२०८३ असोज २१ गते बुधवार / Oct 07 , 2026 , Wednesday
२०८३ असोज २१ गते बुधवार

रौतहटमा अवैध भारतीय कुखुरा बरामद, तस्करी नियन्त्रणमा कडाइको माग

Nada
सत्येन्द्र प्रताप सिंह
२०८२ चैत १६ गते १४:४०
Shares
रौतहटमा अवैध भारतीय कुखुरा बरामद, तस्करी नियन्त्रणमा कडाइको माग

रौतहट : नेपाल-भारत खुला सीमाको दुरुपयोग गर्दै भारतबाट अवैध रूपमा कुखुरा भित्र्याउने क्रम नरोकिने हुँदा स्वदेशी पोल्ट्री व्यवसाय गम्भीर संकटमा परेको छ । सस्तो मूल्यका कुखुरा तस्करीले नेपाली किसान र व्यवसायीलाई प्रत्यक्ष असर पारिरहेको भन्दै नियन्त्रणका लागि स्थानीय प्रशासन र व्यवसायीहरू सक्रिय भएका छन् ।

ncell

यसै क्रममा सोमबार बिहान दुर्गा भगवती गाउँपालिका–३ मत्सरी क्षेत्रमा प्रहरीले ठूलो परिमाणमा अवैध भारतीय बोइलर कुखुरा बोकेको पिकअप भ्यान नियन्त्रणमा लिएको छ । विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय गंगापिपराबाट खटिएको टोलीले गौर–गंगापिपरा सडक खण्डमा एम्बुस थापेर उक्त गाडी रोकेको हो ।

प्रहरीका अनुसार बिहान करिब ७ बजे दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको ना.५ च. ३५६५ नम्बरको बोलेरो पिकअप शंकास्पद देखिएपछि जाँच गर्दा करिब ३५० वटा (झन्डै ७५० केजी) बोइलर कुखुरा फेला परेको थियो । प्रारम्भिक अनुसन्धानमा ती कुखुरा राजपुर नगरपालिका–५ स्थित एक पोल्ट्री फर्मबाट लोड गरी गरुडा नगरपालिका–९ तर्फ लैजाँदै गरिएको खुलेको छ ।

घटनामा संलग्न रहेको आरोपमा प्रहरीले गरुडा नगरपालिका–९ का २६ वर्षीय अनवारुल हकलाई पक्राउ गरेको छ । बरामद कुखुरा, सवारीसाधन तथा चालकलाई थप अनुसन्धान र कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय गौर पठाइएको प्रहरीले जनाएको छ ।

No description available.

उक्त घटनापछि सीमा क्षेत्रमा सुरक्षाको प्रभावकारितामाथि प्रश्न उठेको छ । सीमावर्ती क्षेत्रमा केही व्यक्तिहरूले भारतबाट अवैध रूपमा कुखुरा भित्र्याई स्थानीय बिल प्रयोग गरी बजारमा पठाउने कार्य गर्दै आएको आरोप छ । स्थानीय व्यवसायीहरूले सीमा नाकाबाट भित्रिने यस्ता गतिविधिमा सुरक्षा संयन्त्रको कमजोरी वा मिलेमतो हुन सक्ने आशंका व्यक्त गरेका छन् ।

“हामी बैंकको ऋणमा डुबिरहेका छौं, तर सस्तो भारतीय कुखुराले बजार कब्जा गरिरहेको छ। सीमामै कडाइ भएको भए यस्तो अवस्था आउने थिएन,” एक व्यवसायीले गुनासो गरे ।

परोहा नगरपालिकाको जिङगढवा पुल नजिकैबाट प्रहरीले मोटरसाइकलमार्फत कुखुरा ओसारपसार गरिरहेको अर्को समूहका दुई जनालाई पनि पक्राउ गरेको छ । निगरानीका क्रममा उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरीको भनाइ छ ।

No description available.

बरामद गरिएका कुखुरा, सवारीसाधन र पक्राउ परेकाहरूलाई आवश्यक कानुनी प्रक्रिया तथा राजस्व चुहावट सम्बन्धी कारबाहीका लागि भन्सार कार्यालयमा बुझाइएको छ ।

रौतहट कुखुरा व्यवसायी संघले अवैध गतिविधि विरुद्ध निगरानी थप कडा बनाउने र प्रशासनसँग सहकार्य जारी राख्ने जनाएको छ । सरोकारवालाहरूले अवैध पैठारीले राज्यको राजस्वमा क्षति पुर्‍याउनुका साथै स्वदेशी उत्पादनलाई कमजोर बनाइरहेको भन्दै सीमा क्षेत्रमा थप कडाइ गर्न माग गरेका छन् ।

ताजा खबर

सम्बन्धित खबर