
काठमाडौं : युरोपमै पहिलोपटक आयोजना हुन लागेको इयू टी-२० लिगमा नेपालका आठ खेलाडी विभिन्न फ्रेन्चाइज टोलीमार्फत सहभागी हुने भएका छन् । आगामी जुन ६ देखि १४ सम्म बेल्जियममा सञ्चालन हुने यस प्रतियोगिताले नेपाली क्रिकेटलाई अन्तर्राष्ट्रिय स्तरमा नयाँ अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ ।
नेपाली राष्ट्रिय टोलीका कप्तान रोहित पौडेल र उपकप्तान दीपेन्द्र सिंह ऐरीसहित कुल ८ खेलाडी लिगका विभिन्न टोलीमा आबद्ध भएका हुन् । प्रि-साइनमार्फत दीपेन्द्रलाई जेबी ब्रुग्स र सन्दीप लामिछानेलाई लियेज रेड लायन्सले अनुबन्ध गरेको थियो ।
हालै सम्पन्न ड्राफ्टमार्फत कप्तान रोहित पौडेल घेन्ट ग्लाडियटर्समा अनुबन्ध भए । यस्तै विकेटकिपर आसिफ शेख एन्टवर्प एंकर्समा परेका छन् । जेबी ब्रुग्सले भने ललित राजवंशी र इशान पाण्डेलाई ड्राफ्टबाट छनोट गर्दा अनिल साह र गुल्शन झालाई अप्सनल राउन्डमार्फत समेटेको छ । यससँगै उक्त टोलीमा मात्रै पाँच नेपाली खेलाडी रहेका छन् ।
जेबी ब्रुग्स नेपाल प्रिमियर लिग (एनपिएल) को विजेता जनकपुर बोल्ट्ससँग सम्बन्धित ड्रिम स्पोर्ट्सको स्वामित्वमा रहेको फ्रेन्चाइज हो । उक्त टोलीले यसअघि नै अन्तर्राष्ट्रिय स्टार खेलाडीहरू कलिन मनरो, राशी भान डेर डुसेन, वायन पार्नेल लगायतलाई पनि अनुबन्ध गरिसकेको छ ।
लिगका लागि कुल २२ नेपाली खेलाडीले नाम दर्ता गराएका थिए, जसमा कुशल भुर्तेल, करण केसी, सोमपाल कामी, शरद भेषावकर, कुशल मल्ल, भीम सार्की लगायतका खेलाडी समावेश छन् । यद्यपि, तीमध्ये ८ जना मात्रै प्रारम्भिक चरणमा टोलीमा पर्न सफल भएका छन् ।
यस प्रतियोगिता ललित राजवंशी, आसिफ शेख र इशान पाण्डेका लागि भने पहिलो विदेशी फ्रेन्चाइज लिग हुनेछ । रोहित, दीपेन्द्र र सन्दीपले यसअघि विभिन्न अन्तर्राष्ट्रिय लिगमा सहभागिता जनाइसकेका छन् ।
लिगमा सहभागी प्रत्येक टोलीले सुरुमा पाँच खेलाडी ‘प्रि-साइन’ गरिसकेका थिए । त्यसपछि सात चरणमा सम्पन्न ड्राफ्टमार्फत थप खेलाडी चयन गरिँदा प्रत्येक टोलीमा १२ खेलाडी पुगे । त्यसपश्चात् बेल्जियमका कम्तीमा चार स्थानीय खेलाडी अनिवार्य रूपमा समावेश गर्नुपर्ने नियमअनुसार टोली संख्या १६ पुगेको हो ।
टिमहरूले चाहेको खण्डमा अप्सनल राउन्डमार्फत थप दुई खेलाडी लिन पाउने प्रावधान पनि थियो, जसअन्तर्गत अनिल साह र गुल्शन झा जेबी ब्रुग्समा समेटिएका हुन् । प्रत्येक टोलीमा न्यूनतम १६ र अधिकतम १८ खेलाडी रहने व्यवस्था गरिएको छ ।
लिग आयोजकका अनुसार प्रत्येक फ्रेन्चाइजलाई करिब १ लाख ८३ हजार पाउन्ड स्टर्लिङ (झन्डै ३ करोड ३० लाख रुपैयाँ) बराबरको तलब बजेट छुट्याइएको छ । खेलाडीहरूको व्यक्तिगत पारिश्रमिक १ हजार ५०० देखि २२ हजार पाउन्ड (करिब २ लाख ७० हजारदेखि ४० लाख रुपैयाँ) सम्म रहनेछ ।
यद्यपि, नेपाली खेलाडीहरूको वास्तविक सम्झौता रकम भने हालसम्म सार्वजनिक गरिएको छैन । आयोजकले छिट्टै विस्तृत विवरण सार्वजनिक गर्ने जनाएको छ ।
६ टोली सहभागी हुने यस लिगमा विश्व क्रिकेटका चर्चित नामहरू क्रिस लिन, सोएब मालिक, फाफ डु प्लेसिस, कोरी एन्डरसन, एन्ड्रे रसेल लगायत सहभागी हुनेछन् ।
राउन्ड–रोबिन र प्लेअफ ढाँचामा सञ्चालन हुने प्रतियोगितामा नेपाली खेलाडीले उच्चस्तरीय प्रतिस्पर्धा अनुभव गर्ने अवसर पाउनेछन् ।
एकै पटक यति धेरै नेपाली खेलाडी विदेशी फ्रेन्चाइज लिगमा आबद्ध हुनु नेपाली क्रिकेटका लागि ऐतिहासिक उपलब्धिका रूपमा हेरिएको छ । जनकपुर बोल्ट्सका मालिक उत्सव सिग्देलले पनि जेबी ब्रुग्समार्फत नेपाली प्रतिभालाई अन्तर्राष्ट्रिय एक्सपोजर दिलाउने लक्ष्य रहेको बताएका छन् ।
समग्रमा, इयू टी–२० लिगले नेपाली क्रिकेटलाई युरोपेली मैदानमा स्थापित गराउने मात्र होइन, खेलाडीहरूको व्यक्तिगत करिअर विकासका लागि समेत महत्वपूर्ण मञ्च बन्ने विश्वास गरिएको छ ।