
म्याग्दी : म्याग्दीमा बस र ट्रक एक आपसमा ठोक्किँदा चालक सहित १५ जना घाइते भएका छन् । बेनी नगरपालिका–८ जलेश्वरमा मुस्ताङबाट पोखरा जाँदै गरेको ग २ ख १४५७ नम्बरको बस र भैरहवाबाट रुप्से म्याग्दी तर्फ जाँदै गरेको ग.प्र. ०१००१ ख ००१२ नम्बरको ट्रक एक आपसमा ठोक्किँदा चालकसहित यात्रु घाइते भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक सागर तिमिल्सिनाले बताए ।
दुर्घटना स्थलमा प्रहरी निरीक्षक तिमिल्सिना सहितको नेतृत्वमा गएको टोलीले बसका चालक र सह चालक सहित २४ जना सवार रहेकोमा तत्कालै ९ जनाको उद्धार गरी प्रदेश अस्पताल बेनीमा ल्याइएको थियो । दुर्घटनामा बस र ट्रकको अगाडीको भागमा क्षति भएको छ । दुर्घटनामा घाइते हुनेको शरीरमा चोट लागे पनि खतरामुक्त रहेको प्रहरीले जनाएको छ ।
बस चालक कास्की माछापुच्छ्रे गा.पा.- ४ लाहाचोक घर भएका ३१ वर्षीय विकास जिसी र ट्रक चालक पर्वत जलजला गा.पा.–७ धाईरिङका २८ वर्षीय नारायण प्रसाद शर्मा हुन । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।