
काठमाडौं : युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवसहित वैदेशिक रोजगार व्यवसाय पृष्ठभूमिका उम्मेदवारहरू राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय सदस्यमा पराजित भएका छन् । उम्मेदवार बनेका मन्त्रिपरिषद्का अन्य आठ जना केन्द्रीय सदस्यमा विजयी हुँदा श्रममन्त्री यादव भने पराजित भए ।
चितवनको भरतपुरमा सम्पन्न रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत केन्द्रीय समितिको निर्वाचनका लागि मन्त्री यादवसहित वैदेशिक रोजगार क्षेत्रबाट ४ जनाको उम्मेदवारी परेको थियो । तर कसैले पनि जित निकाल्न सकेनन् ।
केन्द्रीय सदस्यका लागि पार्टीको केन्द्रीय श्रम तथा उपभोक्त हित विभाग सदस्यको जिम्मेवारीमा लामो समयदेखि कार्यरत रहेका नुर मोहम्मद मियाँ, सोही विभाग सदस्य रहेका नेपाल वैदेशिक रोजगार विभागका पूर्वमहासचिव सुजितकुमार श्रेष्ठ र अख्तर हुसेन उम्मेदवार बनेका थिए ।
मन्त्री यादवले प्रवासको ६ सहित ८ सय ७५ मत, हुसेनले प्रवासको ४ सहित ७ सय ६ मत, मियाँले प्रवासको १० सहित ६ सय ६४ र श्रेष्ठले प्रवासको ६ सहित ४३० मत पाए ।
मन्त्री यादव मधेशी, मियाँ र हुसेन मुस्लिम तथा श्रेष्ठ आदिवासी जनजाति क्लस्टरबाट केन्द्रीय सदस्य पदका लागि उम्मेदवार बनेका थिए । रास्वपामा केन्द्रीय समितिका लागि ३८४ जनाले उम्मेदवारी दिएका थिए ।