२०८३ असोज ५ गते सोमवार / Sep 21 , 2026 , Monday
२०८३ असोज ५ गते सोमवार

नेपालमा झन्डै ६० लाख अनौपचारिक श्रमिक

Nada
जीवन शर्मा
२०८३ वैशाख १८ गते ०६:२५
Shares
नेपालमा झन्डै ६० लाख अनौपचारिक श्रमिक

काठमाडौं : आज १३७औं अन्तर्राष्ट्रिय श्रमिक दिवस । श्रमिक दिवसका दिन श्रमिकका समस्या र राज्यको दायित्वका विषयमा व्यापक बहस हुने गरेको छ । 

ncell

नेपालमा पछिल्लोपटक सन् २०१७/१८मा श्रम सर्भे भएको थियो । जसअनुसार १५ वर्षमाथिको जनसंख्या २ करोड ७ लाख ४४ हजार छन् । तीमध्ये ७० लाख ८६ हजार रोजगारमा छन् । रोजगारमा रहेकामध्ये पनि ८४.६ प्रतिशत (अर्थात् करिब ५९ लाख ९४ हजार) जनशक्ति अनौपचारिक क्षेत्रमा कार्यरत छन् । अनौपचारिक क्षेत्रका श्रमिकको समस्या अझै डरलाग्दो रहेको यस क्षेत्रमा क्रियाशील विभिन्न संघ संगठनहरूले बताएका छन् । 

अनौपचारिक श्रमिकको संख्या झन्डै ८५ प्रतिशतको रहेको र तिनका समस्या क्षेत्रगत रूपमा फरकफरक रहेको नेपाल ट्रेड युनियन कांग्रेसका महासचिव अजयकुमार राईले बताए । ‘नेपालमा कुल श्रमिक संख्यामध्ये १५ प्रतिशत मात्र व्यवस्थित र रोजगारको निश्चितता भएका मजदुर छन्,’ उनले भने, ‘बाँकी सबै (८५ प्रतिशत) अनिश्चित रोजगार र ज्याला मजदुरी गर्दै आएका छन् ।’ अनौपचारिक श्रमभित्र कृषि, वन, निर्माण, यातायात, पर्यटन, गार्मेन्ट, गलैंचा, नाई, ब्युटीपार्लरलगायत क्षेत्र पर्छन् । यसकारण अनौपचारिक श्रमिकको दायरा एकदमै फराकिलो रहेको उनले बताए । 

अनौपचारिक श्रमिकमध्ये सबैभन्दा बढी कृषि तथा वन क्षेत्रसँग सम्बन्धित छन् । त्यसपछि निर्माण, यातायात र पर्यटन पनि सबैभन्दा बढी अनौपचारिक मजदुर रहने क्षेत्र हो । विभिन्न सरकारी तथा गैरसरकारी निकायको तथ्यांकअनुसार सबैभन्दा बढी कृषि क्षेत्रमा १४ लाख ३४ हजार श्रमिक छन् भने गैरकृषिमा २९ लाख ४ हजार र घरेलु श्रममा ७३ हजार कार्यरत छन् । नेपालमा हरेक पाँच जनामध्ये एकजना कृषि क्षेत्रमा रोजगारी गर्ने गरेको पाइएको सरकारी तथ्यांकले बताउँछ । त्यसपछि व्यापारमा १७. ५ प्रतिशत, निर्माण क्षेत्रमा १३.८ प्रतिशत, सेवा र विक्रेता पेसामा २३.८ प्रतिशत श्रमिक आबद्ध छन् । उनीहरू हप्तामा ४४ घण्टादेखि ५५ घण्टासम्म काम गरेर सरदर १७ हजार ८ सय ९ रुपैयाँ कमाइ गर्ने केन्द्रीय तथ्यांक विभागले जनाएको छ ।   

श्रमिक दिवसका दिन विभिन्न श्रमिक संगठनहरूले र्‍याली, भेलालगायत कार्यक्रम गरी सरकार र रोजगारदातालाई श्रमिक हितमा कार्य गर्न दबाब दिने गरेका छन् । यद्यपि रोजगारदाका कम्पनीले अनेकन बहानामा श्रमिकमाथि शोषण दमन र अपमान गर्ने कार्य नरोकिएको सरोकारवाला बताउँछन् । नेपालमा पहिलोपटक २००७ सालमा विराटनगरमा मजदुर आन्दोलनसँगै श्रमिक दिवस मनाउन थालिएको हो । २०४६ सालको राजनीतिक परिवर्तनपछि नेपालमा मे १का दिन सार्वजनिक बिदा दिने निर्णयसँगै हरेक वर्ष श्रमिक दिवस सरकारीस्तरमा र विभिन्न संघसंस्थाको सहभागितामा मनाइँदै आएको छ ।

ट्रेड युुनियन कांग्रेसका महासचिव राईका अनुसार श्रमिकहरूको अधिकार, पेसागत सम्मान र मर्यादाको सुनिश्चितता गराउने उद्देश्यसहित विश्वका मजदुरहरूलाई एकजुट बनाउँदै आए पनि सम्मानपूर्वक रोजगारीको विषयमा जिम्मेवार निकाय सचेत देखिएका छन् । ‘आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन र आठ घण्टा आराम’ श्रमिकको मूल नारा हो । तर, अनौपचारिक क्षेत्रका श्रमिकले १२ घण्टासम्म काम गर्नुपर्ने बाध्यता छ ।   

देशमा चरम भ्रष्टाचारसँगै गरिबीले गाँजेको छ । वर्षौंदेखि राजकाज चलाउनेहरूमाथि नागरिकको भरोसा बिस्तारै टुट्दै जाँदा पछिल्लोपटक देशमा जेनजी विद्रोह भयो । गत भदौ २३ र २४मा भएको जेनजी विद्रोहको प्रमुख कारणमध्ये बेरोजगारीसँग जोडिएको विषय पनि एक हो । नागरिकको अवस्था र आवश्यकताभन्दा पनि आफ्नो स्वार्थको रोटी सेक्न सत्ता र शक्तिको खेलमा लागेका पुराना राजनीतिक नेतृत्वलाई विस्थापित गर्दै देशमा नयाँ शक्तिलाई नागरिकले रोजेका छन् । भ्रष्टाचार अन्त्य, सुशासन, स्वदेशमै रोजगारी सिर्जना र नागरिकको स्वतन्त्रताको अधिकारको सुनिश्चिततालगायत एजेन्डा बोकेर तीन वर्षअघि उदाएको रास्वपाले दुईतिहाइ जनमत पाएको छ । नयाँ दल र सरकारप्रति नागरिकले आशा गरे पनि त्यसअनुसारको उपलब्धि हासिल हुने कुरा चुनौतीपूर्ण रहेको विज्ञहरू बताउँछन् । नेपालको संविधानले नागरिकको रोजगारीको हक सुनिश्चित गरी प्रत्येक श्रमिकका लागि उचित पारिश्रमिक तथा योगदानमा आधारित सामाजिक सुरक्षाको हकलाई समेत प्रत्याभूत गरेको छ । तर यसको व्यावहारिक कार्यान्वयन भने भएको छैन ।  

विश्वमा औपचारिक÷अनौपचारिक क्षेत्रमा तीन अर्बभन्दा बढी श्रमिक रोजगार छन् । तीमध्ये दुई अर्बको हाराहारी (करिब ६७ प्रतिशत) अनौपचारिक मजदुर रहेको तथ्यांक छ । कम आय भएका मुलुकमा ९० प्रतिशत र मध्यम आय भएका मुलुकमा ६६ प्रतिशत अनौपचारिक मजदुर रहेका छन् । समग्रमा विश्वभर नै रोजगारमा अनौपचारिक क्षेत्रका मजदुरको संख्या अधिक रहेको पाइएको छ ।   

१५ वर्षमाथिका करिब १० लाख बेरोजगार

नेपालमा १५ वर्ष वा सोभन्दा बढी उमेर समूहको जनसंख्यामध्ये ९ लाख ८ हजार जनसंख्या बेरोजगार रहेको तथ्यांकले देखाउँछ । केन्द्रीय तथ्यांक विभागले गत शुक्रबार सार्वजनिक गरेको नेपाल श्रमशक्ति सर्वेक्षण २०७४ र ७५ अनुसार १५ वर्षभन्दा माथिको कुल जनसंख्याको ११ दशमलव ४ प्रतिशत बेरोजगार रहेको देखिएको हो । 

१५ वर्ष वा सोभन्दा बढी उमेर समूहको जनसंख्यामध्ये ९ लाख ८ हजार जनसंख्या बेरोजगार छ । जसमध्ये ५ लाख ११ हजार पुरुष छन् भने ३ लाख ९७ हजार महिला छन् । बेरोजगारमध्ये बसोवासका आधारमा ६ लाख ४० हजार सहरी क्षेत्रमा रहेका छन् भने २ लाख ६८ हजार ग्रामीण क्षेत्रमा छन् । 

यसरी हेर्दा नेपालको बेरोजगारी दर १२ दशमलव ४ प्रतिशत रहेको देखिन्छ । जसमा पुरुष र महिलाको बेरोजगारी दर क्रमशः १० दशमलव ३ प्रतिशत र १३ दशमलव १ प्रतिशत छ । नेपालमा १५ वर्ष वा सोभन्दा बढी उमेर समूहको जनसंख्या दुई करोड ७ लाख ४४ हजार छ । तीमध्ये ७० लाख ८६ हजार जनसंख्या रोजगारीको क्षेत्रमा रहेको देखिन्छ । जसमध्ये ४४ लाख ४६ हजार पुरुष छन् भने २० लाख ४० हजार महिला छन् । 

सम्बन्धित खबर