
प्युठान : रातको सन्नाटामा झाडी हल्लिएको आवाजले निम्त्याएको एक गलत अनुमानले एउटा परिवारको उज्यालो निभाइदिएको छ । जंगली जनावर ठानेर चलाइएको गोली लाग्दा १९ वर्षीय सुशील परियारको ज्यान गएको छ भने घटनामा संलग्न चार जना पक्राउ परेका छन् ।
घटना गौमुखी गाउँपालिका–४ सुँगुरखालस्थित जुपाल सामुदायिक वनमा चैत २९ गते राति करिब १०ः४५ बजे भएको हो । जिल्ला प्रहरी कार्यालयका अनुसार जंगलको झाडी हल्लिएको आवाज सुनेपछि त्यहाँ रहेका व्यक्तिहरूले बँदेल भएको अनुमान गर्दै गोली प्रहार गरेका थिए । तर त्यो गोली सुशिल परियारलाई लागेको थियो ।
गम्भीर घाइते भएका सुशीललाई उपचारका लागि लगिए पनि चैत ३० गते उनको मृत्यु भयो । सोही घटनामा उनीसँगै रहेकी १८ वर्षीया किशोरी पनि घाइते भएकी थिइन्, जसको अवस्था अहिले सामान्य रहेको प्रहरीले जनाएको छ । प्रारम्भिक अनुसन्धानअनुसार, सुशील आफ्नी साथीलाई भेट्न जंगल पुगेका थिए ।
घटनामा संलग्न मुख्य आरोपी २७ वर्षीय वीरेन्द्र केसीसहित उनका भाइ विश्वास केसी, १९ वर्षीय रवी केसी र एक १५ वर्षीय बालकलाई प्रहरीले पक्राउ गरेको छ । उनीहरूको साथबाट दुई थान भरुवा बन्दुक बरामद गरिएको छ । प्रहरीका अनुसार उनीहरूविरुद्ध अवैध हतियार, चोरी शिकारी तथा ज्यानसम्बन्धी मुद्दा चलाउने तयारी भइरहेको छ ।