२०८३ असोज १५ गते बिहिवार / Oct 01 , 2026 , Thursday
२०८३ असोज १५ गते बिहिवार

फ्रि भिसामा ठग्नेहरूलाई प्रहरीको उन्मुक्ति

Nada
२०८३ असार १२ गते ०६:१५
Shares
फ्रि भिसामा ठग्नेहरूलाई प्रहरीको उन्मुक्ति

काठमाडौं : मलेसियामा शून्य लागत अर्थात् इम्प्लोई पे मोडलमा कामदार पठाउने म्यानपावर कम्पनीको प्रयासलाई ठगहरूको गिरोहले कसरी गिजोल्छ र उनीहरूलाई नियन्त्रणमा लिन प्रहरीको व्यवहार कति असहयोगी छ भन्ने उदाहरण बिहीबार नयाँ बानेश्वरमा देखिएको एक घटनाले खुलासा गरिदिएको छ ।

ncell

मलेसियाको प्रिमियम साउन्ड सोलुसन्स एसडिएन बिएचडीले फ्युजन इन्टरनेसनल प्रा.लि.मा १५ जना पुरुष कामदारको डिमान्ड दिई इम्प्लोई पे मोडलका आधारमा छनोट गरी पठाउन सम्झौता गरेको थियो । सोही डिमान्ड देखाएर ठगहरूको गिरोहले २ लाख ५० हजार रुपैयाँसम्म उठाउन खोजेपछि फ्युजन इन्टरनेसनल प्रा.लि.ले आफैं स्ट्रिङ अपरेसन चलाएर ठगहरूलाई प्रहरी नियन्त्रणमा पु¥याउन खोज्दा प्रहरीले वैदेशिक रोजगार विभागको कार्यक्षेत्र भन्दै पन्छिएपछि ‘चोरलाई चौतारो, साधुलाई सुली’ भन्ने पुरानो नेपाली उखान चरितार्थ भएको उक्त म्यानपावर कम्पनीका सञ्चालक कुमुद खनालले बताए ।

मलेसिया रोजगारीका जानकार खनाल नेपाल वैदेशिक रोजगार व्यवसायी संघका पूर्वप्रथम उपाध्यक्ष तथा संघ अध्यक्षका उम्मेदवार भइसकेका पुराना र अनुभवी व्यवसायी हुन् । प्रहरीले ठगीमा संलग्न भएको प्रमाण हुँदाहुँदै पनि ठग्ने व्यक्तिहरूलाई पक्राउ नगरेपछि आफू आश्चर्यचकित भएको खनालले मध्यान्हलाई बताए ।

मलेसियाको प्रिमियम साउन्ड सोलुसन्स एसडिएन बिएचडीले उक्त कम्पनीमा काम गरेका पूर्वकर्मचारीका लागि १५ जनाको डिमान्ड पठाएको जानकारी दिँदै उनले भने, ‘मलेसियामा शून्य लागतअन्तर्गत निःशुल्क भिसा, हवाई टिकट, स्वास्थ्य जाँच, राहदानी, काठमाडौं आउने यातायात, आवास र खानाको सुविधा समेत समावेश छ ।’ वैदेशिक रोजगार विभागबाट असार ४ गते पूर्वस्वीकृति लिएर म्यानपावर कार्यालयमा प्रि–अन्तर्वार्ता भई असार १२ गते अर्थात् शुक्रबार फाइनल अन्तर्वार्ता तोकिएको विज्ञापन प्रकाशित भएको थियो ।

उक्त विज्ञापन सार्वजनिक भएपछि सिरहाका सुजितकुमार यादव र सन्जीवकुमार मतराले उक्त डिमान्ड आफ्नो भएको र प्रति कामदार २ लाख ३० हजार रुपैयाँ लिएर पठाउने भन्दै ५ वटा पासपोर्ट र एड्भान्समा ५० हजारका दरले २ लाख ५० हजार रुपैयाँ उठाउने योजना बनाएको कर्मचारीमार्फत खुलासा भएपछि त्यसको पर्दाफास गर्न फ्युजनले संघका द्वितीय उपाध्यक्ष अनिल बोगटी, कार्यसमितिका पूर्वसदस्य देवीप्रसाद गिरी, स्थानीय प्रहरी र मध्यान्ह दैनिकका सञ्चारकर्मीसहितको टोली बनाएर यादव र मतरा बसेको ठाउँमा लगेको थियो ।

यादव र मतरा बसेको ठाउँमा सञ्चारकर्मीसहितको टोली पुग्दा पक्राउ पर्ने डरले उनीहरू एकले अर्कामाथि ठगीको दोषारोपण गरिरहेका थिए । उनीहरूले विभिन्न व्यक्तिलाई न्युजिल्यान्ड पठाउने भन्दै खाली चेक दिएर एक–एक लाख रुपैयाँ उठाएर अल्मलाइरहेको खुलासा भएको थियो ।

म्यानपावर सञ्चालक खनालले कम्पनीको ख्यातिमा आँच पु¥याउने गरी हुन लागेको ठगीमा संलग्नहरूलाई पक्राउ गर्न माग गर्दै नयाँ बानेश्वर प्रहरीमा उजुरी दिए । तर प्रहरीले वैदेशिक रोजगारको मामिला भन्दै पन्छिएपछि नियन्त्रणमा आइसकेका यादव र मतरा निर्धक्क भएर कोठामै बसे । सामान्यतः प्रहरीले शंकास्पद व्यक्तिलाई तत्काल पक्राउ गरेर विभागमा जिम्मा लगाउने परिपाटी रहेको छ । तर आफ्नो कम्पनीको हकमा ठुलो ठगी हुन लागेको, तर शंकास्पद व्यक्ति बहानाबाजी गरेर पक्राउ नपर्दा आफू खिन्न बनेको सञ्चालक खनालको भनाइ छ ।

नेपालमा इम्प्लोई पे मोडलमा कामदार पठाउने क्रम केही वर्षयता मात्रै संस्थागत हुन थालेको हो । तर चलखेल गरी कामदार पास गराइदिने भन्दै रकम उठाउने अदृश्य व्यक्ति, आवेदन दिएका सबै कामदार उत्तीर्ण हुनुपर्ने भन्ने वैदेशिक रोजगार विभागको चेतावनी र भर्ना प्रक्रिया पूर्णरूपले पारदर्शी तथा स्वच्छ मापदण्डअनुसार हुनुपर्ने भन्ने रोजगारदाताको दबाबले आफूहरू चेपुवामा परेको व्यवसायीहरूको भनाइ छ ।

सञ्चालक खनालले प्रिमियम साउन्ड सोलुसन्स एसडिएन बिएचडीले रोजगारीका लागि कुनै पनि किसिमको भर्ना शुल्क लागू नगरेको र आफ्नो कम्पनीले पनि कुनै एजेन्ट, सब–एजेन्ट, तेस्रो पक्ष तथा मध्यस्थताको प्रवेश निषेध गरेको अवस्थामा ठगहरू देखा परेको र उनीहरू पक्राउ नपरेको घटनाले अवस्था अत्यन्तै गम्भीर रहेको पुष्टि गरेको बताए ।

उनले थपे, ‘पूर्वकामदारले मात्र आवेदन दिन सक्ने र प्रि–अन्तर्वार्तामा समावेश भई सफल भएका आवेदक मात्र अन्तिम अन्तर्वार्ताका लागि योग्य हुने विज्ञापनमा उल्लेख भएको अवस्थामा समेत ठगहरू देखापर्ने र उनीहरूलाई पक्राउ गर्न प्रहरीले बहानाबाजी गरेको घटनाले शून्य लागत र नैतिक भर्नाको कानुनी सिद्धान्तअनुसार पारदर्शी तरिकाले कामदार पठाउने काम कठिन देखिएको छ ।’

उनले अगाडि भने, ‘प्रहरीको असहयोगले सोच्न बाध्य तुल्याएको छ । यस विषयमा शुक्रबार वैदेशिक रोजगार विभागकी महानिर्देशक मिरा आचार्यलाई भेटेर घटनाबारे जानकारी गराउने छु । ठगहरूले फ्युजन मात्रै नभई टाइटानिकलगायतका म्यानपावर कम्पनीलाई बदनाम गरेर पनि ठगी गरेको जानकारी आएको छ ।’

ताजा खबर

सम्बन्धित खबर