
काठमाडौं : गैरीगाँउकी कौशिला नेपाली घरी–घरी आफ्नो टहरा सम्झिन्छिन् । दिनभर ज्यामी काम गरेर साँझमा थकान मेट्ने गरेको थातथलोको उनलाई झलझली याद आउँछ । याद नआओस् पनि कसरी ? जुन ठाउँमा उनले आधा जिन्दगी गुजारेकी छन् । चराले गुँड बनाउनका लागि सिन्का बटुलेजस्तै गरी उनले पनि पुराना÷नयाँ जस्तापाता, बाँसका खम्बा बटुलेर बनाएकी थिइन्, जुन टहरामा सरकारले शनिबार डोजर लगाइदियो । टहरासँगै उनको जीवनभरको मिहिनेत पनि भताभुंग भयो ।
‘दुःख–सुख गुजारेको घर हो, याद आउँछ नि ?’ सरकारले टहरा भत्काइदिएपछि होटलमा बस्दै आएकी उनी भन्छिन्, ‘जति मीठो खाना खुवाए पनि, जति आनन्दको विस्तारा दिए पनि त्यही टहराभित्रको निद र दालभातमा आनन्द थियो ।’
उनका श्रीमान् दाहिने आँखा राम्रोसँग देख्दैनन् । आँखा राम्ररी नदेखे पनि सिलाइकटाइको काम गरेर श्रीमती एक छोरी र दुई छोरासहित परिवारको गर्जो टारिरहेका थिए । जसोतसो जिन्दगी चलाइरहेको नेपाली परिवारमा शनिबार मनै कुँडिने खबर आयो– बस्ती छाड्नुपर्ने ।’ सरकारले जति सजिलोगरी बस्ती छाड्न उर्दी जारी गर्यो, नेपालीजस्तै त्यहाँ आश्रय लिएका परिवारका निम्ति सहज थिएन । जहाँ उनीहरूको भावना, दुःख–सुख जोडिएका थिए । कौशिला दशरथ रंगशालामा थन्क्याइएका आफ्ना बिस्तारा, भाँडाकुडा, ग्यास चुल्हो र लत्ता कपडा हेर्छिन्, टहरा सम्झिन्छिन् अनि आँखाबाट बरर आँसु झार्छिन् । रुँदा–रुँदा उनका आँखा राता भएका छन् । शरीर कमजोर हुँदै गएको छ ।
‘टहरा भत्काउनु थियो भने हामीलाई पहिल्यै व्यवस्था गरिदिनुपथ्र्यो, हामीलाई बेघर बनायो,’ उनी सरकारसँग भन्छिन्, ‘हामीलाई कुनै ठाउँमा घर बनाइदियोस्, दुःख–सुख गरी खान्छौं ।’ दशरथ रंगशालामा सरकारले लिएको लगत संकलनमा उनले आइतबार नै विवरण दिइसकेकी छिन् ।
काठमाडौंको नदी किनारामा बसोबास गर्दै आएका भूमिहीन सुकुम्वासीका लागि सरकारले होल्डिङ सेन्टर बनाइदिएको छ । त्यसैमध्ये कीर्तिपुरको सत्संगको ठुलो भवनमा बस्दै आएकी छिन्, शर्मिला तामाङ । उनले त जसोतसो मन बुझाएकी छिन् । तर, उनकी सात वर्षीया छोरी होल्डिङ सेन्टरमा बस्नै मान्दिनन् । अझ साँझ परेपछि रातभर रोएर बिताउने गरेकी छिन् । ‘छोरी घर (थापाथलीको सुकुम्वासी बस्ती)मा जाने भनेर जिद्दी गर्छे,’ उनी भन्छिन्, ‘रोएर सताउँछे, के गर्नु त्यहाँ सबै भत्काइएको छ ।’
छोरीलाई मात्रै होइन, तामाङलाई पनि टहराको याद आउँछ । आश्रय लिने ठाउँ कतै नपाएपछि उनीहरूले थापाथलीको वाग्मती किनारमा आएर दैनिकी गुजारा चलाएका थिए । ‘खाई–नखाई बगरलाई घर बनाएको थिएँ, आहिले बेघरजस्तै भयौं,’ उनले भनिन्, ‘त्यो टहरा, त्यो बस्ती त कहाँ बिर्सन सक्नु ? याद आउँछ नि ?’ सोमबार उनी दशरथ रंगशालामा आफ्नो नाममा कुनै पनि जग्गा नभएको विवरण दिन आएकी थिइन् । छोरीलाई भत्किएको टहरा भए पनि देखाएर आउने उनले बताइन् । ‘कीर्तिपुरको सत्संगमा छोरी बस्नै मान्दिनँ,’ उनले भनिन्, ‘सरकारलाई कति दिन लाग्ने हो, व्यवस्थापन गर्न ।’
तामाङ र नेपाली मात्र होइन, अधिकांश सुकुम्वासी सरकारले वैकल्पिक व्यवस्था नै नगरी बस्तीमा डोजर लगाएर उठीबास लगाएपछि टहरा सम्झिएर रोइरहेका थिए ।
संघीय सरकार र काठमाडौं महानगरपालिकाले सुकुम्वासी बस्तीमा धमाधम डोजर चलाएर बस्ती खाली गरेको छ । बस्ती खाली गरेपछि विस्थापित सुकुम्वासीलाई काठमाडौं उपत्यका विकास प्राधिकरणका अनुसार पाँच स्थानमा होल्डिङ सेन्टर बनाइएको छ । सहरी विकास मन्त्रालयकी उपसचिव कविता केसी भन्छिन्, ‘सुकुम्वासीको लगत संकलन जारी छ, जाने ठाउँ भएकाहरू अन्यत्रै बस्नुभएको छ, अन्यलाई होल्डिङ सेन्टरमा राखिएको छ ।’