
काठमाडौं : सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को चितवनको भरतपुरमा जारी प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत केन्द्रीय समितिको निर्वाचनका लागि युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवसहित वैदेशिक रोजगार क्षेत्रबाट ४ जनाले केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका छन् । उम्मेदवारी दिनेमा तीन जना वैदेशिक रोजगार व्यवसायी छन् ।
केन्द्रीय सदस्यका लागि पार्टीको केन्द्रीय श्रम तथा उपभोक्त हित विभाग सदस्यको जिम्मेवारीमा लामो समयदेखि कार्यरत रहेका नुर मोहम्मद मियाँ, सोही विभाग सदस्य रहेका नेपाल वैदेशिक रोजगार विभागका पूर्वमहासचिव सुजितकुमार श्रेष्ठ र महाधिवेशन प्रतिनिधि अख्तर हुसेन उम्मेदवार छन् । केन्द्रीय सदस्यको प्रतिस्पर्धामा उत्रिएका मन्त्री तथा व्यवसायी कोही कसैका प्रतिस्पर्धी नभएर एकअर्काका सहयोगी देखिएका छन् ।
मियाँ विभागबाट महाधिवेशन प्रतिनिधि चुनिएका हुन्, श्रेष्ठ केन्द्रीय समितिबाट मनोनीत अन्तर्गत महाधिवेशन प्रतिनिधि हुन् । हुसेन पार्टीको केन्द्रीय अभियान तथा प्रचार प्रसार विभागबाट महाधिवेशन प्रतिनिधि चुनिएका हुन् ।
मियाँ र हुसेन मुस्लिम क्लस्टर तथा श्रेष्ठ आदिवासी जनजाति क्लस्टरबाट केन्द्रीय सदस्य पदका लागि उम्मेदवार बनेका हुन् । रास्वपामा मुस्लिम कोटाबाट दुई जना केन्द्रीय सदस्य रहने व्यवस्था छ । केन्द्रीय सदस्यका लागि ३८४ जनाले उम्मेदवारी दिएका छन् ।