२०८३ असोज १५ गते बिहिवार / Oct 01 , 2026 , Thursday
२०८३ असोज १५ गते बिहिवार

बर्ड फ्लुमा सावधानीको खाँचो

Nada
२०८३ असार १२ गते ०६:१०
Shares
बर्ड फ्लुमा सावधानीको खाँचो

काठमाडौं उपत्यका आठ वर्षपछि फेरि बर्ड फ्लु संक्रमणको केन्द्र बन्दै गएको छ । ललितपुर, भक्तपुर एवं काठमाडौंमा संक्रमण फैलिएको र अझै जोखिम उच्च रहेको सरकारी तथ्यांकले देखाएको छ । देशका विभिन्न जिल्लामा फैलिएको यो संक्रमणका कारण लाखौं कुखुरा, अण्डा र दाना नष्ट गरिएका छन् । यसले पोल्ट्री व्यवसायमा ठुलो क्षति पुर्‍याएको छ भने सर्वसाधारणमा पनि चिन्ता बढाएको छ । बर्ड फ्लु अर्थात् एभियन इन्फ्लुएन्जा मुख्य रूपमा पन्छीमा लाग्ने भाइरल रोग हो । यो विशेषगरी जंगली चराचुरुंगीबाट घरेलु कुखुरा र हाँसमा सर्ने गर्छ । संक्रमित पन्छीको दिसा, र्‍याल, प्वाँख वा शरीरबाट निस्किने तरल पदार्थमार्फत रोग फैलिन सक्छ । कुखुरा फार्ममा काम गर्ने, पन्छी काट्ने वा संक्रमित खोर सफा गर्ने व्यक्तिहरू यसबाट बढी जोखिममा पर्छन् । 

ncell

हालसम्म नेपालमा मानिसबाट मानिसमा बर्ड फ्लु सरेको पुष्टि भएको छैन । त्यसैले अफवाहका आधारमा डराउनुपर्ने अवस्था छैन । बरु वैज्ञानिक तथ्यलाई आधार बनाएर व्यवहार गर्नु आवश्यक छ । बर्ड फ्लु देखिएपछि धेरै मानिस कुखुराको मासु र अण्डा खान डराउँछन् । तर, स्वास्थ्य विज्ञहरूका अनुसार राम्ररी पकाइएको मासु र अण्डा खान सुरक्षित हुन्छ । यो भाइरस उच्च तापक्रममा नष्ट हुने भएकाले कम्तीमा ७० डिग्री सेल्सियसभन्दा माथि पकाएको मासु वा अण्डाबाट संक्रमण हुने जोखिम अत्यन्त न्यून हुन्छ । यद्यपि, सावधानी भने अपनाउनुपर्छ । मासु छोएपछि साबुनपानीले राम्रोसँग हात धुने, बिरामी वा मरेका पन्छीलाई नछुने, धेरै कुखुरा अचानक बिरामी परे वा मर्न थाले तत्काल सम्बन्धित निकायलाई खबर गर्ने बानी बसाल्नुपर्छ । कुखुरा फार्ममा जैविक सुरक्षा प्रणाली कडाइका साथ लागू गर्नुपर्छ । 

सरकारले संक्रमित क्षेत्रमा कुखुरा ओसारपसारमा रोक लगाएको छ भने यसबाट प्रभावित किसानलाई क्षतिपूर्ति दिने व्यवस्था पनि गरेको छ । तर, सरकारी प्रयासले मात्र संक्रमण नियन्त्रण सम्भव हुने देखिँदैन । बर्ड फ्लु फैलन र थप क्षति पुग्न नदिन किसान, व्यवसायी र सर्वसाधारण सबैले सावधानी अपनाउनैपर्छ । जनस्वास्थ्य र कृषिसँग जोडिएको यस्तो संवेदनशील विषयमा अफवाहभन्दा तथ्य सत्य सूचनामा विश्वास गर्नुपर्छ । बर्ड फ्लुबाट बच्ने सबैभन्दा प्रभावकारी उपाय सचेतना, सरसफाइ र सावधानी हो । समयमै सतर्क हुन सकियो भने संक्रमण नियन्त्रण गर्न सकिन्छ र जनस्वास्थ्य तथा कृषि क्षेत्रलाई ठुलो क्षतिबाट जोगाउन सकिन्छ ।

ताजा खबर

सम्बन्धित खबर