२०८२ चैत १० गते मङ्गलवार / Mar 24 , 2026 , Tuesday
२०८२ चैत १० गते मङ्गलवार
Ads

इनिशा मृत्यु प्रकरण : सकिएन अनुसन्धान, उठेन शव

shivam cement
सपना बोहरा
२०८२ चैत १० गते ०६:३०
Shares
इनिशा मृत्यु प्रकरण : सकिएन अनुसन्धान, उठेन शव

काठमाडौं : सुर्खेतमा १६ वर्षीया इनिशा विकको बलात्कारपछि हत्या भएको तीन साता भइसक्दासमेत पीडित परिवारले शव बुझेको छैन । उनको शव कर्णाली प्रदेश अस्पतालमा राखिएको छ । 

यस प्रकरणमा संलग्न अभियुक्तहरूको बयान सकिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, घटनाको विभिन्न कोणबाट अनुसन्धान भइरहेको छ । सिसिटिभी फुटेजमा बिहान ६ बजेतिर इनिशा र १६ वर्षीय किशोर मात्र सामुदायिक वनमा गएको देखिएको छ । ८ बजेपछि अरू तीन किशोर पनि घटनास्थलमा पुगेको देखिन्छ । किशोरहरूले प्रहरीलाई दिएको बयान सत्य हो वा झुटो पत्ता लगाउन पोलिग्राफ परीक्षण पनि गरिने जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख सुधीरराज शाही बताउँछन् । त्यसका लागि नेपालगन्जबाट पोलिग्राफ टोली सुर्खेत पुगिसकेको छ ।

फरेन्सिक ल्याबमा पीडित र पीडक दुवैको मोबाइललगायत विद्युतीय सामाग्रीहरू अनुसन्धानका लागि पठाएकोमा रिपोर्ट आइनपुगेको शाहीले बताए । केन्द्रीय विधिविज्ञान प्रयोगशालाबाट पनि रिपोर्ट आएको छैन । रिपोर्ट आउन अझै एक महिना लाग्न सक्ने उनी बताउँछन् । पोलियोग्राफीले बयानमा झुटो बोलेको भए पत्ता लगाउने उनको भनाइ छ । ‘मृत्युको कारण पत्ता लगाउन घटनास्थलबाट संकलित सम्पूर्ण प्रमाणहरू प्रयोगशालामा पठाइएको छ,’ उनले भने, ‘घटनाको वैज्ञानिक तरिकाले अनुसन्धान भइरहेको छ ।’

सो घटनामा प्रहरीले विभिन्न कोणबाट अनुसन्धान पूरा गरिसके पनि फरेन्सिक रिपोर्ट आउन बाँकी रहेकाले निष्कर्षमा पुग्न नसकिएको उनी बताउँछन् । ‘अभियुक्तहरूको बयान सकिएको छ, फरेन्सिक रिपोर्ट आएपछि अनुसन्धान निष्कर्षमा पुग्छ,’ प्रहरी उपरीक्षक शाहीले भने ।

इनिशा मृत्यु प्रकरणको थप अनुसन्धान गरेको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले पनि अनुसन्धान अन्तिम चरणमा रहेको जनाएको छ । ‘इनिशाको मृत्यु प्रकरणको अनुसन्धान भइरहेको छ,’ सिआइबीका प्रवक्ता शिवकुमार श्रेष्ठले भने, ‘फरेन्सिक रिपोर्ट आउन बाँकी रहेकाले केही ढिलाइ भएको छ ।’ यद्यपि, अनुसन्धानको कुनै समयसीमा नहुने उनी बताउँछन् । अनुसन्धानमा कुनै कमी नराखी सूक्ष्म र वैज्ञानिक तरिकाले काम भइरहेको उनले जानकारी दिए ।   

उषा बालवाटिका विद्यालयमा कक्षा ११मा अध्ययनरत इनिशाको सामूहिक बलात्कारपछि हत्या भएको दाबी गर्दै परिवारले दोषीलाई कारबाहीको माग गर्दै आएको छ । घटनामा संलग्नताको आरोपमा किशोरीका १६ वर्षीय साथीसहित चारजनालाई पक्राउ गरी जबरजस्ती करणी र कर्तव्य ज्यानसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाइएको छ । 

फागुन २३ गते इनिशा सामुदायिक जंगलमा मृत अवस्थामा भेटिएकी थिइन् । सुर्खेतको गुर्भाकोट–८ घर भएकी १६ वर्षीया इनिशा वीरेन्द्रनगरमा बस्दै आएकी थिइन् । उनको पोस्टमार्टम गरेको फरेन्सिक विशेषज्ञ डा. अर्विन शाक्यको टोलीले यौन सम्बन्धका लागि जबर्जस्ती गर्दा मृतकको संवेदनशील अंग च्यातिएको र अत्यधिक रक्तश्राव भई मृत्यु भएको हुनसक्ने रिपोर्ट दिएको छ । रिपोर्टको व्याख्यामा जेनाइटल पार्टहरू (यौनांगभित्रको हाइमनदेखि पाठेघरसम्म)मा चोट लागेका कारण अत्यधिक रक्तश्राव भएको उल्लेख छ ।

सम्बन्धित खबर