२०८३ असोज १५ गते बिहिवार / Oct 01 , 2026 , Thursday
२०८३ असोज १५ गते बिहिवार

हराएको चिया कूटनीति

Nada
२०८३ असार ७ गते ०६:१०
Shares
हराएको चिया कूटनीति

नेपालको चिया क्षेत्र गम्भीर संकटमा छ । भारतीय चिया बोर्डले १ मे २०२६ देखि लागू गरेको नयाँ ‘स्ट्यान्डर्ड अपरेटिङ प्रोसिजर’का कारण नेपाली चिया निर्यात ठप्पप्रायः छ । यससँगै नेपाली चिया गोदाममा थन्किएको छ । उद्योगहरूले किसानलाई हरियो पत्तीको भुक्तानी गर्न, मजदुरको पारिश्रमिक दिन र राज्यलाई कर तथा विद्युत् महसुल बुझाउनसमेत सकेका छैनन् । चिया उद्योगीहरू धमाधम उद्योग बन्दको घोषणा गर्दैछन् । यस समस्याबाट नेपालको राष्ट्रिय अर्थतन्त्र, किसान, श्रमिक र व्यवसायी सबै प्रभावित भएका छन् । चिया उत्पादनमा ६० हजारभन्दा बढीको प्रत्यक्ष रोजगारी छ  । यस क्षेत्रबाट सरकारले वार्षिक करिब एक अर्ब रुपैयाँ राजस्व उठाउँदै आएकोमा उक्त राजस्व समेत गुम्ने खतरा बढेको छ । 

ncell

विगतमा चिया निर्यातमा समस्या हुँदा तत्कालीन समयका सरकारले कूटनीतिक पहल गरेर समाधान गरेका थिए । यसपटक कूटनीतिक पहल भएको नतिजामा देखिन सकेको छैन । नेपालको चिया उद्योग भारतीय बजारमा निर्भर छन् । भारत नेपाली चियाको ठुलो बजार मात्र होइन, तेस्रो मुलुकमा पुग्ने एउटा मार्ग पनि हो । यसकारण भारतले नेपाली चिया निर्यातलाई अवरोध गर्दा नेपालको चिया नेपालमै मात्र रहने अवस्था बन्छ । यसकारण पनि नेपाल सरकार गम्भीर हुन आवश्यक छ । समस्या समाधान गर्दै गर्दा सरकारले विगतदेखिका व्यवहार हेरेर दीर्घकालीन समाधानमा ख्याल गर्नुपर्ने हुन्छ । किनभने, भारतले कहिले गुणस्तर, कहिले परीक्षण प्रक्रिया र कहिले प्रशासनिक मापदण्डका नाममा नेपाली चिया निर्यातमा अवरोध गर्ने गरेको छ । फेरि पनि तत्कालको समाधान निकालियो भने भविष्यमा संकट दोहोरिने निश्चित छ । तर विगतका सरकारले जस्तो उच्चस्तरीय संवाद, कूटनीतिक पहलसम्म पनि वर्तमान सरकारले गरेको देखिँदैन । मन्त्रालयबीचको समन्वयमार्फत समाधान खोज्ने प्रयास पनि भएको सुनिएको छैन । विगतमा समस्या पूर्ण रूपमा समाधान नभए पनि नेपालको चासो र दबाब भारतीय उच्च राजनीतिक पदाधिकारीसम्म पुग्थ्यो । यसपटक समस्या सिर्जना भएको महिनौं हुँदा समेत नेपाल सरकारले भारतीय पक्षसँग प्रभावकारी रूपमा संवाद गरेको पाइँदैन । यो विषयमा संघीय संसद्मा निरन्तर कुरा उठिरहेको छ, उद्योगीहरूले सरकारको ध्यानाकर्षण गराइरहेका छन्, तर नेपाल सरकारकै स्पष्ट रणनीति र बलियो कूटनीतिक हस्तक्षेप प्रकट हुन सकेको छैन । परिणाममा उद्योगीहरू धमाधम चिया उद्योग बन्दको घोषणा गर्दैछन् । 

सरकारको परीक्षा पनि खास–खास समयमा देखा परेका समस्या समाधानका क्रममा देखिने हो । यस अन्तर्गत कुनै पनि मुलुकका लागि आफ्नो देशको उत्पादन र व्यवसायको संरक्षण गर्नु प्रथम दायित्व हुन आउँछ । विश्वका सबैजसो देशले आफ्नो उत्पादनको अवरोधलाई आर्थिक विषयका रूपमा मात्रै हेर्दैनन् । किनभने यो राष्ट्रिय हित र आर्थिक सुरक्षाको विषय हो । नेपाली चिया निर्यातको अवरोधलाई यसभन्दा फरक कोणबाट हेर्न मिल्दैन । यसकारण समस्या समाधानमा सरकारले मौनता तोडोस् । तत्काल कूटनीतिक पहल गरोस् र नेपाली चिया निर्यातको अवरोध खुलाओस् ।

सम्बन्धित खबर