
रौतहट : रौतहटको सदरमुकाम गौर नगरपालिका–९ सिर्सियामा शनिबार बृहत् पशु स्वास्थ्य शिविर तथा परामर्श कार्यक्रम सम्पन्न भएको छ । ग्रामीण कृषकलाई लक्षित गर्दै आयोजित शिविरमा स्थानीय स्तरमै पशु उपचार सेवा उपलब्ध गराइएको हो ।
डा. सुभाष एनिमल हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि. गौरको प्राविधिक सहयोग तथा नेपाल पशुपन्छी औषधि बजार प्रतिनिधि संघको सहकार्यमा, नेपाल भेटेरिनरी एसोसिएसन (एनभीए) मधेश प्रदेशले कार्यक्रम आयोजना गरेको थियो ।
शिविरमा गाई, भैँसी, बाख्रा तथा अन्य पशुपन्छीहरूको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको थियो भने आवश्यक औषधि समेत वितरण गरिएको आयोजकले जनाएको छ । कार्यक्रममा सहभागी पशु चिकित्सकहरूको टोलीले पशुहरूमा देखिने विभिन्न रोगको पहिचान गरी उपचार सेवा प्रदान गरेको थियो ।
शिविरमा एनभीए मधेश प्रदेशका अध्यक्ष डा. दिनेश कुमार तिवारी, संघका सचिव तथा डा. सुभाष एनिमल हस्पिटलका सञ्चालक डा. सुभाष कुमार सिंह, पशु क्वारेन्टाइन कार्यालय वीरगञ्जका वरिष्ठ पशु चिकित्सक डा. भरत साह लगायतका विशेषज्ञहरूले प्रत्यक्ष रूपमा सेवा दिएका थिए ।

यसैगरी, एनभीएमए वीरगञ्जका अध्यक्ष अनिल पटेलसहितको प्राविधिक टोलीले कृषकहरूलाई पशुपालनमा देखिने समस्या, सरुवा रोगको रोकथाम तथा सन्तुलित आहार व्यवस्थापनबारे परामर्श प्रदान गरेको थियो ।
ग्रामीण क्षेत्रका कृषकलाई घरदैलोमै पशु स्वास्थ्य सेवा पुर्याउने उद्देश्यसहित सञ्चालन गरिएको उक्त शिविरबाट सिर्सिया र आसपासका सयौं कृषक लाभान्वित भएका छन् । शिविरमा विशेषगरी पशुमा देखिने खोरेत, चरचरे र नाम्ले जस्ता रोगहरूको पहिचान गरी उपचार गरिएको थियो ।
कार्यक्रमका क्रममा डा. सुभाष कुमार सिंहले यस्ता शिविरले पशुपालक कृषकलाई प्राविधिक ज्ञान र आधुनिक उपचार पद्धतिसँग जोड्न महत्वपूर्ण योगदान पुर्याउने बताए । उनले आगामी दिनमा पनि यस्ता सेवामूलक कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे ।
नेपाल पशुपन्छी औषधि बजार प्रतिनिधि संघ र नेपाल भेटेरिनरी एसोसिएसनको संयुक्त पहलमा सम्पन्न उक्त कार्यक्रमलाई स्थानीय तहमा सकारात्मक रूपमा लिइएको छ । कार्यक्रममा स्थानीय जनप्रतिनिधिहरूको पनि उपस्थिति रहेको थियो ।