
रुकुम पश्चिम : सानीभेरी गाउँपालिकाबाट अनुमति विना बर्दिया लैजान लागिएका १५ जना बालबालिकाको बिहीबार बिहान उद्धार गरिएको छ । ‘१० दिने नैतिक शिक्षा’ कार्यक्रमका नाममा लैजान खोजिएका ती बालबालिकालाई स्थानीय तह र प्रहरीको समन्वयमा उद्धार गरिएको हो ।
गाउँपालिकाका अनुसार वडा नम्बर ४ का बालबालिकालाई गाडीमार्फत बर्दिया लैजाँदै गरेको सूचना पाएपछि स्यालबासे क्षेत्रबाट बिहान करिब ७ बजे नियन्त्रणमा लिइएको थियो । उद्धारपछि सबै बालबालिकालाई अभिभावकको जिम्मा लगाइएको बाल कल्याण अधिकारी मानवीर ओलीले जानकारी दिए ।
प्रारम्भिक अनुसन्धानका क्रममा सम्बन्धित संस्थाले अभिभावकको लिखित सहमति नलिएको, वडा कार्यालय तथा गाउँपालिकालाई पूर्वजानकारी नदिएको पाइएको छ । स्थानीय सरकारको जानकारी बिना बालबालिकालाई अर्को जिल्लामा लैजानु गैरकानुनी हुने अधिकारीहरूको भनाइ छ ।
उद्धार गरिएका १५ बालबालिकामध्ये ९ जना बालक र ६ जना बालिका रहेका छन् । उनीहरूको उमेर १३ देखि १७ वर्षबीच रहेको जनाइएको छ ।
घटनामा संलग्न ‘राष्ट्रिय बहाइ समुदाय’ नामक संस्थाको वैधानिकता र गतिविधिबारे प्रहरीले अनुसन्धान अघि बढाएको छ । प्रहरीले यस घटनालाई शंकास्पद रूपमा लिँदै बालबालिकालाई किन र कसरी लैजान खोजिएको हो भन्ने विषयमा थप छानबिन गरिरहेको जनाएको छ ।
स्थानीय तहले बालबालिकासम्बन्धी कुनै पनि कार्यक्रम सञ्चालन गर्दा आवश्यक प्रक्रिया पूरा गर्न र सम्बन्धित निकायको अनुमति लिन आग्रह गरेको छ ।