
काठमाडौं : संखुवासभाका मानबहादुर थापा ओमन उड्दैथिए । सोमबार बिहान ९ः२५ बजेको टिकट लिएर उनी काठमाडौं आउँदैथिए । दुई महिने बिदामा घर आएका उनी आईतवार साँझ पोखराबाट काठमाडौं आउने रात्रिबस चढे । घरपरिवार छोडेर बैदेशिक रोजगारीको लागि जाँदा त्यसै पनि मन भारी थियो । रातको १ बजे उनी झुपुक्क निदाउनै लागेका थिए, बसभित्र एकैपटक यात्रुहरु चिच्याउन थाले । झसंग भएर उठ्दा गाडी सडकदेखि तल त्रिशूली नदिको किनारमा खस्यो ।
‘बस खसेकोसम्म थाह छ, त्यसपछि म बेहोस भएछु,’ त्यो कहालीलाग्दो क्षण सुनाउँदै थापा भन्छन्, ‘होसमा आउँदा म अस्पतालको बेडमा थिएँ ।’
उनको टाउको, नाक र घाँटीसहित शरीरभरी चोट लागेको छ । राष्ट्रिय ट्रमा सेन्टरमा उपचार गराइरहेका उनी होसमा आएपछि उडान सम्झेर पुनः झस्किए । ओमानको फ्लाइट त अघि नै छुटिसकेको थियो । भन्छन्, ‘ओमन पुग्नेबेलामा म अस्पतालको बेडमा छु ।’ अस्पतालमा उनलाई भाईले साथ दिईरहेका छन् । घरमा एक छोरा, छोरी र श्रीमतीलाई छोडेर उनी ओमन जाँदै थिए । टाउको र घाँटीको चोटले उनी राम्रोसँग बोल्न सक्दैनन् । अब उनलाई विदेशको भिसाको चिन्ता छैन । बरु आफ्नो शरीर पहिलेको जस्तै हुने हो वा होईन् भन्ने चिन्ता छ । ट्रमा अस्पतालको इमरजेन्सी वार्डमा थापासहित बस दुर्घटनाका घाइतेहरुको उपचार भईरहेको छ ।
तीन दिनको पोखरा घुमफिरपछि काठमाडौँ फर्किदै थिईन्, तनहुँकी स्वर्णिमा खत्री । बसको सिट भरिभराउ भएपछि उनी क्याविनमा थिईन् । ‘मलगायत अन्य केही प्यासेन्जर गाडी क्याविनमै थियौँ्, ड्राईभरले राम्रो गाडी चलाउनु भएको थियो,’उनी घटना सम्झिन्छिन्, ‘गाडी एक्कासी सडक छोडेर नदिमा खस्न थालेपछि बल्ल थाहा पायौँ ।’ उनी विद्यार्थी हुन् । उनको शरिरमा चोट लागेको छ । बस त्रिशूलीमा खस्दा आफू बाँच्छुजस्तो नलागेको उनी बताउँछिन् । एकै पटक ट्रमा सेन्टरमा आएपछि बल्ल होस खुलेको थियो ।
बस दुर्घटनाका घाइतेको उपचारले ट्रमा सेन्टरमा आफन्तको भिड थियो । गेटमा अर्को दुःखद खबर थियो । एमेरजेन्सी वार्डको गेटमा उपचारार्थ भर्ना भएकामध्ये एक जना यात्रुको मृत्यू भएको घोषणा थियो । ती व्यक्तिको सनाखतसमेत भएको थिएन् । सेन्टरले सोमबार बिहान ६ बजेर १० मिनेटमा मृत्यू भएको जनाएको छ । उनीसँगै सेन्टरमा १४ घाईतेले उपचार गराईरहेका छन् ।
सोमबार राती पोखराबाट काठमाडौँतर्फ आउँदै गरेको यात्रुवाहक बस धादिङमा दुर्घटना हुँदा १९ जनाले ज्यान गुमाएका छन् । १७ जनाले घटनास्थलमै र दुई जना उपचारको क्रममा ज्यान गुमाएका हुन् । जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार, बेनिघाट रोराङ गाउँपालिका क्षेत्रअन्तर्गत चरौंदीनजिक भैंसेडाँडा स्थानमा ग.२ ख. १२३१ नम्बरको सो बस सडकबाट अनियन्त्रित भई दुर्घटनाग्रस्त भएको थियो । घाइतेमध्ये ट्रमा सेन्टरमा १४ जना, नेशनल अस्पतालमा १० जना तथा त्रिवि शिक्षण अस्पतालमा एक जना गरी २५ जनाको उपचार जारी रहेको छ । प्रहरीले मृतकको पहिचान तथा घटनाको विस्तृत विवरण संकलन गर्ने कार्य जारी राखेको जनाएको छ ।
यसैबीच, गृहमन्त्री ओमप्रकाश अर्याल घाइतेहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिन सोमबार दिउँसो अस्पताल पुगेका थिए । उनले कलंकीस्थित नेपाल नेसनल अस्पताल र ट्रमा सेन्टरमा उपचाररत घाइतेहरूसँग भेटवार्ता गरी आवश्यक स्वास्थ्य सेवाका विषयमा जानकारी लिएका थिए । गृह मन्त्रालयले घाइतेहरुको उपचारलाई प्राथमिकता दिएर प्रभावकारी बनाउने, घटनाको सत्यतथ्य पत्ता लगाउन दुर्घटना जाँचबुझ समिति गठन गरी शीघ्र प्रतिवेदन बुझाएर यथाशीघ्र कार्यान्वयन गर्ने निर्णय गरेको छ । यातायात क्षेत्रको नियमनलाई प्रभावकारी बनाउँदै नियामक निकाय र बस व्यवसायी समितिलाई जिम्मेवार बनाउने पनि बैठकले निर्णय गरेको छ ।