले घोषणापत्रको काम गरिरहेको छ । 

मन्त्रीसँगै गुम्यो एमडी हुँदाको चर्चा 

२०७३ भदौ ३० मा तत्कालीन ऊर्जामन्त्री जनार्दन शर्माले घिसिङलाई नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकको जिम्मेवारी दिएसँगै उनी चर्चामा आएका एक सरकारी कर्मचारी हुन् । यसबीचमा उनलाई उज्यालो नेपालका नायक नै भनेर चिन्ने गरे पनि पछिल्लोपटक उनलाई थुप्रै प्रश्नहरूले घेरेको छ । रामेछापको दुर्गममा गाउँमा सामान्य किसान परिवारमा जन्मिएका उनी इलेक्टिकल इन्जिनियर बने । 

बढुवा भएर १०औं तहमा पुगेसँगै उनलाई सरकारले कार्यकारी निर्देशकको जिम्मेवारी दिएको थियो । उनले दैनिक १८ घण्टा लोडसेडिङ हुने अवस्थाबाट मुलुकलाई बाहिर निकाल्न महत्वपूर्ण भूमिका निर्वाह गरेको आमबुझाइ छ । यसबीचमा घिसिङले पहिलो कार्यकाल पूरै र दोस्रो कार्यकाल लगभग पूरै प्राधिकरणमा बिताए पनि जेनजी आन्दोलनअघिको केपी ओली नेतृत्वको सरकारका ऊर्जामन्त्री दीपक खड्काले गत चैतमा बर्खास्त गरेका थिए ।  

विद्युत् प्राधिकरणबाट निकालिएका घिसिङको समर्थनमा उनको पुनर्वहालीको माग गर्दै प्रदर्शनसमेत भएको थियो । चैतमा बर्खास्त परेका उनी पाँच महिनामै ऊर्जा, जलस्रोत तथा सिँचाइसहित तीन मन्त्रालयको मन्त्री भएर साढे चार महिना काम गरे । आफू मन्त्री हुँदासमेत प्राधिकरणमा राजनीति गर्न छाडेनन् । कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई हटाएपछि घिसिङले देखाएको प्रतिशोधको आलोचना भएको थियो । शाक्य अदालतको आदेशबाट पुनर्वहाली भइसक्दा घिसिङमन्त्री छाडेर चुनावी मैदानमा उत्रिइसकेका छन् । काठमाडौं ३ मा उम्मेदवार रहेका नेता घिसिङसँगको प्रतिस्पर्धामा कांग्रेस, एमाले, रास्वपा र नेकपाका उम्मेदवार छन् ।   

यो क्षेत्रका नागरिकले हरेक निर्वाचनमा प्रायः फरक दलका उम्मेदवारलाई जिताउने गरेका छन् । कांग्रेस र एमालेले आलोपालो जस्तै गरी जित्दै आएको यस क्षेत्रमा ऊनेपा घिसिङ र रास्वपाबाट राजु पाण्डेको उम्मेदवारीले माहोल तातेको छ । मैदानमा २० भन्दा धेरै उम्मेदवार छन् । कांग्रेस र एमालेले पालैपालो जित्दै आएको यो क्षेत्रबाट २०६४ पछि लगातार  दुईपटक कसैले पनि जितेका छैनन् । २०६४ सालको पहिलो संविधान सभा निर्वाचनमा कांग्रेसका चक्रबहादुर ठकुरीले एमाले उम्मेदवार रामेश्वर फुयाँललाई पराजित गरेका थिए । २०७० सालमा फुयाँलले ठकुरीलाई पराजित गरे । ठकुरी र फुयाँल दुवै गाविस अध्यक्ष हुँदै प्रतिनिधि सभा सदस्य उम्मेदवार बनेका थिए । ठकुरी जोरपाटी गाविसका पूर्वअध्यक्ष थिए भने फुयाँल आलापोटका । 

२०७४ मा एमाले उम्मेदवार कृष्णबहादुर राईले जित हात पारे भने कांग्रेसकी अम्बिका बस्नेत पराजित भइन् । २०७९ सालको निर्वाचनमा फेरि नतिजा कांग्रेसको पक्षमा आएको थियो । यसपटक एमालेका रामेश्वर फुयाँल उम्मेदवार छन् भने कांग्रेसले गोकर्णेश्वर–६ का पूर्ववडाध्यक्ष रमेश अर्याललाई उम्मेदवार बनाएको छ । 

नेकपाले निरज लामालाई उम्मेदवार बनाएको छ । त्यस्तै, रास्वपाले भने महानगर पूर्वप्रहरी प्रमुख राजुनाथ पाण्डेलाई प्रतिस्पर्धामा उतारेको छ । रास्वपावाट अलग भएर आफैं उज्यालो नेपाल पार्टी बनाएर राजनीतिमा आएका कुलमान मैदानमा आउँदा उनी बस्ने बौद्ध महांकालका मतदाता तान्ने योजनामा छन् । तर संगठनका हिसाबले उनका चुनौती धेरै छन् । घिसिङको राजनीतिक वैचारिक एजेन्डाबारे समेत मतदाता प्रस्ट छैनन् । सबैभन्दा धेरै रास्वपासँगको मिलन र विछोडको प्रश्नबाट उनी नराम्ररी घेरिएका छन् ।

ताजा खबर

सम्बन्धित खबर