
काठमाडौं : युवा, श्रम तथा रोजगार मन्त्रालयका सचिव डा. दीपक काफ्लेले सरकारले वैदेशिक रोजगारीमा गएका नेपाली कामदारको उचित र मर्यादित ज्यालालगायतको व्यवस्था गरी सम्मानपूर्वक बाँच्न पाउने वातावरण सुनिश्चित गरेको बताएका छन् ।
राष्ट्रिय मानव अधिकार आयोगले बुधबार आयोजना गरेको ‘व्यवसाय र मानव अधिकारसम्बन्धी राष्ट्रिय संवाद’मा सचिव काफ्लेले उक्त धारणा राखेका हुन् ।
सचिव डा. काफ्लेले वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिक जुनसुकै कारणले अप्ठ्यारोमा परेपनि बिना भेदभाव उद्धार गर्ने गरिएको बताए । उनले वैदेशिक रोजगार व्यवसायसहित आन्तरिक व्यवसायलाई कामदारको मानव अधिकारमैत्री बनाउन सुरक्षित कार्यस्थल, समान ज्याला, सम्मान र सामाजिक सुरक्षाजस्ता विषयलाई विशेष ध्यान दिनुपर्ने मान्यतालाई सरकारले आत्मसात गरेको पनि बताए ।
सचिव डा. काफ्लेले सरकारले छिट्टै राष्ट्रिय युवा ऐन ल्याउन लागेको र त्यसका लागि सरोकारवाला सबैसँग छलफल गरिरहेको पनि जानकारी दिए ।
राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरको अध्यक्षतामा भएको छलफलमा सर्वोच्च अदालतका न्यायाधीश हरि फुयाँलले विकासको मानवीय आयाम महत्वपूर्ण भएको भन्दै श्रमिक र उनीहरूका अधिकारसँग जोडिएका विषयलाई सबैले सम्मान गर्नुपर्ने धारणा राखे ।
आयोगका सचिव मुरारीप्रसाद खरेलले व्यवसाय र मानव अधिकारसम्बन्धी कार्ययोजनाका विषयमा विस्तृत अध्ययन भइरहेको जानकारी दिए ।