२०८३ असोज १५ गते बिहिवार / Oct 01 , 2026 , Thursday
२०८३ असोज १५ गते बिहिवार

सुधारका ठोस सुझाव दिन एसोसिएसनलाई कांग्रेसको आग्रह

Nada
२०८३ असार १६ गते ०६:१५
Shares
सुधारका ठोस सुझाव दिन एसोसिएसनलाई कांग्रेसको आग्रह

काठमाडौं : नेपाली कांग्रेसका सभापति तथा पदाधिकारीहरूले वैदेशिक रोजगार क्षेत्रमा गर्नुपर्ने सुधारका विषयमा ठोस सुझाव दिन नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनको नवनिर्वाचित नेतृत्वलाई आग्रह गरेका छन् ।

ncell

एसोसिएसनको हालै सम्पन्न निर्वाचनसहितको १३औं साधारणसभाबाट रामप्रसाद गैरेको नेतृत्वमा निर्वाचित कार्यसमितिले सोमबार पार्टीका सभापति गगनकुमार थापा, उपसभापति विश्वप्रकाश शर्मा र महामन्त्री प्रदीप पौडेललाई भेट गरेको थियो ।

भेटमा सभापति थापाले शुभेच्छुक संस्थाको हैसियतमा रहेको लोकतान्त्रिक एसोसिएसनले गर्ने निर्णयलाई पार्टीले आधिकारिक मान्ने प्रतिबद्धता जनाएका थिए । सो क्रममा संस्थाको आन्तरिक अनुशासनदेखि वैदेशिक रोजगार क्षेत्रमा रहेका जटिलताका विषयमा छलफल भएको अध्यक्ष रामप्रसाद गैरेले मध्यान्हलाई जानकारी दिए । गैरेका अनुसार सभापति थापाले एसोसिएसनका निवर्तमान अध्यक्ष दीपक थापाले तोकिएकै समयमा विधिवत निर्वाचन गराएर नेतृत्व हस्तान्तरण गरेको भन्दै प्रशंसा गरेका थिए ।

लोकतान्त्रिक एसोसिएसनमा केही वर्षयता नेपाल वैदेशिक रोजगार व्यवसायी संघको निर्वाचनमा उम्मेदवार बन्ने विषयमा फरक–फरक समूह बन्ने गरेका छन् । केही व्यवसायी संस्थाको अनुशासनबाहिर गएको र उनीहरूलाई कारबाही नभएका कारण आधिकारिक उम्मेदवार पराजित हुने गरेको संस्थापन पक्षको दाबी छ । फरक समूह बनाउने पक्षले भने संस्थापन पक्षले गुटबन्दी गरेर सधैं गुटमा काम गर्ने व्यवसायीलाई मात्र अवसर दिने गरेको र सबैलाई समेट्नुको सट्टा गुटबन्दीमै रमाउने गरेको भन्दै प्रतिवाद गर्दै आएको छ ।

एसोसिएसनको विवाद गत साधारणसभा उद्घाटन समारोहमा समेत देखिएको थियो । हाल सुनकोशी गाउँपालिकाका अध्यक्ष रहेका संघका पूर्वकार्यवाहक अध्यक्ष कमल तामाङले बागी उम्मेदवारलाई सघाउने व्यवसायीलाई एसोसिएसनबाट सधैंका लागि निष्कासन गर्नुपर्ने माग महामन्त्री प्रदीप पौडेलसमक्ष राखेका थिए । एसोसिएसनले विधानविपरीत काम गरेको भन्दै एशोसिएशनकै केहि पूर्व पदाधिकारीलाई निलम्बनमा राखेको छ ।

पार्टी सभापति तथा पदाधिकारीसँगको छलफलमा एसोसिएसनका नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरू सहभागी रहेको महासचिव सुमनराज पाण्डेले जानकारी दिए । छलफलमा साउदी अरेबिया जान कामदारको सीप परीक्षणका नाममा कामदारमाथि आर्थिक भार थोपरिएकोदेखि नयाँ सरकारले खुला बजार अर्थतन्त्रको मान्यताविपरीत व्यवसायीलाई हतोत्साहित गर्ने नियन्त्रणमुखी शैली अपनाएको विषयमा छलफल भएको बताइएको छ ।

एसोसिएसनको टोलीमा नवनिर्वाचित पदाधिकारी र सदस्यहरूका अलवा निवर्तमान अध्यक्ष दीपक थापा, पूर्वअध्यक्ष प्रज्ञान न्यौपाने, नेपाल वैदेशिक रोजगार व्यवसायी संघका तृतीय उपाध्यक्ष लक्ष्मण पौडेल, वैदेशिक रोजगार व्यवसायी महिला संघकी कार्यवाहक अध्यक्ष तारा रेग्मी, संघकी निवर्तमान कार्यसमिति सदस्य विद्यालक्ष्मी बज्राचार्य, तीर्थबहादुर गुरुङ, राजकुमार कार्की, राजकाजी भोलानलगायत संघ कार्यसमितिमा एसोसिएसनबाट निर्वाचित सदस्यलगायतको सहभागिता रहेको थियो ।

ताजा खबर

सम्बन्धित खबर