– गोविन्द भट्टराई
बेल्ट टोपीको नोकरी सानो ठूलो जुनै पदमा भएपनि निक्कै कठिनै हुन्छ । बेल्ट टोपी लगाएपछि जिन्दगी बन्धनमा पर्छ । अनुशासनमा बस्नुपर्छ । पङ्चुअल हुनुपर्छ । फिटनेस् राख्नुपर्छ । जनताले नत्र कस्तो भुडे पुलिस वाला रहेछ भनेर कमेन्ट गर्छन् ।
बिहानै चार बजे उठेँ, सिम्सिमे पानी परिरहेको रहेछ र पनि निस्कें मूलसडकमा ‘मरनिङ्ग वाक’ । सडक खाली थियो । सडकमा कालिजका बथान सधैँ जस्तै मसिना ढुङ्गाहरू खोस्रिन्दै आहार खोजिरहेका थिए । सायद मसिना बालुवाका कण खाँदै थिए तर, कसरी पचाएको होला ? अँ मान्छेले पनि धेरै चिज यसरी नै जबर्जस्ती पचाँउछ त । लाज–सरम, बाबु बाबुनीले जनताबाट लिने घूस, भ्रष्टाचारी नेताले जनताको बजेट यिनै कालीजले जस्तै जबर्जस्ती निल्छन् र पचाउँछन् । म सोंच्दै आफ्नै रफतारमा अघि बडिरहेको छु ।
दशै आउँदैछ । मौसम चिसो–चिसो हुँदैछ दिन–दिनै । भदौमा पालुवा फेरेको चिउरीको रूख बाहेक सबै रूखका पातहरू पँहेला हुदैँ जाँदैछन् ।
म सँधै जस्तै किताम फाटकसम्म दौड लगाउँछु र फर्किन्छु । जबदेखि इप्का दवाई कारखानामा कार्यरत छु उसै दिनदेखि ।
त्यसदिन पनि किताम फाटक पुगेँ र केही साधारण व्यायाम गरें ।
अहो ! झट्ट याद आयो ।
आज वर्तमान माननीय मुख्य मन्त्रीको पश्चिम सिक्किमको टूर छ ।
हातमा बाँधिएको घडि हेरे छ बजेछ । सुनेको थिए वहाँको ट बजे जोरथाङ्गमा कार्यक्रम छ । वहाँको वारेमा धेरै सुनेको छु । मलाई कुनि किन उहाँलाई एक सेलुट हान्न मन छ र यो मेरो पहिलेदेखि कै घिडघिडो हो ।
समय कम छ । बैरेक पुगेर तयार हुन मलाई कम्तीमा ४५ मिनट समय लाग्छ त्यसैले पुलिस हो टाइम मेनेज कुदेर हुन्छ । आफ्नो रफतार नै समयको सठिक मेनेजमेन्ट हो ।
धेरै रफ्तारमा दौड लगाए र बैरेक पुगेर हतपत पोशाक लगाएर रोडमा उभिए । टाइममा पुगेको र आज उहाँलाई सेलुट गर्न पाइरहेकोमा मनमनै खुशि महसुस भइरहेको थियो ।
तत्काल कान्भाईको साइरन बज्यो । प्रथमतः कान्भाई कमान्डरलाई जोडले सलाम गरेँ । क्रमशः सबै गाडीलाई सेलुट गर्दै गएँ । मलाई थाहा थिएन कुन गाडीमा माननीय मूख्य मन्त्री सवार हुनुहुन्छ ।
अचानक एउटा गाडी रोकियो ।
गाडीको झ्याल खोलियो । भित्र मुख्यमन्त्री सवार हुनुहुँदो रहेछ ।
फेरि एक सेलुट
“जय हिन्द, सर !”
मेरो अन्तर हृदयबाट कहिले निस्क्यो मलाई नै थाहा छैन ।
म सावधान मुद्रा ठिङ्ग रोड किनारमा उभिएहेको थिएँ । छेउमा बोलाएर नाम सोध्नुभयो र दशैं राम्रोसँग मान्नु है भनेर एउटा पँहेलो लिफा मेरो हातमा राखिदिनु भो ।
मेरो र परिवारको हालचाल जान्नुभयो ।
म अवाक्क बने ।
हात हल्लाउदै जानुभयो ।
उहाँको टाइट सेडुल हुँदा हुँदै पनि सानो मान्छेलाई यति धेरै समय दिनसक्नु पनि टाइम मेनेजमेन्ट हो ।
मलाई त्यो लिफामा के छ भनेर खोतल्नु मन थिएन तर, मेरो एक सेलुटको प्रतिक्रिया यस्तो ढंगमा दिनुहुन्छ भन्नै मलाई कतै थिएन ।
लिफा खोलेँ । एउटा कार्डमा लेखिएको रहेछ– विजय दशमीको हार्दिक मंगलमय शुभकामनासहित यो भेट ।
कूल राशी २० हजार पनि लिफाभित्र रहेछ ।
जुरूक्क उठेँ र मुख्यमन्त्री ज्यूलाई फेरि एक सेलुट ठोके ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies