
काठमाडौं : नेपालमा नौ वटा आम चुनाव भए । विगतका पछिल्ला चुनावहरूमा एउटा ठूलो शक्तिको रुपमा रहँदै आएको कम्युनिष्ट शक्ति यसपटक खुम्चिने अनुमान गरिएको छ ।
२०१५ साल फागुन ७ गते देशमा भएको पहिलो आमनिर्वाचनमा कांग्रेसले दुईतिहाइ मत पाएको थियो । त्यसबेला कांग्रेसले ७४ सिट जित्दा नेपाली कम्युनिष्ट पार्टीको ४ सिट थियो । उक्त संसद् लामो समय चलेन । २०१७ सालमा तत्कालीन राजा महेन्द्रले कु गरेर पञ्चायती शासन सुरु गरे । या व्यवस्था ३० वर्ष चल्यो । २०४६ सालमा प्रजातन्त्र पुर्नस्थापना भएपछि २०४८ मा आम निर्वाचन भयो । त्यसबेला पनि कांग्रेसले दुइ तिहाइ बहसमत ल्यायो । कांग्रेसले ११० सिट जित्दा नेकपा एमालेले ६९ सिट जित्यो । अर्थात्, दोस्रो ठूलो दल भएर कम्युनिष्ट बलियो दलको रुपमा उदायो । त्यसबेला एमाले बाहेकका कम्युनिष्ट दलहरू संयुक्त जनमोर्चाले ९, नेमकिपा र नेकपा प्रजातन्त्रवादीले २-२ सिट ल्याएका थिए ।
त्यसबेला देखि नै नेपालमा कम्युनिष्टको प्रभाव बढेको हो । तर, २०४८ को संसद् पुरै कार्यकाल चल्न सकेन । २०५१ मा मध्यावधि चुनाव भयो । मध्यावधि चुनावमा ८८ सिट ल्याएर सबैभन्दा ठूला दल बन्यो । ८३ सिट सहित कांग्रेस दोस्रो भयो । अर्को कम्युनिष्ट दल नेमकिपाले ४ सिट पाएको थियो ।
२०५६ को चुनावमा १११ सिट ल्याएर कांग्रेसले बहुमतमा पुग्यो । ७१ सिटसहित एमाले दोस्रो भयो । यसबाहेक कम्युनिष्ट दलहरू राष्ट्रिय जनमोर्चाले ५, संयुक्त जनमोर्चा र नेमकिपाले एक/एक सिट पाए ।
२०६४ को संविधानसभा सदस्य निर्वाचनबाट नेकपा माओवादी २२० सिट सहित पहिलो दल बनेको थियो । नेकपा एमालेले १०३ सिट जितेको थियो । ६१० सदस्यीय संविधानसभामा त्यसबेला कांग्रेसले ११० सिट जितेको थियो ।
अन्य कम्युनिष्ट दलहरूमध्ये नेकपा मालेको ९, जनमोर्चाको ८, नेकपा एकीकृत र नेमकिपाको ५÷५ र नेकपा संयुक्तको २ सिट थियो ।
पहिलो संविधानसभाले संविधान बनाउन सकेन । २०७० सालको दोस्रो संविधान सभामा २०६ सिट ल्याएर कांग्रेस पहिलो दल बन्यो । एमाले १८४ सिटसहित दोस्रो र माओवादी ८३ सिटसहित तेस्रो भयो । यसबाहेक कम्युनिष्ट दलहरूमा नेकपा मालेले ५, नेमकिपा ४, राष्ट्रिय जनमोर्चा र नेकपा संयुक्तले ३/३ सिट ल्याए ।
२०७४ मा एमालेले १२१ सिट ल्याएर पहिलो दल बन्दा माओवादीले ५३ सिट पाएको थियो । त्यसबेला कांग्रेसले ६३ सिट पाएको थियो ।
२०७९ सालको निर्वाचनमा नेपाली कांग्रेस ८९ सिट सहित पहिलो दल बन्दा एमाले ७९ सिटसहित दोस्रो भयो । माओवादी ३२ सिटमा खुम्चियो । नेमकिपा र जनमोर्चाले एक÷एक सिट ल्याए ।
तर यसपटकको निर्वाचनमा भने परिस्थिति केही फरक देखिन्छ । वाम दलहरूबीचको विभाजन, गठबन्धन राजनीति, नयाँ दलहरूको उदय तथा मतदातामा बढ्दो असन्तुष्टिका कारण कम्युनिष्ट दलहरूको मत हिस्सा घट्न सक्ने अनुमान गरिएका हो । यद्यपि, नेपालमा वाम राजनीतिक धाराको ऐतिहासिक जनाधार बलियो भएकाले मत कति घट्छ भन्ने कुरा भने निर्वाचन परिणामपछि मात्र स्पष्ट थाहा लाग्नेछ ।