– खिमराज गिरी
गठबन्धनका नेता सबैलाई एकमुष्ठमा अभिवादन, नमस्कार, जय नेपाल !
सायद, तपाईं गठबन्धनका नेताहरुलाई अचम्म लाग्छ होला, यदि यो पत्र पढ्नुभयो भने । गत साल असार अन्तिमदेखि केपी शर्मा ओलीको बहुमतको सरकारलाई गिराएर सर्वोच्च अदालतको परमादेशबमोजिम गठबन्धनको सरकार चलेको पनि आज करिब ११ महिना भइसकेछ । यो ११ महिनाको अवधिमा यो सरकारको विकास तथा जनताको लागि राहतको हिसाब किताब गर्ने हो भने शुरूका दिनमा विभिन्न राजनीतिक पार्टीको गठजोड सरकार भएकोले तपार्इंहरुविचमा शक्ति र पदको बाँडफाँडमा नै दिन वित्यो । नेपालको राजनीति भागबण्डामै आधारित हो भन्ने भरपर्दो प्रमाण पनि तपाईंहरुले दिनुभएको छ । प्रदेश सरकार गठन गर्दा भागबण्डा नमिलेर मन्त्रालय आठबाट सोह्रसम्म बनाइयो । तैपनि सम्बन्धित मन्त्रालयका मन्त्रीहरुको कार्यकक्ष नभएर एउटा घरमा सात वटासम्म मन्त्रालयको बोर्ड टाँसियो तर, जनताको काममा ध्यानै दिइएन । पाँच दलको सरकार भएकोले सधैँ नै एकाआपसमा बेमेल भएर सरकार ढल्ने हो कि भन्ने डरले त्राही त्राही महादेव भने झैं न त विकासको काममा ध्यान दिइयो, न त जनताको राहतको लागि केही कदम चालियो । कदम चालियो त केवल पार्टीमा धुप धुँवार गर्नेहरुको लागि । तपाईंहरु विदेश र स्वदेशमा भएका राजदूत र संवैधानिक निकायदेखि लिएर विभिन्न विभागमा पदको बाँडफाँट गर्नमै व्यस्त हुनुभयो । महाकालीमा दिन दहाडै भारतीय एसएसबी टोलीले धामीजस्ता निरीह जनताको हत्या गर्दा पनि अन्तर्राष्ट्रिय शक्तिको आडमा चलाएमान भएका तपाईंहरुले न त भारतसँग एक शब्द बोल्न सक्नुभयो, न त उनका परिवारले राहत पाए । दिनदहाडै कयौँ चेलीहरु बलात्कृत भएका छन्, कयौं मजबुरीको कारणले बेचिन बाध्य छन्, कयौँ युवाहरु विदेश पलायन भएका छन्, तर तपाईँहरु भने गठजोड सरकार ढल्छ कि भन्ने चिन्ताले ग्रस्त हुनुहुन्छ ।
यतिका महिना सरकार चलाईरहँदा आज हरेक सामानको मूल्य बढेर आकाशिएको छ । न त जनतालाई राहतको कुनै प्याकेज छ, न त विकासको काम नै । आज करिब एघार महिनामा ११७ प्रतिशतसम्म मूल्यवृद्धि भएको छ । न त विद्यार्थीले किताब पाएका छन्, न त कृषकले मल पाए । न त उद्योगीलाई ऋण छ, न त युवालाई रोजगारी । न त छिमेकी राष्ट्लाई विश्वासमा लिन सकेको छ यो सरकारले । न त गरिबले न्याय पाउन सके, न त बलात्कारीलाई कारबाहीको दायरामा ल्याउन सक्यो, न त कालाबजारीयाहरुलाई नियन्त्रणमा । अझ बाढीपहिरोले आहात जनता कठीन यात्रा गर्न बाध्य छन् । अति प्राथमिकतामा पर्ने जनताको धन र जनको भय हुने खोला नियन्त्रण प्याकेजमा सरकारको ध्यान गएको देखिदैन । प्रधानमन्त्रीजस्तो गरिमामय पदमा आसीन व्यक्ति विदेशी पाहुनाको अगाडि र्याल चुहाउँछन् र उठन नसकेर स्वयम् भारतीय प्रधानमन्त्रीले उठाउनु पर्दछ । यस्ता निर्बल र निरीह प्रधानमन्त्रीवाट देश र जनताले विकास र समृद्ध मुलुकको आश कसरी गर्न सकिन्छ ?
मन्त्री पदमा बहाल रहेका व्यक्तिहरुले कहिले कोसँग कस्तो व्यवहार गर्ने, विकास र जनताको राहतको लागि के–कस्ता कार्य गर्र्ने भन्ने योजना र दृष्टिकोण नै छैन । कोही मन्त्री रेष्टुरेण्टमा एक रात डिनर खाएको बिल पाँच लाखको निकाल्छन् त कोही मन्त्री मेरो पोइ खोइ भन्दै अर्काको घरमा सुरक्षाकर्मी लिएर अर्काकी श्रीमतीलाई तनाब दिन जान्छन् । कोही मन्त्री जे पायो त्यहि छाडा शब्दहरु प्रयोग गर्दै हिँड्छन् । विगतमा छात्राहरुबारे केही अपशब्द बोले भनेर पूर्वकानुनमन्त्री शेरबहादुर तामाङ्गले राजीनामा दिए भने उता आफुलाई मेसिन खरिद प्रकरणमा अनावश्यक चार्ज गरियो भनेर पूर्वसंचारमन्त्री गोकुल बास्कोटाले पनि नैतिकताको आधारमा राजीनामा दिएका थिए । तर, ती आरोपहरु पुष्टि हुन नै सकेनन् । तर, अहिले देशको अर्थतन्त्र टाट पल्टाउने मन्त्री, अर्काको लोग्नेलाई मेरो लोग्ने भनि मानसिक सन्तुलन ठीक नभएकोजस्तो व्यवहार गर्ने मन्त्री, समाजमा पाच्य नहुने अपशब्दहरु बोल्दै हिँड्ने मन्त्रीहरुले आचरण शुद्धताको लागि पनि राजीनामा दिनपर्ने कि नपर्ने ? त्यसैले त होला, अहिले बजारमा गीत पनि बजिराखेको छ कि, ‘सरकारलाई त छ रङ्गीचङ्गी, जनतालाई ढाड सेक्ने महँङ्गी’ । यसरी एकातिर महँङ्गीले जनताको दैनन्दिनी कष्टकर बनाइराखेको छ भने अर्कोतिर सरकारमा सामेल हुने तपाईं नेताहरु विदेशी देवताहरुलाई खुशी पारिराख्नको लागि जनताको व्यापक विरोध हुँदाहुँदै पनि एमसीसी सम्झौता पास गरेरै छोड्नुभयो । एमसीसी पास गर्दा भविष्यमा हुने सम्भाव्य खतरालाई मध्यनजर राख्दै कयौं विद्धानहरुद्धारा विरोधका आवाजहरु पनि नउठाइएका होइनन् तथापी “भविष्यमा अमेरिकन सेना नेपाल आए भने मलाई चारपाटा मुढेर थानकोट कटाइयोस्” भन्ने माननीय जब दक्षिण प्रशान्त क्षेत्र हेर्ने अमेरिकी सैन्य प्रमूख नेपाल आएर एसपीपी सम्झौता लागू गर्न खोजे र गठजोडका प्रधानमन्त्री पनि तयार भए तब उनीहरुको होश हवाश उड्यो र केही दिन गायव भए । गठबन्धनका नेताहरु प्रतिपक्षीलाई दोष देखाएर उम्कीए । यदि तत्कालिन सत्ता पक्ष अहिलेको प्रतिपक्षीको पालामा योसम्झौता अघि बढाइएको हो भने सन् २०१९ मा एक सहसचिवको संयोजकत्वमा सुझाव आयोग गठन भएर उसको सुझाबअनुसार यो सम्झौता ठीक छैन भनेर नै तत्कालिन सरकारले यसलाई अगाडि बढाउन रोक लगाएको थियो ।
सत्ता साझेदार एकीकृत समाजवादीको कारण फुटेको एमालेले अहिले स्थानीय चुनावमा केही सिट गुमाएको अवस्था छ तर, एकीकृत समाजवादी आफु पतन हुँदा पनि रुखमा चढेर फेद ढाल्न तम्सिइराखेको देखिन्छ । उता माओवादी केन्द्रले विगतमा सडकमा एमसीसीको विरोध गरेजस्तो गर्ने पछि सत्ता टिकाउन र कांग्रेसको आडमा केही सिट जमाउनकै लागि व्याख्यात्मक सैली अपनाएर एमसीसी पास गर्न सहयोग गरेरै छोडे । जसले गर्दा उनको मौसमी राष्ट्रवादका कर्तुतहरु पनि छताछुल्ल भएको छन् । राष्ट्रघाती काम जति अरुलाई दोष दिने र राम्रो काम म आफैंले गरेको हो भन्न पछि नपर्ने माओवादी नेतृत्वबाट स्थानीय चुनावका बेला दिएको भाषणबाटै पुष्टि हुन्छ उनीहरु कति राष्ट्रवादी छन् । प्रधानमन्त्रीको त के कुरा गर्ने ?
आज गठजोड सरकारको काम कारबाहीवाट आज जनता दिक्क भएका छन् । स्थानीय चुनावमा बाँडीचुँडी खान केही सफल भए त्यसरी नै प्रदेश र संघको चुनावमा पनि आ-आफ्नो पोजिसन सुरक्षित राख्नको लागि जनता र देश विकासको मामलाभन्दा पनि आगामी चुनावी रणनीति कसरी तय गर्ने र प्रतिपक्ष एमालेलाई कसरी हराउने भन्ने नै मूख्य योजना रहको बुझिएको छ । तपाईँ गठबन्धनका नेताहरुमा अझ कम्युनिष्ट दल भनिनेका नेताहरुले के बुभ्mन जरुरी छ भने अब पनि गठजोड गरेर कांग्रेसलाई नेतृत्वमा लैजाँदा के तपाईँहरुले भनेको विदेश नीति र राष्ट्रिय स्वार्थको सुरक्षा हुन्छ ? जसले गर्दा सत्ताको बिलो स्याहार्नकै लागि उनैसँग टाँसिनुपर्ने बाध्यता किन ?
यो विगतको एघार महिनामा गठबन्धन सरकारले के सम्झनलायक काम गर्यो ? यसको हिसाब किताब गठबन्धनका नेताहरुले दिन सक्छन् ? यहाँ त आफु क्रान्तिकारी कम्युनिष्ट ठान्ने माओवादी र समाजवादको यात्रा तय गर्ने एकमात्र शक्ति हामी हौँ अनि प्रतिगमन सच्याउनको लागि यो क्रान्ति हो भन्ने एकीकृत समाजवादीले के काँग्रेसलाई पहिलो शक्ति बनाउने र एमालेलाई हराउनकै लागि थियो त ? विशेषगरी कम्युनिष्टका नेतालाई मेरो प्रश्न छ, तपाईंहरुको यो गठबन्धन केका लागि हो ? साम्राज्यवादी, विस्तारवादी, पूँजीवादी शक्तिको विरुद्धमा आज ७४ वर्षको कम्युनिष्ट आन्दोलनलाई धराशायी बनाउँदै तपाईँहरुले सत्ता र शक्ति अनि नातावाद, कृपावाद, फरियावादलाई मौलाउन कै लागि थियो त यो गठजोड ? तपाईँहरुले के पनि बुझ्न जरुरी छ भने विष सर्पको दाँतमा हुन्छ, झिँगाको मुखमा र विच्छीको पुच्छरमा हुन्छ तर, दुष्ट मानिसको शिरदेखि पैतालासम्म विषै विष हुन्छ । त्यसैले धैर्यता गुमाउनु हुँदैन ।
धनको लोभले राजनीति चल्दैन र यसले विवेकलाई बन्दकीमा राख्ने काम पनि गर्नु हुँदैन । नेपालमा हालको राजनीति हेर्दा सर्प, बिच्छी र भ्यागुतामा आ–आफैं ठूला भएजस्तै राजनीतिक दलका नेताहरुले पनि आ–आफ्नो घमण्ड नछोडी नैतिक धरातल बिर्सेर राजनीतिक संस्कार नै त्यागिसकेका हुनाले कतै यो गणतन्त्रका असली ठेकेदार हौँ भन्नेहरु आपैmले विनाशको बाटो त तय गर्न लागेका छैनन् ? आज तपार्इं गठबन्धनका नेताहरुको काम गर्ने शैली, आचरण अनि जनताप्रतिको उत्तरदायित्वबोध देख्दा सारा जनता पनि वाक्क दिक्क भएका छन् । सायद, त्यसैले होला स्थानीय चुनावमा पनि काठमाडौंजस्तो राजधानी शहर जहाँ नेवारको बाहुल्यता भएको ठाउँमा पनि स्वतन्त्र उम्मेद्धार मधेशी मुलका बालेन साहले मेयरजस्तो गरिमामय पद हात पारे भने अन्यत्र पनि कयौँ ठाउँमा राजनीतिक पार्टी र नेताहरुको काम गराईको शैली देखेर वाक्क दिक्क भई स्वतन्त्र उम्मेदवारले जित हाँसिल गरेका छन् । र, सञ्चारकर्मी रवी लामिछानेजस्ता पत्रकारले पनि अर्को नयाँ पार्टी खोल्ने जमर्को गरेकाले अब पनि मूख्य मूख्य दलहरु र सोही दलका नेताहरुले के बुभ्mन जरुरी छ भने अबका जनता लाटा, सोझा छैनन् । पद, शक्ति र पैसाको लोभले सिद्धान्त, निष्ठा र राजनीतिक संस्कारलाई तिलाञ्जली दिने दल र नेतालाई पाखा लगाएरै छोड्छन् भन्ने तथ्यलाई समयमा नै बुभ्mन सकेमात्र आगामी राजनीतिक भविष्य उज्वल होला अन्यथा, यही गठजोड सिद्धान्त अँगालेर एक्लै एक्लै पार्टी जनताको अगाडि भिड्नको लागि कायरता प्रदर्शन गरिरहने हो भने अबको राजनीतिक भविष्य अन्धकारमय हुने निश्चित प्रायः देखिन्छ । गठबन्धनलगायतका सबै दलका नेताहरुलाई चेतना भया !
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies