२०८३ असोज २१ गते बुधवार / Oct 07 , 2026 , Wednesday
२०८३ असोज २१ गते बुधवार

फरक मत राख्दा बलात्कारको धम्की, सामाजिक सञ्जालमा महिला किन असुरक्षित ?

Nada
भावना पाठक
२०८२ चैत १९ गते ०६:३०
Shares
फरक मत राख्दा बलात्कारको धम्की, सामाजिक सञ्जालमा महिला किन असुरक्षित ?

काठमाडौं : ‘बलात्कार हुनुपर्ने त यसको हो ।’ योभन्दा भद्दा र अश्लील सयौं कमेन्टहरू छन् अमीशा पराजुलीको फेसबुक वालभरि ।

ncell

उनको दोष एउटै थियो, एमाले र अध्यक्ष केपी शर्मा ओलीको समर्थन गर्नु । नवगठित सरकारले गत शनिबार एमाले अध्यक्ष ओलीलाई पक्राउ गरेपछिको प्रदर्शनमा उनी सहभागी थिइन् । अमीशाले सुरुमा सामाजिक सञ्जालमा विरोध जनाइन् अनि सडकमै उत्रिएर प्रधानमन्त्री बालेन्द्र शाह र गृहमन्त्री सुधन गुरुङको चर्को आलोचना गरिन् । 

सामाजिक सञ्जालमा एक भिडियो पोस्ट गर्दै उनले सरकारले असंवैधानिक ढंगले ओलीलाई पक्राउ गरेको भन्दै विरोध गरेकी थिइन् । त्यसपछि उनका पोस्टमा आएका कमेन्टहरू हेर्न सकिने खालका छैनन् । उनीमाथि गालीगलौज मात्रै होइन, बलात्कारदेखि हत्यासम्मका धम्कीसमेत आइरहेका छन् । तर, ती धम्कीबाट आफू  कुनै पनि हालतमा नडराउने अमीशा बताउँछिन् । आफूविरुद्ध अश्लील गाली र बलात्कारको धम्की दिनेविरुद्ध प्रहरीको साइबर ब्युरोमा उजुरी दिएपछि उनले भनिन्, ‘प्रधानमन्त्री बालेनको पनि छोरी हुनुहुन्छ । त्यसैले उहाँले पक्कै समस्या बुझ्नुहुनेछ ।’ 

सामाजिक सञ्जालमा गाली खाने अमीशा एक्ली पात्र होइनन् । भिन्न विचार र समर्थक भएकै कारण साइबर बुलिङले सामाजिक सञ्जाल दिन–प्रतिदिन फोहोर भइरहेको छ । महिलाको आलोचना गर्दा उनको चरित्रमाथि प्रश्न उठाउँछन् । अश्लील गाली गर्छन् । हत्या र बलात्कारको धम्कीसम्म दिन्छन् । 

सामाजिक सञ्जालमा धेरै गाली खानेमध्ये पर्छिन्, गायिका ज्योति मगर । उनले भर्खरै गाली खान थालेकी होइनन् । सांगीतिक क्षेत्रमा प्रवेश गरेदेखि नै यस्ता गाली सुन्दै आएकी हुन् । छोटो पहिरन लाएर स्टेजमा गएको, शरीर प्रदर्शन गर्ने गरेको भनेर उनले गाली खान थालेको थुप्रै भयो । यसलाई सामान्य मान्न उनको बनाी परिसकेको थियो । 

राजनीतिक रूपमा आफ्नो प्रस्ट विचार राख्न थालेपछि भने ज्योति भिन्न विचारका व्यक्तिको लखेटाइमा पर्दै आएकी छिन् । एमाले अध्यक्ष ओलीको समर्थन गरेपछि  उनीमाथि अश्लील गालीको ओइरो लाग्न थाल्यो । उनीमाथि पनि घृणात्मक गालीको वर्षा छ । ‘साप्रा देखाएर पैसा कमाउने दिदी’, ‘थारो भैंसी’, ‘गाएरभन्दा देखाएर चलेकी आइमाई’, ‘अंग बेचेर पेट पाल्ने बाइफाले आइमाई’, यी त उनका पोस्टमा आएका सामान्य कमेन्ट हुन् । उनीमाथि खन्याइएका शब्दहरू लेख्न सकिने खालका छैनन् । 

फरक विचार राखेकै भरमा सामाजिक सञ्जालमा गाली खानेमा अर्की कलाकार नवीना सिलवाल उर्फ खुइली पनि पर्छिन् । उनले महेश बस्नेतको समर्थन गर्दा खानुपरेको गाली र ट्रोल हेर्न नसकिनेखालको छ । उनका तस्बिर जोडेर ‘यो तेरो पोइ हो ?’, ‘कति पैसामा बिकिस् ?’, ‘विचरा बा पक्राउ परे भनेर कति पीडा, भोगटे परे भने त बौलाउँछे होला’, ‘छक्काजस्ती’लगायत कमेन्टलाई सामान्य मान्नुपर्ने अवस्था छ । 

सामाजिक सञ्जालमा व्यक्त विचारका कारण प्रहरीले चयनात्मक कारबाही सुरु गरेको देखिन्छ । तर, सामाजिक सञ्जालमा महिलाविरुद्ध भइरहेका बुलिङमा भने प्रहरी चुप देखिन्छ । 

प्रहरीले नेपाली कम्युनिस्ट पार्टीनिकट रेड फोर्सकी संयोजक स्मृति तिमल्सिनालाई बोलेकै भरमा पक्राउ गरेर ‘विरोध नगर्नू’ भनेर चेतावनी दिएर छाड्यो । उनी पक्राउ परेको समाचार आएपछि उल्टै तिमिल्सिनामाथि रास्वपा समर्थकहरू खनिएका छन् । उनका पोस्टमा आएका प्रतिक्रिया झन् अराजक थिए । ‘यो आतंककारी हो’, ‘यो चुडेल्नीलाई बोल्न दे सरकार’, ‘तेरो मुखमा कसले के कोचेको छ र ?’जस्ता अराजक कमेन्ट बढी छन् । 

उनले सरकारको कार्यशैलीमाथि प्रश्न उठाएकी थिइन् । हिजो बोल्न पाउनुपर्छ भनेर जनताले बगाएको रगत आज बोल्नेबित्तिकै पक्राउ गर्नुपर्छ भन्नलाई नभएको उनी बताउँछिन् । 

यस विषयमा अमीशाको उस्तै गुनासो छ । बोल्ने स्वतन्त्रता सबै नागरिकलाई बराबर भए पनि त्यो अधिकार प्रयोग गर्दा आफूले गाली र अपमान भोग्नुपरेको उनी बताउँछिन् । आफू गालीसँग नडराउने र जस्तोसुकै प्रतिक्रिया आए पनि बोल्न नछाड्ने उनको अडान छ । 

उमेरले १९ वर्षकी उनी भक्तपुरको गुन्डुनिवासी हुन् । सानैदेखि राजनीतिमा रुचि रहेको बताउँदै उनले राष्ट्रवाद र देशप्रेमका आधारमा एमालेप्रति समर्थन गरेको बताइन् । यो समर्थन नै उनले गाली खानुपर्ने कारण बन्यो । 

उता, गायिका मगर र कलाकार खुइली पनि यस्ता गाली र धम्कीले कुनै फरक नपर्ने बताउँछन् । गाली पचाउने बानी भइसकेको भन्दै उनीहरू गालीले बोल्न नछोड्ने प्रतिक्रिया दिन्छन् । 

रास्वपा नेतृ एवं प्रतिनिधिसभा सदस्य रञ्जु दर्शनाले आफ्नो फेसबुक पेजमा एक स्टाटस लेख्दै विरोध गरेकै आधारमा कसैमाथि पनि गम्भीर गाली गर्न नहुने जिकिर गरेकी छिन् । कसैलाई बलात्कार गर्नुपर्ने, सडकमा लास बनाउनेजस्ता प्रतिक्रिया निकै खेदजनक भएको भन्दै यस्तो मानसिकता त्याग्न उनको आग्रह छ । 

ताजा खबर

सम्बन्धित खबर