२०८३ असोज १५ गते बिहिवार / Oct 01 , 2026 , Thursday
२०८३ असोज १५ गते बिहिवार

स्थानीय सम्पदा पहिचानका लागि टोल–टोलमा फिल्म महोत्सव

Nada
सपना बोहरा
२०८३ असार १० गते ०६:२५
Shares
स्थानीय सम्पदा पहिचानका लागि टोल–टोलमा फिल्म महोत्सव

काठमाडौं : काठमाडौं सहर भौगोलिक रूपमा मात्रै होइन, यसको सांस्कृतिक पहिचान फराकिलो छ । यिनै पहिचानबारे विशेष जानकारी दिन काठमाडौं महानगरपालिकाले खुलामञ्चबाट ‘टोल–टोलमा फिल्म महोत्सव’ सुरु गरेको छ । महानगरका कार्यवाहक प्रमुख सुनिता डंगोलले ‘महोत्सव’ शुभारम्भ गरेकी हुन् ।

ncell

सहरभरि छरिएका मूर्त सांस्कृतिक र अमूर्त सम्पदालाई उजागर गर्ने उद्देश्यले महोत्सव सुरु गरिएको आयोजकले जनाएको छ । प्राकृतिक सम्पदा, सांस्कृतिक, ऐतिहासिक र पुरातात्विक वस्तु, चालचलन, जीवनशैली र परम्परालाई चलचित्र निर्माणसँग जोड्न फिल्म महोत्सव थालिएको हो । 

प्रत्येक शुक्रबार र शनिबार दुई दिन महोत्सव हुनेछ । त्यहाँ परम्परागत सामूहिक वाद्यबादन तथा नृत्य पनि प्रस्तुत गरिने छ । काठमाडौंका स्थानीय क्लबहरूले लघुचलचित्र, चलचित्र, कला तथा रचनात्मक उद्योगलगायत विषयमा संवाद, सांस्कृतिक तथा सिर्जनात्मक कार्यक्रम प्रस्तुत गर्नेछन् । 

त्यति मात्रै होइन, महोत्सवमा मौलिक खानाका परिकारका स्वादसमेत लिन सकिनेछ । महानगरपालिकाले नै तालिम दिएर वडा स्तरमा प्रवर्धन गरिरहेको ‘एक वडा, एक नमुना कार्यक्रम’बाट उत्पादन भएका वस्तु तथा सामग्रीको समेत प्रदर्शन हुनेछन् । 

चलचित्रलाई समुदायमा पुर्‍याउन तथा समुदायलाई चलचित्र भवनसम्म पुर्‍याउन तथा चलचित्रमार्फत रचनात्मक उद्योगको आयाम बढाउन महोत्सव सुरु गरेको महानगरले जनाएको छ । 

कार्यवाहक प्रमुख डंगोलले ‘सिनेमालाई घरको बन्द चार घेराभित्र मात्र सीमित नगर्न आग्रह गरेकी छिन् । भनिन्, ‘हामीले सिनेमा उद्योगको विकास र समुदायमा लुकेर रहेका रचनात्मक उद्योगको पहिचान तथा विकास दुवै पक्षलाई लाभ पुर्‍याउने लक्ष्य राखेका छौँ ।’ स्थानीय सम्पदा, सांस्कृतिक, जीवनशैलीलाई सिनेमामार्फत व्यापक बनाउन उनले सुझाव दिएकी छिन् । 

टोल–टोलमा महोत्सव सञ्चालन भएपछि नयाँ सिर्जनाका लागि प्रोत्साहन गरेको इलिफेन्ट इन द फगका निर्देशक अविनाशविक्रम शाहले बताए । महानगरपालिकाले आयोजना गरेको महोत्सवले चलचित्र क्षेत्रका पेसाकर्मीलाई प्रोत्साहन मात्रै होइन, अभिभावकत्व प्रदान गरेर सिर्जनशील हुन प्रेरित गरेको उनले बताए ।

महोत्सवका व्यवस्थापनमा स्थानीय क्लबहरूले सक्रियता जनाएका छन् । येँःका पुचले बालाजु बाइपास क्षेत्रमा, निर्णय नेपालले बागबजार सडक खण्डमा, नेपाल भाषा फाउन्डेसनले यट्खा बहाल भाष्करकीर्ति महाविहारमा, न्हुग पःला सांस्कृतिक मिसा पुचःले लगनटोल, मैतीदेवी युनाइटेड क्लबले मैतीदेवी मन्दिर खुला चौरमा र लुजः नेवाः सांस्कृतिक पुचःले सुन्धारामा कार्यक्रम व्यवस्थापन गरेका छन् । उनीहरूले सार्वजनिक स्थल, पार्क, डबली, चोकहरूमा फिल्म महोत्सवका कार्यक्रम आयोजना गर्ने योजनाअनुरूप यी स्थान छानेका छन् ।

ताजा खबर

सम्बन्धित खबर