२०८३ असोज २१ गते बुधवार / Oct 07 , 2026 , Wednesday
२०८३ असोज २१ गते बुधवार

रक्तदान : दिने भन्दा माग्ने धेरै

Nada
सपना बोहरा
२०८३ वैशाख ७ गते ०६:२०
Shares
रक्तदान : दिने भन्दा माग्ने धेरै

काठमाडौं : बझाङकी ५७ वर्षीया एक बिरामी वीर अस्पतालको अंकोलोजी वार्डमा उपचाररत छिन् । बोन म्यारोकी बिरामी उनलाई शरीरमा रगतको कमी भइरहने समस्या छ । उनको उपचारमा दैनिक दुईदेखि तीन पाउन्डसम्म रगत आवश्यक परिरहन्छ । उनका श्रीमान् रगतका लागि कहिले अस्पतालकै ब्लड बैंक त कहिले नेपाल रेडक्रस सोसाइटीमा भौंतारिइरहेका छन् । उनी भन्छन्, ‘शरीरले रगत कहाँ सोस्छ थाहा छैन, रगत खोज्दाखोज्दा हैरान भइयो ।’

ncell

आइतबार प्रदर्शनीमार्गस्थित रेडक्रस सोसइटीमा ब्लड लिन आउनेको भिड थियो । तिनैमध्ये अर्घाखाँचीका संयम पोखरेलले भने, ‘रगतको महत्व कति हुन्छ भन्ने कुरा आफैंलाई परेपछि मात्र थाहा हुन्छ ।’ श्रीमतीलाई अस्पताल भर्ना गरेर रगत खोज्दै उनी रेडक्रसमा आएका थिए । उनले अति आवश्यक परेको भनेर त्यहाँका कर्मचारीलाई विश्वस्त गराएपछि बल्ल रगत पाए ।

नेपाल रेडक्रस सोसाइटी केन्द्रीय रक्तसञ्चार सेवाका निर्देशक पवन गुप्ता भन्छन्, ‘पछिल्लो केही वर्षयता रगत दिने दाता नै भेटिन छाडे । रगत चाहियो भनेर दिनहुँ चार सयजति कल आउँछ । दाता खोज्नै हम्मेहम्मे पर्छ ।’

एक दशकपहिले विदेशी दातृसंस्थाहरूले ब्लड बैंकका लागि सचेतना कार्यक्रम गरेका थिए । जसले हजारौं दाताहरू समेत बनाएको थियो । ती सबै दाता अहिले रगत दिन सक्ने अवस्थामा छैनन् । नयाँपुस्ताले रक्तदानमा खासै चासो नराखेको गुप्ताको अनुभव छ । ‘पहिले विभिन्न अभियानको लहर थियो । अहिले त्यो लहर छैन,’ उनले भने, ‘रगत दिनेहरूमा पनि उत्साह छैन ।’

उनका अनुसार रेडक्रसले रगत संकलनका लागि विभिन्न चोक तथा पार्कहरूमा क्याम्प राख्ने गरेको छ । रक्तसंकलनका निम्ति रेडक्रसका विभिन्न टिम छन् । उनीहरूले पार्क र चोकहरूमा आउनेहरूलाई रक्तदानको महत्व बुझाएर रक्तसंकलन गर्ने गरेका छन् । 

सोसाइटीमा करिब तीन लाखको हाराहारीमा रक्तदाता छन् । जो पहिले रक्तदान गर्न सक्रिय थिए । बढ्दो उमेर र स्वास्थ्य समस्याका कारण रक्तदाताहरू घटेको उनी बताउँछन् । सबै भन्दा ए पोजेटिभ रगतको हुने गरेको उनले बताए । त्यसपछि ए बि पोजेटिभ, ए र बि पोजेटिभ रगतको माग हुने गरेको उनको भनाइ छ । ‘ब्लड बैंकमा रगतको अभाव छैन, त्यस्तो पर्याप्त पनि होईन,’ उनले भने, ‘एकजनाका लागि आवश्यक पर्ने रगत माग्न कम्तीमा पनि १५–२० जना सम्पर्क गर्नुपर्छ ।’

रक्तदान गरे जीवनमा कुनै दान गर्न नपर्ने बताउँछन्, सोसाइटीका इन्चार्ज वसन्त अर्याल । १८ वर्षदेखि ६५ वर्षसम्मका स्वस्थ पुरुष वा महिलाले रत्त दान गर्न सक्ने उनले बताए । त्यस्तै, रक्तदानका लागि ४५ केजीभन्दा माथि, १२ ग्राम हेमोग्लोबिन वा सोभन्दा माथि, १००/७०–१५०/९९ मि.मि मर्करी ब्लड प्रेसर हुनुपर्ने उनले बताए । 

त्यस्तै, रक्तदाताको मुटु, फोक्सो, कलेजो तथा शरीरका अन्य भित्री अंगको सामान्य परीक्षण गरिने उनले जानकारी दिए । पहिले वा हाल जन्डिस, मलेरिया, टाइफाइड वा एड्स लागेको भए र अन्य कुनै बिरामी भएर कुनै औषधि सेवन गरेकाले डाक्टरसँग परामर्श लिएर मात्रै रक्तदान गर्नुपर्ने उनी बताउँछन् । स्वस्थ महिला तथा पुरुषले हरेक तीन महिनाको अन्तरालमा रक्तदान गर्न सक्ने उनले बताए ।

सम्बन्धित खबर