२०८३ असोज ७ गते बुधवार / Sep 23 , 2026 , Wednesday
२०८३ असोज ७ गते बुधवार

शारदा नगरपालिका-१२ द्वारा ज्येष्ठ नागरिकलाई अन्तरजिल्ला धार्मिक भ्रमण

Nada
प्रदीप मगर
२०८२ चैत २४ गते १३:०६
Shares
शारदा नगरपालिका-१२ द्वारा ज्येष्ठ नागरिकलाई अन्तरजिल्ला धार्मिक भ्रमण

सल्यान : सल्यानको शारदा नगरपालिका–१२ ले ज्येष्ठ नागरिकको मनोबल बढाउने र उनीहरूको दैनिकीलाई सक्रिय बनाउने उद्देश्यसहित अन्तरजिल्ला धार्मिक अवलोकन भ्रमण कार्यक्रम सञ्चालन गरेको छ । बुढेसकालमा एक्लोपन र निराशा महसुस गर्ने ज्येष्ठ नागरिकलाई लक्षित गर्दै वडाले करिब १०० जनालाई दुई दिने भ्रमण गराएको हो ।

ncell

वडाध्यक्ष सुरेन्द्र बुढाका अनुसार भ्रमण टोलीले पाल्पाको सिद्धबाबा मन्दिर, बुटवलको फुलबारी, तिलोत्तमा–स्थित बन विहार मानव आश्रम (रुपन्देही) तथा गौतम बुद्धको जन्मस्थल लुम्बिनी अवलोकन गरेको थियो । “यस्ता कार्यक्रमले ज्येष्ठ नागरिकलाई धार्मिक तथा पर्यटकीय स्थलको ऐतिहासिक र वर्तमान अवस्थाबारे बुझ्ने अवसर मिल्छ,” उनले बताए ।

व्यस्त जीवनशैलीका कारण परिवारबाट पर्याप्त समय नपाउने अवस्थालाई ध्यानमा राख्दै वडाको वार्षिक बजेटबाट कार्यक्रम सञ्चालन गरिएको उनले जानकारी दिए । वडा नं. १२ ले अघिल्लो वर्ष पनि करिब १०० ज्येष्ठ नागरिकलाई प्युठानको स्वर्गद्वारी दर्शन भ्रमण गराएको थियो ।

वडा सचिव चेतन बिसीले यस्ता गतिविधिले ज्येष्ठ नागरिकका पीरमर्का केही हदसम्म कम गर्दै मनोबल बढाउने विश्वास व्यक्त गरे । “धार्मिक भ्रमणले आमाबुवाको मन रमाउँछ र समाजमा सकारात्मक सन्देश पनि जान्छ,” उनले भने ।

भ्रमणमा सहभागी ७३ वर्षीय होमबहादुर थापाले वडाले सम्झिएर भ्रमणमा सहभागी गराएकोमा खुशी व्यक्त गर्दै यस्ता कार्यक्रमलाई निरन्तरता दिन आग्रह गरे ।

यसैबीच, शारदा नगरपालिकाले ज्येष्ठ नागरिकका लागि खेलकुद, स्वास्थ्य परीक्षणलगायत विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ । नगरप्रमुख प्रकाश भण्डारीका अनुसार आगामी दिनमा अन्य वडामा पनि यस्ता कार्यक्रम विस्तार गर्ने योजना छ ।

सम्बन्धित खबर