
- लाजिम्पाटमा बस्दै आएकी एक युवतीले आफू बलात्कृत भएको भन्दै प्रहरीमा उजुरी दिइन् । उनी दुई वर्षदेखि एक युवकसँग ‘लिभिङ टुगेदर’मा थिइन् । प्रहरीमा उनले दिएको उजुरीपछि उनका पाटर्नर अहिले पुर्पक्षका लागि थुनामा छन् । लिभिङ टुगेदरमा बसे पनि पछि विवाह गर्न नचाहेर टाढिँदै गएपछि युवतीले बलात्कारको जाहेरी दिएकी थिइन् ।
- असनकी एक युवती पछिल्लो तीन वर्षदेखि पुरुष साथीसँग लिभिङ रिलेसनमा छिन् । उनीहरू दुवैजना अविवाहित हुन् । लिभिङ रिलेसनकै क्रममा युवती गर्भवती भइन् । युवकले उनलाई विवाह गरेनन् । नाता कायम गरिपाऊँ भन्दै युवती अदालत पुगिन् । मुद्दा लड्दा–लड्दै उनले बच्चा जन्माइन् । श्रीमती र सन्तान नस्विकारे पनि पार्टनरले मासिक खर्च व्यहोर्नेगरी मिलापत्र गरेका छन् । लिभिङ टुगेदरको प्रस्ट कानुनी व्यवस्था नहुँदा नाता प्रमाणित गर्न मुस्किल भइरहेको छ ।
- जागिरकै सिलसिलामा एक विवाहित पुरुष काठमाडौं आएर अविवाहित महिलासँग लिभिङ रिलेसनमा बस्न थाले । उनीहरूबीच श्रीमान्–श्रीमतीजस्तै सम्बन्ध भयो । बस्ने टोलमा पनि उनीहरूलाई दम्पतीकै रूपमा हेरिन्थ्यो । चार वर्ष सँगै बसेर सन्तान पनि जन्मिएपछि पुरुषले आफू विवाहित रहेको भन्दै श्रीमती स्विकारेनन् । अहिले ती महिला नातासम्बन्ध कायम गरिपाऊँ भन्दै अदालत पुगेकी छिन् ।
झट्ट हेर्दा, लिभिङ टुगेदर जति सामान्य बन्दै गएको छ, व्यवहारमा भने धेरै सम्बन्ध कानुनी उल्झनमा परेका छन् । लिभिङ रिलेसनमा बसेर पछि सम्बन्ध बिग्रिँदै जाँदा न्यायका लागि अदालत धाउनुपरेका थुप्रै घटना छन् । विवाहको आश्वासन दिएर सँगै बस्ने, तर पछि नस्विकारेको र विवाहेतर सम्बन्ध राखेका उजुरीहरू स्थानीय तहदेखि प्रहरीसम्म पुगिरहेका छन् । आपसी असमझदारी, विवाद र हिंसा बढ्दै जाँदा हत्यासम्म भएका घटना छन् ।
गत चैत १५ गते नेपालगन्जको कोरियनपुरमा लिभिङ टुगेदरमा बस्दै आएकी एक युवती जलेको अवस्थामा भेटिइन् । प्रेमीले जलाएर हत्या गरेको आशंकामा प्रहरीले अनुसन्धान गरिरहेको छ । पतिसँग सम्बन्धविच्छेद गरेर बसेकी उनी केही वर्षदेखि स्थानीय युवासँग लिभिङ रिलेसनमा थिइन् । उनीहरूबीच आपसी सम्बन्ध बिग्रिँदै जाँदा विवाद प्रहरीसम्म पुग्यो । प्रहरीमा मिलापत्र गरेर फर्केको भोलिपल्टै उनी जलेको अवस्थामा भेटिइन् । पछिल्लो समय लिभिङ रिलेसनले महिलाको ज्यान नै लिन थालेको छ भने पुरुषहरू बलात्कारको आरोपमा जेल सजाय भोगिरहेका छन् । लिभिङ रिलेसनसम्बन्धी कानुन नहुँदा अधिकांश उजुरी यौनहिंसासँग जोडिएर आउने गरेको प्रहरीको महिला सेलले जनाएको छ । लिभिङ रिलेसनसम्बन्धी कानुन नहुँदा मुद्दा दर्तामा पनि समस्या हुने गरेको छ ।
कानुनको अभाव
कानुुनी रूपमा पनि नेपालमा कस्तो सम्बन्धलाई लिभिङ टुगेदर मान्ने भन्ने स्पष्ट छैन । अधिवक्ता अनु भट्टराईले ‘नेपालमा लिभिङ रिलेसनलाई कानुनी मान्यता दिनुपर्ने’ मागसहित २०८० साल चैत १ गते सर्वोच्च अदालतमा रिट दायर गरेकी थिइन् । सो मुद्दामा पेसी तोकिने र सर्ने भइरहेको छ । अदालतले निरूपण नगरेका कारण पनि लिभिङ टुगेदर जटिल सम्बन्ध बन्न पुगेको छ ।
लिभिङ रिलेसनकै भनेर अदालत तथा प्रहरीमा परेका उजुरीका यकिन तथ्यांक त छैन । तर, पछिल्लो समय रिलेसनका उजुरीहरू बढ्न थालेको अधिवक्ता शोभा कार्की बताउँछिन् । लिभिङ रिलेसनमा मुद्दाहरू हेरिरहेकी उनी कानुन नहुँदा यस्तो सम्बन्ध नै अप्ठ्यारोमा रहेको बताउँछिन् । ‘लिभिङ रिलेसनका अधिकांश मुद्दा बलात्कार र नाता कायमका शीर्षकका हुन्छन्, मुद्दा अनुसन्धान गर्दा रिलेसनको हुन्छ,’ उनले भनिन्, ‘कानुन छैन, त्यसैले परिभाषित गर्न पनि कठिन छ ।’
लिभिङ रिलेसनबाट जन्मिएको बच्चाको हकमा बच्चा र आमालाई खर्च भर्ने गरी मिलापत्र गराउने गरेको उनी बताउँछिन् । ‘लिभिङ रिलेसनका उजुरी बढ्दै छन्, घटना पनि उत्तिकै छन्,’ उनले भनिन्, ‘यसबारे कानुनको टड्कारो आवश्यकता देखिएको छ ।’
स्पष्ट कानुनी व्याख्या नभए पनि अदालतमा लिभिङ टुगेदरका मुद्दा नै नपर्ने भन्ने छैन । त्यसरी परेका मुद्दालाई अन्नपूर्ण राणाको केसमा सर्वोच्चका न्यायाधीशद्वय अरविन्दनाथ आचार्य र राजेन्द्र नाख्वाले २०५५ साल जेठ २५ गते गरेको फैसलालाई लिभिङ रिलेसनको कानुनी व्याख्यामा प्रासंगिक कथनको रूपमा लिइने गरेको अधिवक्ता कार्की बताउँछिन् ।
काठमाडौं, ललितपुर, पोखरा, बुटवल, विराटनगरलगायत सहरी क्षेत्रमा लिभिङ टुगेदर नयाँ सामाजिक संस्कृतिका रूपमा बढ्दै गएको छ । सँगै, समस्याहरू पनि बढिरहेका छन् । ललितपुर महानगरपालिकामा लिभिङ रिलेसनको उजुरी दिनेहरूको संख्या दिन÷प्रतिदिन बढ्दो छ । कानुन अभावका कारण उजुरी नलिएको सूचना अधिकारी देव गुरागाईं बताउँछन् । ‘धेरैजना महानगरमा उजुरी दिन आउनुहुन्छ, प्रक्रिया सोध्नुहुन्छ,’ उनले भने, ‘कानुन छैन, त्यसैले अदालत र प्रहरीमा पठाउने गरेका छौं ।’ महानगरमा आउने उजुरी हेर्दा कानुनको खाँचो महसुस हुने गरेको गुरागाईं बताउँछन् ।
हाम्रो सामाजिक व्यवस्थाले विवाहपूर्वको महिला–पुरुष सहवासलाई अनुचित र अनैतिक मान्दै आएको छ । हाम्रो कानुनी व्यवस्थाले पनि विवाहपूर्व महिला–पुरुष सहवासको कल्पना गरेको देखिँदैन । ‘वर्तमान कानुनले सहवासलाई न त निषेध गरेको छ, न व्यवस्थित नै’ अधिवक्ता उपेन्द्रराज ज्ञवाली भन्छन्, हाम्रो सामाजिक प्रयोगशालाले विवाहपूर्वको सहवासलाई न त विवाहको मान्यता प्रदान गर्छ, न नाता नै कायम गरिदिन्छ । विवाहको वैधानिकताले अंश र वंशको हक कायम गर्दै सोको सुनिश्चितता प्रदान गर्छ भने सहवासले कुनै हक पनि कायम गर्दैन ।’
समाजका केही समूहले सहवास व्यवस्था मन पराएर अपनाउँदै जाने, तर राज्यका नीतिहरू यस व्यवस्थाप्रति उदासीन वा बेखबर कतिबेलासम्म हुने भन्ने अहं प्रश्न खडा हुन थालिसकेको उनी बताउँछन् । लिभिङ टुगेदर व्यवस्थालाई राज्यको कानुनले समेत केही अधिकार र दायित्व तोकिदिएर वैधानिकता प्रदान गर्न आवश्यक देखिएको ज्ञवालीको धारणा छ ।
मुलुकी देवानी संहिता २०७४को भाग ३ परिच्छेद १ दफा ७४ (१)मा ‘कुनै पुरुषसँगको शारीरिक सम्पर्कबाट महिलाले गर्भधारण गरी शिशु जन्मिएको प्रमाणित भएमा त्यस्तो पुरुष र महिलाबीच स्वतः विवाह भएको मानिनेछ’ भनी उल्लेख छ । यो कानुनी व्यवस्थाले विवाहपूर्व महिला–पुरुषको सहवास हुँदै जाँदा महिलाले गर्भधारण गरी शिशु जन्मिएमा विवाहको वैधानिकता प्राप्त गर्ने देखिन्छ । यसरी विवाहको मान्यता हुँदा पति–पत्नी र सन्तानबीच नाता कायम भई अंश र वंशको हकसमेत कायम हुँदै आपसी दायित्वसमेत सिर्जना हुन्छ । तर, सहवास मात्र लामो समय भइरहेका कारणले मात्रै उक्त सहवास विवाहमा परिणत भने नहुने अधिवक्ता ज्ञवाली बताउँछन् । ‘महिला–पुरुषबीचको सहवास र विवाह अत्यन्तै फरक व्यवस्था हो । सहवासको सम्बन्ध तत्काल विच्छेद हुन सक्छ, तर विवाहको सम्बन्ध कानुनबमोजिम मात्र अलग हुन सक्छ,’ उनी भन्छन्, ‘पति–पत्नीबीच सहवास नहुँदा पनि कानुनबमोजिम सम्बन्धविच्छेद नहुँदासम्म नाता कायम रहन्छ ।’
मेची क्याम्पस भद्रपुरकी उपप्राध्यापक एलिसा पौडेल अविवाहित युवायुवतीका लागि लिभिङ टुगेदरलाई सकारात्मक रूपमा लिनुपर्ने बताउँछिन् । ‘यो समयमा आफ्नो पार्टनर कस्तो हुन्छ ? कम्फर्ट हुन्छ कि हुँदैन भन्ने कुरा बुझ्न अविवाहितले लिभिङ रिलेसनमा बस्नु आफंैमा गलत होइन,’ समाजशास्त्री पौडेल भन्छिन्, ‘तर विवाहित महिला वा पुरुषका लागिचाहिँ यो ठिक सम्बन्ध होइन ।’ लिभिङ रिलेसनलाई अनुशासनमा राख्नको लागि कानुन अनिवार्य रहेको उनी बताउँछिन् ।