२०८३ असोज २२ गते बिहिवार / Oct 08 , 2026 , Thursday
२०८३ असोज २२ गते बिहिवार

रौतहटमा सर्वपक्षीय पाँच बुँदे सहमति, सोमबार सद्भाव र्‍याली निकालिने

Nada
सत्येन्द्र प्रताप सिंह
२०८२ फागुन १० गते १६:२३
Shares
रौतहटमा सर्वपक्षीय पाँच बुँदे सहमति, सोमबार सद्भाव र्‍याली निकालिने

रौतहट : रौतहटको सदरमुकाम गौर नगरपालिका–६ सबगढामा केही दिनयता उत्पन्न धार्मिक तथा सामाजिक तनावलाई नियन्त्रणमा लिन सर्वपक्षीय बैठकले पाँच बुँदे निर्णय गरेको छ । जिल्ला प्रशासन कार्यालयमा सम्पन्न बैठकले बिग्रँदै गएको परिस्थितिलाई सुधार गर्दै जिल्लामा शान्ति र सुव्यवस्था कायम गर्न सोमबार सद्भाव र्‍याली आयोजना गर्ने निर्णय गरेको हो ।

ncell

गत फागुन ७ गते रातिदेखि सबगढामा सुरु भएको सामान्य विवाद फागुन ८ गतेबाट उग्र बनेको थियो । स्थानीय प्रतिनिधि र समुदायका अगुवाबीच छलफल गरी ६ बुँदे सहमति जुटाइए पनि फागुन ९ गते बिहानैदेखि अवस्था पुनः जटिल बनेपछि जिल्ला सुरक्षा समितिले सोही दिन दिउँसो १ बजेदेखि कर्फ्यु आदेश जारी गरेको थियो । हालसम्म कर्फ्यु यथावत रहेको छ ।

घटनाका क्रममा भएका उच्छृङ्खल गतिविधिप्रति खेद प्रकट गर्दै शान्तिपूर्ण वातावरण कायम गर्न सरोकारवाला सबै पक्षबाट साझा सार्वजनिक अपिल जारी गर्ने, सबगढा विवाद समाधानका लागि दुवै पक्षका स्थानीय भद्रभलादमी र अगुवाहरूलाई सहभागी गराई जिल्ला सुरक्षा समितिले औपचारिक तथा अनौपचारिक संवादलाई तीव्रता दिने, अन्तर्राष्ट्रिय स्तरका पुराना वा बाह्य घटनालाई रौतहटसँग जोडेर सामाजिक सञ्जालमा भ्रम फैलाउनेहरूमाथि कडा निगरानी राख्ने, धार्मिक तथा सामाजिक सद्भाव विथोल्ने प्रयास गर्ने व्यक्तिको पहिचान गरी कानुनी कारबाही अघि बढाउन प्रहरी प्रशासनलाई आग्रह गर्ने र जिल्लाभर सकारात्मक सन्देश प्रवाह गर्न नागरिक समाजको अगुवाइमा सोमबार बिहान ७:३० बजे सबगढामा बृहत् सद्भाव र्‍याली आयोजना गर्ने निर्णय भएको छ ।

बैठकमा सहभागी पक्षहरूले शान्ति र सामाजिक सौहार्द जोगाउन आ–आफ्नो क्षेत्रबाट सक्रिय सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।

जिल्ला प्रशासनले हालको संवेदनशील परिस्थितिलाई मध्यनजर गर्दै कुनै पनि उत्तेजक गतिविधिमा संलग्न नहुन तथा अफवाहमा विश्वास नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ । सोमबार आयोजना हुने सद्भाव र्‍यालीले बिग्रिएको सामाजिक सम्बन्ध पुनः सुदृढ गर्दै रौतहटमा शान्ति र एकताको सन्देश फैलाउने अपेक्षा गरिएको छ ।

ताजा खबर

सम्बन्धित खबर