
रौतहट : रौतहटको वृन्दावन नगरपालिका–२ बिश्रामपुर बजारबाट नक्कली नेपाली नोट चलाउन खोज्ने दुई युवकलाई प्रहरीले रंगेहात पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्थानीय २९ वर्षीय दिनेश पटेल र सर्लाहीको बरहथवा नगरपालिका–१ का २० वर्षीय विवेक प्रसाद यादव रहेका छन् ।
प्रहरीका अनुसार बुधबार दिउँसो करिब ३ बजेतिर बीआर ३० एआर ७७५५ नम्बरको भारतीय मोटरसाइकलमा आएका उनीहरू विशाल किराना पसलमा पुगेका थिए । पसलबाट पेट्रोल खरिद गरेपछि उनीहरूले भुक्तानीस्वरूप एक हजार दरको नोट दिएका थिए । नोटको कागज र छपाइ शंकास्पद देखिएपछि पसल सञ्चालकले तत्काल प्रहरीलाई खबर गरेका थिए ।
सूचना पाउनासाथ प्रहरी चौकी बिश्रामपुरबाट खटिएको टोलीले उनीहरूलाई भाग्न नपाउँदै नियन्त्रणमा लिएको थियो । शरीर खानतलासी गर्दा दिनेश पटेलको खल्तीबाट एक हजार दरका १२ थान र मोबाइल कभरभित्र लुकाइ राखिएको थप २ थान नक्कली नोट बरामद भएको प्रहरीले जनाएको छ । दुवै जनाको साथबाट कुल १४ हजार रुपैयाँ बराबरका (१,००० दरका १४ थान) खोटा नोट र प्रयोग गरिएको मोटरसाइकल बरामद गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जानकारी दिएको छ ।
जिल्ला प्रहरी कार्यालय रौतहटका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक विष्णु प्रदीप बस्यालका अनुसार पक्राउ परेका दुवै जनालाई हिरासतमा राखी थप अनुसन्धान अघि बढाइएको छ ।
‘बजार क्षेत्रमा नक्कली नोटको कारोबार भइरहेको सूचनाका आधारमा प्रहरी सतर्क थियो,’उनले भने, ‘उनीहरू संगठित गिरोहका सदस्य हुन् वा भरिया मात्र, भन्ने विषयमा सूक्ष्म अनुसन्धान भइरहेको छ ।’
प्रहरीले सर्वसाधारणलाई आर्थिक कारोबार गर्दा नोटको वाटरमार्क, सुरक्षा धागो लगायतका सुरक्षा विशेषता ध्यानपूर्वक जाँच गर्न र शंकास्पद गतिविधि देखिएमा तत्काल नजिकको प्रहरी कार्यालयमा जानकारी गराउन आग्रह गरेको छ ।