२०८२ फागुन २६ गते मङ्गलवार / Mar 10 , 2026 , Tuesday
२०८२ फागुन २६ गते मङ्गलवार
Ads

सिट २७५, मैदानमा ६६४१ उम्मेदवार 

shivam cement
दिवाकर अधिकारी
२०८२ फागुन १९ गते ०६:३०
Shares
सिट २७५, मैदानमा ६६४१ उम्मेदवार 

काठमाडौं : आगामी बिहीबार हुने निर्वाचनबाट २७५ जना प्रतिनिधिसभा सदस्य निर्वाचित हुनेछन् । १६५ जना प्रत्यक्ष निर्वाचित हुन्छन् भने समानुपातिकतर्फबाट ११० जना चुनिन्छन् ।  

प्रत्यक्ष निर्वाचित हुने १६५ सिटका लागि ३ हजार ४०६ उम्मेदवार चुनावी मैदानमा रहेका छन् । जसमा ३ हजार १७ पुरुष, ३८८ महिला र एक अन्य गरी तीन हजार ४०६ उम्मेदवार छन् । उनीहरू ६१ वटा निर्वाचन चिह्नमा ६५ वटा राजनीतिक दलका तर्फबाट प्रतिस्पर्धा गर्दैछन् । 

समानुपातिकतर्फबाट निर्वाचित हुने ११० सिटमा ३ हजार १३५ जना उम्मेदवार छन् । यसमा एक हजार ३६३ पुरुष र एक हजार ७७२ महिला गरी तीन हजार १३५ उम्मेदवार प्रतिस्पर्धामा छन् । 

निर्वाचनमा ९६ लाख ६३ हजार ३५८ पुरुष, ९२ लाख ४० हजार १३१ महिला र २०० अन्य गरी एक करोड ८९ लाख तीन हजार ६८९ मतदाता छन् । एक लाख ८६ हजार १४२ अस्थायी मतदाता कायम भएका छन् । 

निर्वाचनका लागि देशभर १० हजार ९६७ मतदान स्थलमा २३ हजार ११२ मतदान केन्द्र निर्धारण गरिएको छ । १४३ अस्थायी मतदानस्थल तय गरिएको छ । निर्वाचन सुरक्षाका लागि ७९ हजार ७२७ नेपाली सेना, ७५ हजार ७९७ नेपाल प्रहरी, ३४ हजार ५६७ सशस्त्र प्रहरी बल, एक हजार ९२१ राष्ट्रिय अनुसन्धान र एक लाख ४९ हजार ९० निर्वाचन प्रहरी खटिएका छन् । 

निर्वाचन दुई लाख १५ हजार कर्मचारी खटिँदैछन् । आयोगले प्रत्यक्ष र समानुपातिकतर्फ कुल चार करोड २२ लाख ५१ हजार २ सय मतपत्र छापेको छ । चार अन्तर्राष्ट्रिय र ३९ राष्ट्रिय संस्था निर्वाचन पर्यवेक्षण गर्दैछन् । 

यसबीचमा कतिपय उम्मेदवारले आफ्नो उम्मेदवारी निष्क्रिय पारेका छन् । निर्वाचन आयोगका अनुसार उम्मेदवारी फिर्ता लिने समय सकिएकाले अब कसैले आफ्नो उम्मेदवारी निष्क्रिय गरे पनि मतपत्रमा कायम रहनेछ ।

निर्वाचन आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीका अनुसार आगामी बिहीबार हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि निर्वाचनको व्यवस्थापन र कर्मचारी खटनपटनका सबै काम सम्पन्न भइसकेका छन् । मतदान अधिकृतहरू पनि मतदान केन्द्र र स्थलमा गइसकेका छन् । मतदानको प्रक्रियाका लागी आवश्यक सामग्रीहरू पनि सबै पुगिसकेका छन् । 

मतदानअघिको ४८ घण्टादेखि मतदानको दिन मतदान केन्द्र बन्द नहुन्जलेसम्म आयोगले प्रचारप्रसार निषेध अवधि तोकेको छ । निर्वाचन व्यवस्थापनका क्रममा यो अवधिको विशेष अर्थ र महत्व रहन्छ । यो अवधिमा राजनीतिक दल, उम्मेदवार, सञ्चारकर्मी, सञ्चारमाध्यम, मतदातालगायत सरोकारवाला सबै पक्षले पालना गर्नुपर्ने विशेष आचरण तोकिएको छ । 

निर्वाचन आयोगका अनुसार कुनैपनि निर्वाचनमा उम्मेदवारी मनोनयन पछि औपचारिक रूपमा प्रचारप्रसार अवधि तोक्ने गरिन्छ । यसअन्तर्गत यही फागुन ४ गतेदेखि १८ गतेसम्मका लागि निर्वाचन प्रचारप्रसारको समय निर्धारण गरिएको थियो । सोमबार राति १२ बजेबाट मौन अवधि सुरु भएको हो  । यो मतदानको प्रक्रिया सुरु भएर सम्पन्न नभएसम्म कायम रहन्छ । 

प्रचारप्रसार निषेध अवधिमा निर्वाचन प्रचारप्रसार लगायत कुनै पनि प्रकारका छलफल, अन्तरक्रिया, सभा सम्मेलन, कार्यशाला गोष्ठी आदि गर्न पाइँदैन । कुनैपनि निर्वाचन प्रचारप्रसारको सामग्री तुल, पोस्टरहरू राखेको छ भने त्यो हटाउनुपर्छ । मौन अवधिमा एसएमएस, फेसबुक, भाइबरजस्ता विद्युतीय माध्यमद्वारा प्रयोग गरिने सामाजिक सञ्जालमार्फत मत माग्न र निर्वाचन प्रचारप्रसार गर्न पाइँदैन । 

सम्बन्धित खबर