
काठमाडौं : गत साता बंगलादेशका प्रधानमन्त्री तारिक रहमानले मलेसियाली सरकारलाई सकेसम्म चाँडो श्रम बजार खोल्न र थप बंगलादेशी कामदार भर्ना गर्न आग्रह गरेको समाचार यतिखेर बंगलादेशमा ठुलो उपलब्धिका रूपमा चर्चा भइरहेको छ ।
गत जुन २१ र २२ मा भएको आफ्नो मलेसिया भ्रमणका क्रममा बंगलादेशका प्रधानमन्त्री रहमानले मलेसियाली प्रधानमन्त्री अनवर इब्राहिमसँग थप बंगलादेशी कामदार भर्ना गर्न र सकेसम्म चाँडो श्रम बजार खोल्ने विषयमा विचार गर्न अनुरोध गरेका थिए ।
बंगलादेशीहरू सन् १९८६ देखि नै मलेसियाली श्रमशक्तिको एक महत्वपूर्ण हिस्सा रहँदै आएका छन् । तर सन् २०२४ मा मलेसियाले जबरजस्ती श्रम, उच्च भर्ना शुल्क र बाचा गरिएको रोजगारी नपाउँदा कामदारहरू अलपत्र परेको गम्भीर आरोप लगाउँदै बंगलादेशबाट नयाँ कामदारको प्रवेश रोकेको थियो ।
यस पटक बंगलादेशका प्रधानमन्त्री रहमानको भ्रमणको मुख्य एजेन्डा बन्द रहेको मलेसियाको श्रम बजार सकेसम्म छिटो खोल्नु थियो । मलेसियाली प्रधानमन्त्री तथा मलेसियाका राजा सुल्तान इब्राहिमसँगको भेटघाटमा रहमानले श्रम बजार पुनः खोल्ने, कामदार भर्ना प्रक्रियाको लागत घटाउने, सिन्डिकेटको प्रभाव उन्मूलन गर्ने तथा कागजात नभएका वा कैदमा परेका बंगलादेशी कामदारलाई कानुनी ढाँचामा ल्याएर वैधानिकीकरण गर्न अनुरोध गरेका थिए ।
जवाफमा मलेसियाका प्रधानमन्त्री इब्राहिमले कामदारहरूको शोषण कुनै पनि परिस्थितिमा सहन नगरिने प्रतिबद्धता जनाउँदै नयाँ विदेशी कामदारको कोटा क्षेत्रअनुसार निर्धारण हुने र भर्ना प्रक्रिया पूर्ण रूपमा पारदर्शी तथा प्रतिस्पर्धी हुने बताएका थिए । छलफलपछि दुवै पक्ष श्रम सहयोगसम्बन्धी विद्यमान समझदारीपत्र (एमओयू) परिमार्जन गरी नयाँ एमओयूमा हस्ताक्षर गर्न संयुक्त कार्यदलको बैठक तत्काल बोलाउन सहमत भएका छन् ।
हाल मलेसियामा करिब ८ लाख बंगलादेशी कामदार कार्यरत छन् । मलेसियाका सेवा तथा म्यानुफ्याक्चरिङ क्षेत्रका बहुराष्ट्रिय कम्पनीहरूले नेपालबाट ठुलो संख्यामा ‘इम्प्लोई पे’ मोडल अर्थात् शून्य लागत नीतिअनुसार नेपाली कामदार लगिरहेका छन् । बंगलादेशका प्रधानमन्त्री रहमानले मलेसियाका प्रधानमन्त्री इब्राहिमसँग गरेको आग्रहपछि बंगलादेश मलेसियाको प्राथमिकतामा पर्न सक्ने नेपाली व्यवसायीहरूको आकलन छ ।
बंगलादेशले नेपालको एकाधिकारजस्तै रहेको सुरक्षागार्ड क्षेत्रमा पनि आफ्ना कामदार लैजान लबिङ गरिरहेको छ ।
खासगरी दुवै मुस्लिम मुलुक भएकाले र बंगलादेशमा आश्रय लिएका रोहिंग्या शरणार्थीप्रति मलेसियाको गहिरो चासो रहेकाले मलेसियाले बंगलादेशलाई सहयोगस्वरूप कामदारको कोटा बढाउन सक्ने आकलन बंगलादेशका स्थानीय सञ्चारमाध्यमहरूले गरेका छन् । बंगलादेशीहरू मलेसियामा मुख्य रूपमा निर्माण र प्लान्टेसन क्षेत्रमा कार्यरत छन् ।
जानकारहरू भन्छन्, ‘नेपालजस्तो मुलुकका लागि विदेशी मुद्रा आर्जनको प्रमुख स्रोतमध्ये विदेशमा काम गरेर नेपाली कामदारले पठाउने रेमिट्यान्स नै प्रमुख हो । विदेशबाट कसैले किस्तीमा कामदारको माग दिँदैनन् । नेपालका म्यानपावर व्यवसायीहरूले नै विदेशी बजारमा गएर नेपाली कामदारको माग ल्याउँछन् । अहिले तीनै व्यवसासीहरू छि: छि : दुरदुरमा परेका मात्र छैनन्, सरकारी नजरमा सबैभन्दा बढी ठग, लुटेरा र डाँकासरह परेका छन् । बंगलादेशका प्रधानमन्त्री विदेश गएर आफ्ना देशका कामदार लिइदिन बिन्तीभाउ गर्छन्, तर नेपालमा भने विदेशी रोजगारदातासँग लबिङ गरेर कामदारको माग ल्याउने व्यवसायी स्यावासीको बदला जीवनभरको इज्जतहरणको अवस्थामा छन् ।’