
रौतहट : जिल्ला प्रहरी कार्यालय रौतहटले अवैध रूपमा भन्सार छली गरी नेपाल भित्र्याइएका ठुलो परिमाणका लत्ताकपडा र दुईवटा मोटरसाइकल नियन्त्रणमा लिएको छ । जिल्लाको सीमावर्ती क्षेत्रबाट हुने तस्करी नियन्त्रण गर्ने अभियान अन्तर्गत प्रहरीले उक्त सफलता हात पारेको हो ।
जिल्ला प्रहरी कार्यालय रौतहट तथा मातहतका इकाईहरूबाट खटिएको विशेष प्रहरी गस्ती टोलीले आइतबार अपराह्न साढे ४ बजेको समयमा उक्त अवैध सामान बरामद गरेको हो ।
ईशनाथ नगरपालिका वडा नं ४ स्थित सडकखण्डमा भारतबाट लुकिछिपी भन्सार छलेर ल्याउँदै गरेका लत्ताकपडाहरू प्रहरीले फेला पारेको थियो ।
तस्करहरूले ना.९ प ६५५९ नम्बरको हिरो स्पेलेण्डर र नम्बर नखुलेको अर्को सुपर स्पेलेण्डर मोटरसाइकलमा बोराका बोरा कपडाहरू लोड गरी नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा प्रहरी टोलीलाई देखेपछि सामान छाडेर फरार भएका थिए ।
प्रहरीका अनुसार बरामद गरिएका विभिन्न किसिमका लत्ताकपडाहरू र दुईवटा मोटरसाइकलको बजार मूल्य करिब दुई लाख पचास हजार दुई सय बराबर रहेको छ । बरामद सामानहरूको सूची हिरो स्पेलेण्डर मोटरसाइकलः १ थान ना.९ प ६५५९ सुपर स्पेलेण्डर मोटरसाइकलः १ थान नम्बर नखुलेको जिल्ला प्रहरी कार्यालय रौतहटका निमित्त सूचना अधिकारी एवं प्रहरी निरीक्षक जीवन कुमार मैनालीका अनुसार नियन्त्रणमा लिइएका सबै सामान र मोटरसाइकलहरूलाई आवश्यक कानुनी कारबाहीका लागि गौर भन्सार कार्यालयमा बुझाइएको छ ।
सीमा क्षेत्रमा हुने अवैध तस्करी र चोरी पैठारीलाई निरुत्साहित गर्न प्रहरीले निगरानी बढाएको छ, प्रहरी निरीक्षक मैनालीले बताए । प्रहरीले फरार रहेका तस्करहरूको खोजी कार्य समेत तीव्र पारेको बताए । रौतहट प्रहरीले पछिल्लो समय सीमा सुरक्षा र राजस्व चुहावट नियन्त्रणमा सक्रियता देखाउँदै आएको छ, जसका कारण दैनिकजसो अवैध सामानहरू बरामद भइरहेका छन् ।