
काठमाडौँ : नेपालगन्जको कोरियनपुरमा आइतबार बिहान जलेको अवस्थामा युवती भेटिइन् । उनलाई उद्दार गरेर अस्पताल लैजाँदा मृत्यु भइसकेको थियो । जलेको अवस्थामा सडकमा मृत भेटिएकी युवती २२ वर्षीया सिर्जना बुढा (गीता) रहेको प्रहरीले पुष्टि गरेको छ ।
प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानमा महिलाको जलेर मृत्यु भएको देखिए पनि कारण खुल्न सकेको छैन । घटनाको प्रकृति शंकास्पद देखिएकोभन्दै प्रहरीले अनुसन्धानलाई तीव्र पारेको जनाएको छ ।
मृतक युवतीकी तीन वर्षकी छोरीसमेत छिन् । पतिसँग सम्बन्धबिच्छेद गरेर बसेकी उनी केही वर्षदेखि स्थानीय युवा गोलु ढपालीसँग प्रेममा थिइन् । उनीहरूबीच पनि आपसी सम्बन्ध पनि राम्रो नभएको वडाध्यक्ष तरुण बज्राचार्यले जानकारी दिएका छन् ।
उनीहरूको झगडा पहिले पनि वडासम्म आइपुगेको र मेलमिलाप हुने गरेको वडाध्यक्ष बज्राचार्यले बताएका छन् । वडामा मेलमिलाप गरेका उनीहरूबीच केही दिनपछि पुनः झगडा परेपछि सिर्जनाले प्रहरीमा उजुरी दिएकी थिइन् । प्रहरीले छलफलका लागि दुबैलाई बोलाएको थियो । मिलेर बस्ने सर्तमा प्रहरी चौकीबाट फर्किएका थिए । तर, भोलिपल्ट नै सिर्जना जलेको अवस्थामा भेटिएकी हुन् ।
स्थानीयले उनका प्रेमीले जिउँदै आगो लगाएर सडकमा फालेको आरोप लगाएका छन् । आरोपित पुरुष ढपालीकै घरनजिक उक्त घटना घटेको भए पनि उनीहरू त्यस घरमा नबसी अन्तै डेरा लिएर बस्ने गरेको प्रहरीले बताएको छ ।
प्रहरीले आरोपित ढपालीका परिवारका केही सदस्यलाई पक्राउ गरिसकेको बताएको छ । ढपाली भने फरार छन् ।
जिल्ला प्रहरी कार्यालय बाँकेले जाहेरी लिने तयारी गरिरहेको प्रहरी उपरीक्षक अंगुर जिसीले बताए । उनले मध्यान्हसँग भने, ‘हामीले दुई कोणबाट अनुसन्धान गरिरहेका छौं । आत्महत्या हो कि, कर्तव्य ज्यान मुद्दा अनुसन्धान भइरहेको छ । आत्महत्या गरेको भए पनि अवस्था हेरेर दुरुत्साहन हो कि हैन भन्ने पनि अनुसन्धान हुन्छ ।’ प्रहरी उपरीक्षक जिसीका अनुसार उनीहरू लिभिङ टुगेदरका रुपमा थिए ।
मृतकका परिवारले अहिले शव बुझ्न मानिरहेका छैनन् । दोषीलाई पक्राउ नगरेसम्म उनीहरूले शव नउठाउने अडान लिएका छन् ।