२०८३ असोज ७ गते बुधवार / Sep 23 , 2026 , Wednesday
२०८३ असोज ७ गते बुधवार

पीडितमाथि झन् पीडा थप्दै (अ)सामाजिक सञ्जाल

Nada
भावना पाठक
२०८२ चैत २५ गते ०६:३०
Shares
पीडितमाथि झन् पीडा थप्दै (अ)सामाजिक सञ्जाल

काठमाडौं : गत शुक्रबार अर्थात् अप्रिल ३मा अमेरिका बस्ने नेपाली कलाकार संगम विष्टले आफू बलात्कृत भएको भनी सामाजिक सञ्जालमा पोस्ट गरिन् । नेपाली कलाकार ‘बले’ भनिने सागर लम्सालबाट आफू बलात्कृत भएको उल्लेख गर्दै उनले लामो स्टाटस लेखिन् । यो विषय क्षणभरमै संसारभर फैलियो । 

ncell

संगमको पारिवारिक पृष्ठभूमि नै चलचित्र र रंगमञ्चसँग जोडिएको छ । उनी आफैं पनि कलाकार हुन् । उनले ‘लभ यू बाबा’ चलचित्रमार्फत तत्कालीन राष्ट्रपति रामवरण यादवको हातबाट उत्कृष्ट बालकलाकारको राष्ट्रिय अवार्ड नै पाएकी थिइन् । 

संगम केही समयदेखि अध्ययनको सिलसिलामा अमेरिकामा रहँदै आएकी छिन् । उनको स्टाटसलाई आधार मान्ने हो भने करिब एक वर्षअघि बले कार्यक्रमको सिलसिलामा अमेरिका पुगेका थिए । पारिवारिक सल्लाहमै उनी बलेलाई भेट्न गइन् । बलेको आग्रहमा उनले पारिवारिक सदस्य नै सोचेर आफू बसेको ठाउँमा लगिन् । त्यहीबेला उनी बलात्कृत भइन् । आफू पहिलेदेखि नै डिप्रेसनमा रहेको र औषधिसमेत सेवन गर्ने गरेको कुरा बलेलाई बताएको उनले सार्वजनिक गरेकी छिन् । परिवारको सदस्य मानेको व्यक्तिबाट बलात्कृत भएको कुरा भन्न पनि निकै असहज भएको र हिम्मत जुटाउनै एक वर्ष लागेको समेत लेखेकी छन् । 

आफू बलात्कृत भएको विषय सार्वजनिक गरेपछि सामाजिक सञ्जालमा उनीविरुद्ध नानाथरीका कमेन्ट आउन थाले । पीडा पोख्न पोस्ट गरेको स्टाटसले उनीमाथि झनै मानसिक तनाव थप्यो । कतिले कलाकारसँग नाम जोडेर चलचित्रमा आउने बाटो बनाउन लागेको भनेका छन् भने कतिले चर्चामा आउन बलात्कारको आरोप लगाएकोसम्म भन्न भ्याएका छन् । चरित्रसँग जोडेर उनीमाथि सामाजिक सञ्जालमा प्रहार भइरहेको छ । लगत्तै उनले अर्को स्टाटस लेखेर आफूलाई चर्चामा आउन कसैको सहारा लिन नपर्ने जवाफ फर्काएकी छन् । 

तर उनीमाथि गालीको वर्षा रोकिएको छैन । धेरैले एक वर्षअघिको घटना अहिले बार्गेनिङ नमिलेर सार्वजनिक गरेको हो ? भनेर प्रश्नसमेत गरेका छन् । रंगमञ्चका थुप्रै कलाकारले उनको समर्थन गरेका छन् भने केहीले तटस्थ रहेरै घटनाको छानबिन हुनुपर्ने भनेका छन् । तर कतियप सामाजिक सञ्जाल प्रयोगकर्ताले उनीमाथि नै अनेक लान्छना लगाएर झन् पीडा थपेका छन् । 

उनकै स्टाटसका आधारमा आरोपित बले पक्राउ परिसकेका छन् । तर उनीविरुद्ध अहिलेसम्म प्रहरीमा उजुरी दर्ता भएको छैन । उजुरीबिनै जिल्ला प्रशासनबाट अनुमति लिएर बलेमाथि सार्वजनिक शान्तिविरुद्धको कसुरमा अनुसन्धान भइरहेको थियो । अहिले उनीमाथि अभद्र व्यवहारको कसुर थपिएको छ । सामाजिक सञ्जालमा लेख्न सक्ने, तर उजुरी दिन नसक्ने भनेर पनि उनी र उनको परिवारमाथि प्रश्न उठाइएको छ । 

कुनै एक महिलाले आफू बलात्कृत भएको उल्लेख गरेर न्याय मागेको विषयलाई सामाजिक सञ्जाल प्रयोगकर्ताले लाइक र भ्युजका लागि आफूखुसी प्रयोग गरिरहेको महिला अभियन्ताहरू बताउँछन् । कुनै व्यक्तिमाथि आरोप लागेपछि ऊ दोषी हो कि निर्दोष छुट्याउने काम अदालतले गर्ने भए पनि आजभोलि भ्रम सिर्जना गरी घटनालाई अवास्तविक बनाउने प्रयास सामाजिक सञ्जालले गरिरहेको छ । फैसला आउनुअघि नै भिडले एक प्रकारको भाष्य सिर्जना गरेर अदालतको फैसला प्रभावित पार्ने प्रयास हुन्छ । 

अधिवक्ता अनुज भण्डारी सामाजिक सञ्जालमा जथाभावी बोल्नु र लेख्नु कानुनी अपराध भएको बताउँछन् । आधिकारिक निकायमा उजुरी परेपछि सम्बन्धित निकायले छानबिन गर्नुपर्ने विषयमा मनलाग्दी प्रतिक्रियाले मुद्दा कमजोर हुने उनको धारणा छ । उनी भन्छन्, ‘अनुसन्धान नभई घटनाहरू बाहिर आउँदा न्याय प्रवाहमा प्रभाव पार्छ । दोषी र निर्दोष छुट्याउने काम अदालतको हो । व्यक्तिगत चरित्रहत्या हुने गरी कसैमाथि गाली गर्नु कानुनतः अपराध हो ।’ प्रहरी र अदालतले गर्नुपर्ने काम आजभोलि सामाजिक सञ्जालले गर्ने गरेकोप्रति उनले असन्तुष्टि जनाए ।

संगम मात्र होइन, यसअघि गायिका समीक्षा अधिकारीलाई पनि सामाजिक सञ्जालको भिडले यसैगरी लखेटेको थियो । नायक पल शाहले आफूमाथि बलात्कार गरेको उजुरी दिएपछि उनी भूमिगतजस्तै बन्नुप¥यो । आफैंमाथि प्रहार बढ्न थालेपछि मुद्दा फिर्ता लिएर उनले शाहलाई जेलमुक्त गराइन् । तर अहिले पनि कतै सांगीतिक कार्यक्रममा जाँदा उनले त्यो विगतको सामना गर्नुपर्छ । गाउँदागाउँदै मञ्चमै उनीमाथि ढुंगा प्रहार हुने गरेको छ । उनले गाउँदै गर्दा ‘१० लाख फिर्ता दे’जस्ता नारा लाग्छन् । तर, ‘बोल्ड’ भएर ती सबै सामना गर्दै गायिका अधिकारी आफ्नो करिअरमा जमेकी छिन् ।  

अहिले संगमले भोगेको जस्तो पीडा आफूले पहिल्यै भोगिसकेको अधिकारीले बताएकी छन् । महिलालाई सामाजिक सञ्जालले बाँच्न नदिने उल्लेख गर्दै उनी भन्छिन्, ‘आज पनि हरेक पीडित छोरीमान्छेलाई यो समाजले भन्छ– किन ढिलो बोलिस् ? त्यतिबेलै किन उजुरी गरिनस् ? त्यो सुन्दा मन भित्रैदेखि दुख्छ । तपाईंहरूलाई के थाहा, त्यतिबेला कस्तो अवस्था थियो ? छोरीमान्छे भएपछि डरले र समाजको दबाबले कति कुरा मनमै दबाउनुपर्छ । मलाई नै गलत भन्ला कि ? भन्ने डरले आत्मा नै थिचिन्छ । मन मिल्दा ‘चमत्कार’ र नमिल्दा ‘बलात्कार’ भन्ने सोचले झन् पीडा दिन्छ ।’ 

बलात्कार मात्र होइन, पारिवारिक विवादमा पनि महिलाहरूमाथि भद्दा र अस्वाभाविक प्रतिक्रिया आउने गर्छन् । केहीअघि गायिका एलिना चौहानले विवाह भएको छोटो समयमै श्रीमान्सँग अलग हुने निर्णय गरिन् । उनले आफूमाथि घरेलु हिंसा हुने गरेको पनि बताएकी थिइन् । तर सामाजिक सञ्जालको भिड उनको कुरा पत्याउनेवाला थिएन । ‘पैसा कमाएर घर खान नसकेकी, यो चोथालेलाई बाहिर केटासँग घुम्न परेको, विष्णुको पैसाका लागि बिहे गरेको, अस्ट्रेलिया जान पाउँछु भनेर बिहे गरेको’जस्ता थुप्रै कमेन्ट आए । सामाजिक सञ्जालमा महिलाका विषयमा आएका प्रतिक्रियाहरू सुन्न नसकिने खालको भएको एलिना बताउँछिन् । 

कसैको पीडा सुन्न क्षमता चाहिने उल्लेख गर्दै उनी भन्छिन्, ‘कसैले आफ्नो पीडा सुनाइरहेको छ भने सुन, सुन्न सक्दैनौ भने चुप लागेर बस । तर आफ्नो बलात्कारी सोच कमेन्टमा नबर्साऊ । घरेलु हिंसा र बलात्कारजस्ता विषयमा आवाज उठाउन ठुलो साहस चाहिन्छ ।’ मान्छेहरूको नकारात्मक सोचकै कारण धेरै पीडितले बोल्न हिम्मत नगर्ने उनले बताइन् । ‘पीडितलाई दोष दिने सोच कहिले हट्ने ?’ एलिनाको प्रश्न छ । 

सागर लम्सालको केस अदालतमा पुगेको छैन । पल शाह, सन्दीप लामिछानेजस्ता स्टारहरूमाथि बलात्कारको आरोप लागेर टुंगोसमेत लागिसकेको छ । पल शाहसँग सम्बन्धमा हुँदा समीक्षा नाबालिका थिइन् । राजीखुसीकै सम्बन्ध भए पनि नाबालिकासँगको सम्बन्धलाई नेपालको कानुनले बलात्कार भन्छ । सामाजिक सञ्जालले समीक्षालाई यति पीडा दियो कि समाजले बाँच्नै नदिने अवस्था आएपछि मुद्दा टुंग्याउने कोसिस गरेको बताउँदै आएकी छन् । सन्दीपको हकमा पनि मुद्दा पुनरवलोकन गर्ने अवस्था हुँदाहुँदै पनि पीडित भनिएकी युवतीले अब अरू लड्न नसक्ने भन्दै आफ्नो जीवन बाँच्न चाहेको उल्लेख गरेकी थिइन् । 

घरेलु हिंसा र बलात्कारजस्ता घटनामा आज पनि महिलाहरू खुलेर बोल्न सक्ने अवस्था नहुनु दुःखद् भएको महिला अधिकारकर्मीहरू बताउँछन् । भद्दा, अमर्यादित र यौनजन्य टिप्पणीले सामाजिक सञ्जाल महिलाका लागि असुरक्षित बन्दै गएको बरिष्ठ पत्रकार तथा अधिकारकर्मी बबिता बस्नेत बताउँछिन् । ‘सामाजिक सञ्जाल अहिले अलि बढी असामाजिक जस्तो देखिन थाल्यो । महिलाले आफ्ना केही कुरा राख्न खोज्यो भने सिधै उसको चरित्रमाथि प्रश्न उठ्छ, त्यही कुरा पुरुषले गर्दाखेरि ऊ इमानदार देखिन्छ,’ उनी भन्छिन्, ‘महिला र पुरुषका लागि समाजको दोहोरो मापदण्डले ठुलो खाडल सिर्जना गरेको छ । महिलामाथि हुने हिंसाबारे सरकारले पनि सोच्नुपर्ने देखिन्छ । महिलाले त आफ्ना कुरा राख्नै नपाउने जस्तो भइसक्यो ।’ यो देशमा सबैलाई अधिकार बराबरी भएको उनको धारणा छ । 

पुरुषले जे बोले पनि राम्रो हुने र महिलाले त्यही कुरा गर्दा खराब हुने सामाजिक मनोविज्ञानको अन्त्य हुनुपर्ने उनी बताउँछिन् । गाली बेइज्जती पनि एकप्रकारको हिंसा भएको उल्लेख गर्दै उनले कानुन सबैका लागि बराबर भएको बताइन् । महिलामाथि हुने हिंसा रोक्न सरकार कठोर रूपमा प्रस्तुत हुनुपर्ने उनको बुझाइ छ ।

सम्बन्धित खबर