
उदयपुर : उदयपुरमा सवारी दुर्घटनामा परी एक जनाको मृत्यु हुनुका साथै एक जना गम्भीर घाइते भएका छन् ।
जिल्लाको त्रियुगा नगरपालिका वडा नं. १२ बुद्ध चोकस्थित भित्री सडकखण्डमा मंगलबार मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु हुनुका साथै एक जना गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
प्रहरीका अनुसार जनप्रेमी स्कुलबाट बुद्ध चोकतर्फ जाँदै गरेको स ९ प ८२५३ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भई स्थानीय बलदेव चौधरीको इट्टाको पर्खालमा ठक्कर खाँदा दुर्घटना भएको हो ।
दुर्घटनामा परि गम्भीर घाइते भएका त्रियुगा नगरपालिका १२ बस्ने २४ वर्षीय मोटरसाइकल चालक हेमन्त सदालाई उपचारका लागि तत्काल जिल्ला अस्पताल उदयपुर पठाइएकोमा उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
सोही मोटरसाइकलको पछाडि सवार त्रियुगा १२ सोनापुर बस्ने १८ वर्षीय राकेश सदाको शरीरका विभिन्न भागमा चोट लागेको र जिल्ला अस्पतालमा सामान्य उपचार पश्चात् हाल न्युरो अस्पताल विराटनगरमा उपचार भइरहको प्रहरीको भनाइ छ ।
त्यसैगरी उदयपुरको बर्खेडाँडामा घर र सोही घरमा सञ्चालनमा रहेको फर्निचर पसलमा आगलागी हुँदा करिब १२ लाख रुपैयाँ बरारको क्षति भएको छ । चौदण्डिगढी नगरपालिका ४ बर्खेडाँडास्थित बविना राईको दुई तल्ले घर तथा सो घरमा सञ्चालनमा रहेको फर्निचर पसलमा सोमबार आगलागी हुँदा १२ लाख रुपैयाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ। घटनामा मानवीय क्षति भने नभएको प्रहरीको भनाइ छ ।
इलाका प्रहरी कार्यालय बेल्टार र प्रहरी चौकी बसाहाबाट खटिएका प्रहरी टोली, स्थानीय बासिन्दा र चौदण्डिगढी नगरपालिकाको दमकलको संयुक्त प्रयासमा सोमबार आगो पूर्ण रूपमा नियन्त्रणमा आएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।